बुधबार, ९ मंसिर, २०८३

आठबीसमा प्रतिजैविक प्रतिरोधविरुद्ध सचेतना, औषधिको सही प्रयोगमा जोड

दैलेखको आठबीस नगरपालिकामा प्रतिजैविक औषधिको जथाभावी प्रयोग रोक्न तथा औषधि प्रतिरोधबारे समुदायस्तरमा सचेतना फैलाउन विद्यालय र विभिन्न समुदायमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।

विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (वर्ल्ड एएमआर अवेयरनेस विक) २०२६ को अवसरमा आठबीस नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा स्वास्थ्य, पशुपन्छी तथा कृषि शाखाको सहभागितामा कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रममा एन्टिबायोटिक औषधिको सही प्रयोग, चिकित्सकको सल्लाहबिना सेवन गर्दा हुने जोखिम, प्रतिजैविक प्रतिरोधको अवस्था तथा यसको रोकथाम र नियन्त्रणका उपायबारे जानकारी दिइएको थियो। औषधिको अपूर्ण मात्रा सेवन गर्ने, आवश्यकताभन्दा बढी प्रयोग गर्ने तथा पशुपन्छीमा जथाभावी एन्टिबायोटिक प्रयोग गर्ने प्रवृत्तिले मानव स्वास्थ्यमा समेत असर पार्न सक्ने विषयमा सहभागीलाई सचेत गराइएको थियो।

कार्यक्रममा स्वास्थ्य शाखाका प्रतिनिधि दिनेश खनाल र कुशुम विष्ट, पशुपन्छी शाखाका विवेक टिमिल्सेना तथा कृषि शाखाका चक्र खातीले आआफ्नो क्षेत्रसँग सम्बन्धित विषयमा धारणा राखेका थिए। उनीहरूले मानव स्वास्थ्य, पशु स्वास्थ्य र कृषि क्षेत्रलाई अलग-अलग रूपमा हेर्नुभन्दा एकीकृत रूपमा प्रतिजैविक प्रतिरोध नियन्त्रणका प्रयास गर्नुपर्नेमा जोड दिएका थिए।

मेडिकल व्यवसायी मोहन शाह र पौँजे शाहीले समुदायमा देखिने स्वास्थ्य समस्यालाई नजिकबाट बुझ्दै नागरिकलाई औषधिको सही प्रयोगबारे जानकारी गराउने प्रयास भइरहेको बताए। त्यस्तै, भरत साउथ सिर्जनले कुखुरालगायत पशुपन्छीमा देखिने स्वास्थ्य समस्या र त्यसको व्यवस्थापनबारे जानकारी गराएका थिए।

कार्यक्रमका क्रममा खिड्कीज्यूला बजार क्षेत्रमा रहेको बङ्गुर खोर, सरसफाइ तथा फोहोर व्यवस्थापनका विषयसमेत उठाइएको थियो। पशुपन्छी पालनमा सरसफाइको कमी र फोहोरको उचित व्यवस्थापन नहुँदा मानव स्वास्थ्य तथा वातावरणमा पर्न सक्ने असरबारे पनि छलफल गरिएको थियो।

कार्यक्रमबारे जानकारी दिँदै निरज कुमार माझीले जनहितकारी कार्यक्रम सञ्चालनमा विभिन्न चुनौती रहे पनि स्थानीय सरकारले यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने बताए। नागरिकका साना तर आधारभूत आवश्यकतालाई प्राथमिकतामा राख्दै सचेतनामूलक तथा जनमुखी कार्यक्रम टोलटोलसम्म विस्तार गर्नुपर्ने उनको भनाइ थियो।

प्रतिजैविक प्रतिरोध (एएमआर) विश्वव्यापी स्वास्थ्य चुनौतीका रूपमा देखिँदै गएको अवस्थामा मानव, पशुपन्छी र वातावरणबीचको अन्तरसम्बन्धलाई समेट्ने ‘एक स्वास्थ्य’ अवधारणाको महत्त्व कार्यक्रमले उजागर गरेको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार