शनिबार, १ कार्तिक, २०८३

भोटेकोशी बाढी प्रभावित पातारासीका ४९ परिवारलाई

गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण बेपत्ता तथा मृत्यु प्रमाणित भएका जुम्लाको पातारासी गाउँपालिकाका ४९ घरपरिवारलाई आर्थिक राहत वितरण गरिएको छ।
​
रोजगारीको सिलसिलामा भोटेकोशी पुगेका बेला विपत्तिमा परेका नागरिकका परिवारलाई प्रतिपरिवार ३० हजार रुपैयाँका दरले कुल १४ लाख ७० हजार रुपैयाँ नगद सहयोग प्रदान गरिएको हो।

वर्ल्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोग तथा किर्डाक नेपालको साझेदारीमा सञ्चालित परियोजनाअन्तर्गत उक्त रकम उपलब्ध गराइएको वर्ल्ड भिजन इन्टरनेशनलका जुम्ला प्रतिनिधि भेश बहादुर रावलले जानकारी दिए।
​
उनका अनुसार विपत्तिबाट प्रभावित परिवारको गाँस, बास, कपास तथा तत्काल जीविकोपार्जनमा टेवा पुर्‍याउने उद्देश्यले असोज ३० गते पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोरामार्फत सम्बन्धित परिवारलाई रकम हस्तान्तरण गरिएको हो।
​
कठिन परिस्थितिमा पीडित परिवारलाई तत्काल मलम लगाउने गरी राहत उपलब्ध गराएकोमा गाउँपालिका अध्यक्ष बोहोराले सहयोगी संस्थाहरूलाई धन्यवाद व्यक्त गरे।

‘रोजगारीका सिलसिलामा भोटेकोशी पुगेका हाम्रा नागरिकले ज्यान गुमाउनु र बेपत्ता हुनु पालिकाकै लागि ठूलो क्षति हो। यसले परिवारको दैनिक जीविकोपार्जनमा गम्भीर असर पारेको छ,’ अध्यक्ष बोहोराले भने, ‘यो नगद सहयोगले परिवारलाई तत्कालको गुजारा चलाउन ठूलो राहत पुग्नेछ। पालिकाको तर्फबाट पनि पीडित परिवारको दीर्घकालीन पुनःस्थापनाका लागि आवश्यक पहल भइरहेको छ।’
​
किर्डाक नेपालका जिल्ला संयोजक शिवचन्द्र कार्कीका अनुसार परिवारका मुख्य सदस्य गुमाएका पीडितहरू अत्यन्तै पीडा र आर्थिक संकटमा रहेकाले आधारभूत आवश्यकता पूरा गर्न तत्काल यो सहायता प्रदान गरिएको हो।

‘बाढी प्रभावित परिवारको गाँस, बास र न्यूनतम जीविकोपार्जनलाई निरन्तरता दिन वर्ल्ड भिजन इन्टरनेसनल नेपालसँगको सहकार्यमा राहत रकम हस्तान्तरण गरिएको हो,’ कार्कीले भने, ‘आगामी दिनमा पनि प्रभावित परिवारको आवश्यकता पहिचान गरी पुनःस्थापनाका थप कार्यमा समन्वय जारी रहनेछ।’

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार