आखिर छोरीको विवाह भनेको एउटा घरबाट अर्को घरमा जाने यात्रा मात्रै रहेनछ, यो त माइतीको आँगनमा हुर्किएको एउटा मुटुको टुक्रालाई नयाँ संसारको जिम्मा लगाउने क्षण रहेछ। बहिनी, तिमी जहाँ भए पनि हाम्रो माया र आशीर्वाद सधैँ तिमीसँगै रहनेछ।
जिन्दगीमा केही बिछोड यस्ता हुँदा रहेछन्, जसलाई सम्झिँदा आज पनि मन भारी हुन्छ, आँखा रसाउँछन् र मुटु भक्कानिन्छ। आफ्नै कोखबाट जन्मिएका नभए पनि एउटै आँगनमा हुर्किएका, एउटै दुःखसुख बाँडेका दाजुभाइ तथा दिदीबहिनीलाई छोडेर पराइको घरतर्फ बहिनीलाई बिदाइ गर्नु जति पीडादायी रहेछ, त्यो दिनले मलाई राम्ररी बुझायो।
जुम्लाबाट सुरु भएको हाम्रो यात्रा नेपालगन्ज हुँदै धनगढीतर्फ अघि बढिरहेको थियो। पाँच दिन नेपालगन्जस्थित घरमा बसेपछि २०८३ साल कात्तिक २९ गते साइला बाबा र साइली आमाले बहिनी धनलक्ष्मीको विवाहका लागि हामी दाजुभाइ तथा दिदीबहिनीलाई टीका लगाएर बिदाइ गर्नुभयो। त्यसपछि हामी धनगढीतर्फको यात्रा सुरु गर्दै राति करिब ११ बजे अत्तरिया पुग्यौँ।
यात्रा त धनगढीतर्फ अघि बढिरहेको थियो, तर मेरो मन भने बहिनीको बिदाइ सम्झेर बाटोमै रोइरहेको थियो। गाडीको झ्यालबाहिर हेर्दै आँखाबाट आँसु झरिरहेका थिए। मभन्दा साना भाइबहिनीहरू सँगै थिए। उनीहरूका अगाडि आँसु देखाउँदा सबैको मन दुख्छ, सबै भक्कानिन्छन् भन्ने डरले आँसु लुकाउने प्रयास गरिरहेकी थिएँ। आँखाबाट झरेका आँसु रुमालले पुछ्दै मनलाई सम्हाल्ने प्रयास गरिरहेँ। तर मनको पीडा कहाँ लुकाउन सकिँदो रहेछ र!
२०८३ साल मंसिर १ गते हल्दी तथा मेहन्दीको कार्यक्रम थियो। अर्काको ठाउँ, नयाँ परिवेश, साथमा साना भाइबहिनीहरू। कसरी गर्ने, के गर्ने भन्ने अनेकौँ प्रश्न मनमा खेलिरहेका थिए। तर पनि हिम्मत जुटाएर हामी आफ्नो जिम्मेवारी पूरा गर्न लाग्यौँ।
हल्दीको दिन बेहुलापक्षका घरपरिवारसहितको टोली हामी बसेको ठाउँमा आइपुग्नुभयो। मैले र मेरा भाइबहिनीहरूले टीका, खादा तथा दोहोरी गीतमार्फत उहाँहरूलाई स्वागत र सम्मान गर्यौँ। बाहिर खुसीको माहोल थियो। गीत गुञ्जिरहेका थिए, मेहन्दी र हल्दीका रङहरू छरिएका थिए। सबैजना रमाइरहेका थिए। तर मेरो मनभित्र भने छुट्टै पीडा चलिरहेको थियो।
त्यो बिरानो ठाउँमा जताततै हेर्दा मेरा आँखाले खुसीभन्दा बढी आफ्ना साना भाइबहिनीहरूको उदास अनुहार देखिरहेका थिए। उनीहरू पनि मन थाम्न नसकेर आँसु झारिरहेका थिए। टाउको निहुराएर चुपचाप रोइरहेका आफ्ना भाइबहिनीहरूलाई देख्दा मेरो मन झन् भक्कानिन्थ्यो। त्यो क्षणमा उनीहरूलाई सम्झाउने शब्द मसँग पनि थिएनन्।

मंसिर २ गते विवाहको दिन आयो। बिहानैदेखि बेहुलापक्षलाई स्वागत गर्ने, विभिन्न विधि पूरा गर्ने र माइतीपक्षबाट गर्नुपर्ने जिम्मेवारी निभाउने काममा हामी व्यस्त भयौँ। दिनभरि खुट्टा धुने, टीका लगाउनेलगायतका विवाहसम्बन्धी विधिहरू पूरा भए। त्यसपछि विवाहको विधिवत् कार्यक्रम सुरु भयो र राति करिब १० बजेतिर विवाह सम्पन्न भयो।
विवाहको माहोल रमाइलो थियो। सबैका अनुहारमा खुसी देखिन्थ्यो। तर मेरो मनमा भने एउटा प्रश्नले बारम्बार घोचिरहेको थियो, अब केही बेरमै मेरी प्यारी बहिनीलाई बिदाइ गर्नुपर्नेछ।
जति-जति बिदाइको समय नजिकिँदै थियो, त्यति नै मन भारी हुँदै गइरहेको थियो। आँखाबाट आँसु रोक्न सकिरहेकी थिइनँ। तर मनमा एउटै कुरा खेलिरहेको थियो, म रोएँ भने मेरी बेहुली बनेकी बहिनी झन् धेरै दुःखी हुन्छे। त्यसैले आफूलाई बलियो बनाउने प्रयास गरेँ।
बहिनीलाई पराइघर जान सजिलो होस्, उसले मलाई रोएको देखेर झन् मन नदुखाओस् भनेर म बेहुलीभन्दा केही अगाडि हिँड्दै गाडीसम्म पुगेँ। तर कहाँ सम्भव हुँदो रहेछ र मनको पीडा लुकाउन!
पछाडिबाट आएकी मेरी बहिनीले मलाई अँगालो हाल्दै डाँको छोडेर रुन थाली। त्यो अँगालोमा वर्षौँदेखिको माया थियो, बाल्यकालका सम्झनाहरू थिए, सँगै बिताएका खुसीका पलहरू थिए र छुट्टिनुपर्दाको असह्य पीडा थियो।
बहिनीको त्यो रुवाइ सुनेपछि मैले आफूलाई सम्हाल्नै सकिनँ। म पनि डाँको छोडेर रोएँ। मलाई रोएको देखेपछि मेरा साना भाइबहिनीहरू पनि सबैजना भक्कानिएर रुन थाले। त्यो क्षणमा कसैले कसैलाई सम्झाउन सकेनौँ। सबैका आँखामा आँसु थिए, मनमा पीडा थियो र ओठमा भन्न नसकिएका हजारौँ भावना थिए।
आखिर छोरीको विवाह भनेको एउटा घरबाट अर्को घरमा जाने यात्रा मात्रै रहेनछ, यो त माइतीको आँगनमा हुर्किएको एउटा मुटुको टुक्रालाई नयाँ संसारको जिम्मा लगाउने क्षण रहेछ।
बहिनी, तिमीलाई बिदाइ गर्दा मनले हजारौँ कुरा भन्न खोजेको थियो। तर आँसुका कारण शब्दहरू निस्कन सकेनन्। तिमीलाई माइतीबाट बिदाइ त गर्यौँ, तर हाम्रो माया, साथ, सम्झना र सम्बन्धबाट कहिल्यै टाढा बनाएका छैनौँ।
त्यो दिन मेरो जीवनको सबैभन्दा भावुक र कहिल्यै बिर्सन नसक्ने दिन बनेर रह्यो। विवाहको खुसीसँगै आएको त्यो बिदाइको पीडा जीवनभरि सम्झनामा रहनेछ।
त्यो कठिन समयमा मसँगै खम्बा बनेर उभिएका मेरा साना भाइबहिनीहरूप्रति विशेष माया र गर्व छ। उमेरले साना भए पनि जिम्मेवारी र कर्तव्य निभाउने कुरामा उनीहरूले परिपक्वताको उदाहरण प्रस्तुत गरे। हामी सबैले एकअर्काको आँसु पुछ्दै, मन सम्हाल्दै त्यो कठिन समय पार गर्यौँ।
हाम्रो यो कठिन यात्रामा साथ, सहयोग, माया र हौसला प्रदान गर्नुहुने सम्पूर्ण आफन्तजन, इष्टमित्र तथा सहयोगी मनहरूप्रति हृदयदेखि नै हार्दिक आभार व्यक्त गर्दछु।
अन्त्यमा, मेरी प्यारी बहिनी धनलक्ष्मी, तिम्रो नयाँ जीवन सधैँ सुख, शान्ति, माया र खुसीले भरियोस्। पराइघरमा पनि माइतीको माया कहिल्यै कमी नहोस्। तिम्रो अनुहारमा सधैँ मुस्कान रहोस्।
माइतीको ढोका तिम्रा लागि सधैँ खुला रहनेछ। तिमी जहाँ भए पनि हाम्रो माया र आशीर्वाद सधैँ तिमीसँगै रहनेछ।
बहिनी, तिमीलाई बिदाइ गरेको त्यो रात, तिमीले अँगालो हालेर रोएको त्यो क्षण र हामी सबैका आँखाबाट झरेका ती आँसुहरू जिन्दगीभरि बिर्सने छैनौँ।
माइतीको आँगन तिम्रो पर्खाइमा सधैँ रहनेछ, बहिनी!
एक दिदीको मनबाट

(लेखिका न्यौपाने रेडियो नारी आवाजकी स्टेशन म्यानेजर हुनुहुन्छ।)















