कर्णाली प्रदेशमा आयोजना हुन लागेको ‘दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३’ को मूल आयोजक समिति सदस्यमा विनिता कठायत मनोनीत भएकी छन्।
शिक्षा तथा खेलकुद मन्त्रीको मिति २०८३ असोज २१ गतेको आदेशअनुसार उनलाई मूल आयोजक समितिको सदस्य पदमा मनोनयन गरिएको हो। राष्ट्रिय खेलकुद परिषद्का अनुसार ‘राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका–२०८३’ को परिच्छेद–२ को दफा ४ को उपदफा (१) को देहाय (ण) मा रहेको व्यवस्थाबमोजिम उक्त मनोनयन गरिएको हो।
नेपाल सरकारको गत भदौ २२ गतेको निर्णयानुसार दशौं राष्ट्रिय खेलकुद आगामी २०८३ मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतलगायतका जिल्लाहरूमा सञ्चालन हुँदैछ। प्रतियोगिताको सफल आयोजना, आवश्यक समन्वय तथा निर्देशनका लागि विभिन्न समितिहरूलाई पूर्णता दिने काम भइरहेको छ।
मूल आयोजक समितिका सदस्य सचिव एवम् कार्यसम्पादन समितिका संयोजक राम चरित्र मेहताद्वारा हस्ताक्षरित पत्रमार्फत कठायतलाई समितिको सदस्यमा मनोनयन गरिएको आधिकारिक जानकारी दिइएको छ।
















