कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो १५ वर्षे इतिहासमा पहिलो पटक एमबीबीएस अध्ययनरत पहिलो ब्याचका विद्यार्थीलाई इन्टर्नसिप (अनिवार्य चिकित्सकीय प्रशिक्षण) मा पठाएको छ। प्रतिष्ठानले यसलाई कर्णालीमै चिकित्सक उत्पादन गर्ने दीर्घकालीन सपनाको ऐतिहासिक उपलब्धिका रूपमा व्याख्या गरेको छ।
प्रतिष्ठानका उपकुलपति प्रा. डा. सुर्यमान मेन्याङ्बोले यो सफलता कुनै एक व्यक्ति वा नेतृत्वको नभई डेढ दशकदेखि निरन्तर खटिएका सम्पूर्ण प्रतिष्ठान परिवारको सामूहिक प्रयासको परिणाम भएको बताए।
‘आजको दिन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि मात्र होइन, समग्र कर्णालीका लागि पनि ऐतिहासिक दिन हो,’ उनले भने, “पहिलो एमबीबीएस ब्याच इन्टर्नसिपमा प्रवेश गर्नु भनेको कर्णालीमै दक्ष चिकित्सक उत्पादन गर्ने हाम्रो सपनाले मूर्त रूप लिनु हो।’
उनका अनुसार यो उपलब्धिको पछाडि प्रतिष्ठान स्थापना भएदेखि विभिन्न समयमा नेतृत्व सम्हाल्ने पदाधिकारी, चिकित्सक, प्राध्यापक, कर्मचारी र शैक्षिक टोलीको अथक परिश्रम रहेको छ।
उपकुलपति मेन्याङ्बोले प्रतिष्ठानको आधार निर्माण गर्ने संस्थापक उपकुलपति प्रा. डा. पारसकुमार आचार्य तथा उहाँको टोली, शैक्षिक संरचना मजबुत बनाउने दोस्रो उपकुलपति डा. राजेन्द्रराज वाग्ले, एमबीबीएस कार्यक्रम सञ्चालनका लागि महत्वपूर्ण भूमिका खेल्ने डा. मंगल रावल तथा उहाँको टोली, र पहिलो ब्याचलाई इन्टर्नसिपसम्म पुर्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने पूर्व उपकुलपति डा. पुजन रोकायाप्रति विशेष आभार व्यक्त गरे।
त्यसैगरी, रेक्टर डा. निरेश थापासहित प्रतिष्ठानका चिकित्सक, प्राध्यापक तथा आधारभूत विज्ञानका शिक्षकहरूको योगदान पनि यस उपलब्धिको महत्वपूर्ण आधार रहेको उनको भनाइ छ।
‘हामीले आज जुन सफलता हासिल गरेका छौँ, त्यो हजारौँ घण्टाको मेहनत, प्रतिबद्धता र सामूहिक समर्पणको परिणाम हो,’ उनले भने, ‘यस यात्रामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा योगदान गर्ने सबैप्रति म हार्दिक कृतज्ञता व्यक्त गर्दछु।’
उनले इन्टर्नसिपमा प्रवेश गरेका पहिलो ब्याचका विद्यार्थीलाई बधाई दिँदै उनीहरूलाई दक्ष, संवेदनशील, सहानुभूतिशील र सेवाभावले भरिपूर्ण चिकित्सक बन्न आग्रह गरे।
यस्तै, प्रतिष्ठानका निमित्त निर्देशक डा. बिनम्र बिष्टले पहिलो एमबीबीएस ब्याच इन्टर्नसिपमा प्रवेश गर्नु कर्णाली प्रदेशको स्वास्थ्य शिक्षा क्षेत्रका लागि कोसेढुङ्गा सावित भएको बताए।
‘वर्षौँअघि देखिएको कर्णालीमै चिकित्सक उत्पादन गर्ने सपना आज व्यवहारमा परिणत भएको छ,’ उनले भने, ‘अब यी विद्यार्थीहरूले अस्पतालमा प्रत्यक्ष सेवा दिँदै व्यावहारिक अनुभव हासिल गर्नेछन्। भविष्यमा उनीहरूले कर्णालीसहित देशभरका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरेका छौँ।’
उनले प्रतिष्ठानलाई यहाँसम्म पुर्याउन योगदान दिने पूर्व तथा वर्तमान पदाधिकारी, चिकित्सक, प्राध्यापक, कर्मचारी, विद्यार्थी र सम्पूर्ण सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्दै गुणस्तरीय चिकित्सा शिक्षा र विशिष्टीकृत स्वास्थ्य सेवा विस्तारलाई प्रतिष्ठानले आगामी दिनमा पनि प्राथमिकतामा राख्ने बताए।
विसं २०६८ मा स्थापना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले दुर्गम क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तारसँगै चिकित्सा शिक्षा उत्पादनको लक्ष्य लिएर यात्रा सुरु गरेको थियो। पहिलो एमबीबीएस ब्याच इन्टर्नसिपमा प्रवेश गरेसँगै प्रतिष्ठानले कर्णालीमै चिकित्सक उत्पादन गर्ने आफ्नो महत्त्वपूर्ण लक्ष्यको एउटा ऐतिहासिक खुड्किलो पार गरेको छ।
















