मंगलवार, २७ आश्विन, २०८३

तातोपानीमा बालबालिका लक्षित स्वास्थ्य शिविर : ५३ जनालाई थप उपचारका लागि सिफारिस


​
जुम्लाको तातोपानी गाउँपालिकामा सञ्चालन गरिएको बालबालिका लक्षित विशेष स्वास्थ्य शिविरबाट दुई सय सात जना लाभान्वित भएका छन्। गाउँपालिकाका वडा नं. १ देखि ८ सम्मका बालबालिकालाई लक्षित गरी चार स्थानमा शिविर सञ्चालन गरिएको हो।

​विशेषगरी अपाङ्गता भएका बालबालिकाको समयमै पहिचान गर्ने, स्वास्थ्य अवस्थाको मूल्याङ्कन गर्ने, आवश्यक सहायक उपकरण तथा उपचार सेवामा पहुँच पुर्‍याउने र विद्यालय शिक्षामा नियमित सहभागिता सुनिश्चित गराउने उद्देश्यले शिविर आयोजना गरिएको आयोजकले किर्डाक नेपाल र सेभ द चिल्ड्रेनले जनाएका छन्।

​शिविरमा नाक, कान तथा घाँटी, हातखुट्टा तथा हड्डी, छाला, आँखासहित मौसमी बिरामीहरूको परीक्षण तथा परामर्श सेवा दिइएको थियो। नाक, कान तथा घाँटीसम्बन्धी समस्या भएका ५२ जना, आँखासम्बन्धी समस्या भएका ४७ जना र हातखुट्टा, हड्डी तथा छालासम्बन्धी समस्या भएका ३६ जना बालबालिकाले सेवा लिएका सेभ द चिल्ड्रेनका प्रकाश शाहीले बताए।

​
उनका अनुसार रुघाखोकी, ज्वरो तथा पेट दुख्ने समस्या भएका १५ जना र सामान्य स्वास्थ्य परीक्षण गराउने ९ जना बालबालिका लाभान्वित भएका छन्। बालबालिकासँगै शिविरमा पुगेका ४८ जना अभिभावकको समेत स्वास्थ्य परीक्षण गरिएको थियो।

​परीक्षणका क्रममा जटिल प्रकृतिका तथा विशेषज्ञ सेवा आवश्यक देखिएका ५३ जना बालबालिकालाई थप उपचारका लागि सिफारिस गरिएको छ। त्यस्तै, ३ जना बालबालिकालाई अपाङ्गता परिचयपत्र प्राप्तिका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन पहिचान गरिएको छ।

​कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका डा. अनुप कोइराला, डा. ऋषभ सुवेदी तथा राजेश साफीसहितको स्वास्थ्यकर्मी टोलीले शिविरमा परीक्षण तथा परामर्श सेवा प्रदान गरेको थियो। सिफारिस गरिएका बालबालिकाको प्रतिष्ठानमा थप परीक्षण गरी आवश्यकताका आधारमा आर्थिक सहयोग तथा सहायक उपकरण उपलब्ध गराउने प्रक्रिया अघि बढाइने जनाइएको छ।

​स्थानीय तहमै विशेषज्ञ टोली पुगेर सेवा दिँदा बालबालिकाको उपचारमा सहजता पुगेको तातोपानी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गुरु प्रसाद चौलागाईंले बताए। “यस्ता स्वास्थ्य शिविरले अपाङ्गता भएका बालबालिकाको समयमै पहिचान गर्न, स्वास्थ्यसम्बन्धी आवश्यकताको मूल्याङ्कन गर्न तथा आवश्यक उपचार, पुनःस्थापना र सहायक सेवामा पहुँच विस्तार गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउँछन्,” उनले भने।

​स्थानीय सरकार, विकास साझेदार संस्था तथा स्वास्थ्य संस्थाबीचको समन्वय र सहकार्यमा सञ्चालित शिविरले अपाङ्गता भएका बालबालिकाको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न, शिक्षामा नियमित सहभागिता बढाउन तथा उनीहरूको अधिकार र समावेशी विकास प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार