चिकित्सा शिक्षा ऐनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना उद्देश्य कमजोर बनाएको संविधानसभा सदस्य तथा पूर्वमन्त्री नरेश भण्डारीको आरोप छ। उनका अनुसार ऐन कार्यान्वयनपछि कर्णालीका विद्यार्थीले पाउँदै आएको ४५ प्रतिशत विशेष आरक्षणको अवसर गुम्यो, जसले दुर्गममा स्वास्थ्य जनशक्ति उत्पादन प्रभावित बनायो।
कर्णालीमा स्वास्थ्य सेवा विस्तार गर्ने र त्यहीँका विद्यार्थीलाई स्वास्थ्य जनशक्तिका रूपमा तयार पार्ने उद्देश्यले स्थापना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अहिले एउटा नीतिगत प्रश्नको केन्द्रमा छ, केन्द्रदेखि दुर्गम क्षेत्रका विद्यार्थीलाई स्वास्थ्य शिक्षा पढ्ने अवसर दिने विशेष व्यवस्था राष्ट्रिय चिकित्सा शिक्षा प्रणालीसँगै कमजोर भएको हो?
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयक संसद्मा व्यक्तिगत रूपमा दर्ता गरी पारित गराउन भूमिका खेलेका संविधानसभा सदस्य तथा कर्णाली प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीको आरोप छ। उनका अनुसार चिकित्सा शिक्षा ऐनले प्रतिष्ठानको मूल उद्देश्य नै कमजोर बनाएको छ। उनका अनुसार प्रतिष्ठानको ऐनमा रहेको पिछडिएको क्षेत्रका विद्यार्थीका लागि ४५ प्रतिशत आरक्षणको व्यवस्था चिकित्सा शिक्षा ऐन आएपछि प्रभावहीन बनेको छ।
‘हामीले पिछडिएको क्षेत्रबाट स्वास्थ्य जनशक्ति उत्पादन गर्ने उद्देश्यबाट प्रेरित भएर यो संस्था स्थापना गरेको हो नि त,’ भण्डारी भन्छन्, ‘चिकित्सा शिक्षा ऐनले सबैलाई एउटै लेन्सले हेर्ने र त्यहीअनुसार व्यवहार गर्ने व्यवस्था गरेपछि कर्णालीका विद्यार्थीले पाउँदै आएको विशेष अवसर गुम्यो।’
उनको उनका अनुसार यो सिटको संख्या घटेको विषय होइन। कर्णालीजस्तो स्वास्थ्य जनशक्तिको अभाव रहेको क्षेत्रमा स्थानीय विद्यार्थीलाई स्वास्थ्य शिक्षा पढाएर आफ्नै ठाउँमा सेवा गर्ने वातावरण बनाउने नीतिगत आधार कमजोर भएको विषय हो।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०६८ ले प्रतिष्ठानको शैक्षिक भर्नामा पिछडिएको क्षेत्रका विद्यार्थीका लागि विशेष व्यवस्था गरेको थियो। ऐनको दफा ३२ अनुसार स्नातक तहसम्मका विभिन्न शैक्षिक कार्यक्रममा प्रत्येक भर्ना सत्रमा कम्तीमा ४५ प्रतिशत स्थान पिछडिएको क्षेत्रमा स्थायी बसोबास गर्ने र त्यही क्षेत्रको सामुदायिक विद्यालयबाट प्रवेशिका वा सोसरह परीक्षा उत्तीर्ण गरेका विद्यार्थीका लागि आरक्षित गर्ने व्यवस्था थियो।
आरक्षित स्थानमा महिला, दलित, आदिवासी जनजाति, मधेसी तथा पिछडिएको वर्गका विद्यार्थीलाई प्राथमिकता दिने प्रावधानसमेत राखिएको थियो। त्यस्तै, दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा सेवा गरेका व्यक्तिलाई भर्नामा प्राथमिकता र विपन्न विद्यार्थीलाई छात्रवृत्ति दिने व्यवस्था पनि ऐनमा समेटिएको थियो।
यो व्यवस्था सामान्य समावेशी आरक्षणभन्दा फरक उद्देश्यबाट आएको थियो। देशका अन्य भागमा स्वास्थ्य शिक्षाका लागि प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी र दुर्गम कर्णालीका विद्यार्थीको शैक्षिक अवसर, आर्थिक अवस्था र पहुँच समान थिएनन्। त्यसैले प्रतिष्ठानको स्थापना गर्दा कर्णालीका विद्यार्थीलाई प्राथमिकता दिने व्यवस्था गरिएको थियो।
भण्डारीका अनुसार यही नीतिका कारण कर्णालीका विद्यार्थीले स्टाफ नर्स र बीएनजस्ता स्वास्थ्य शिक्षाका कार्यक्रमहरूमा अवसर पाउन थालेका थिए। स्थानीय विद्यार्थीलाई स्वास्थ्य शिक्षा पढ्ने बाटो खुल्दा उनीहरूलाई आफ्नै क्षेत्रमा स्वास्थ्य सेवा दिन प्रेरित गर्ने आधार पनि तयार हुँदै गएको थियो।
‘पहिला ठूलो प्रगति भएको थियो नि त, स्टाफ नर्स पनि ४५ प्रतिशत पिछडिएको क्षेत्रले पाए, बीएन पाए,’ उनी भन्छन्।
उनका लागि प्रतिष्ठानको आरक्षण व्यवस्था कर्णालीमा स्वास्थ्य जनशक्ति उत्पादन गर्ने एउटा बढ्दो ग्राफ थियो। चिकित्सा शिक्षा ऐनपछि त्यो ग्राफ ओरालो लागेको उनको दाबी छ।
चिकित्सा शिक्षा ऐन, २०७५ ले देशभर चिकित्सा शिक्षाको नियमन, प्रवेश परीक्षा, भर्ना र छात्रवृत्तिलाई राष्ट्रिय प्रणालीभित्र ल्याउने उद्देश्य राख्यो। चिकित्सा शिक्षा आयोगमार्फत साझा प्रवेश परीक्षा र छात्रवृत्ति वितरणको व्यवस्था लागू भयो। राष्ट्रिय छात्रवृत्ति प्रणालीमा ४५ प्रतिशत स्थान आरक्षण समूहका लागि छुट्याइने व्यवस्था छ। तर त्यस आरक्षणभित्र पिछडिएको क्षेत्रका लागि छुट्याइएको हिस्सा सीमित छ।
यहीँबाट कर्णालीको प्रश्न उठ्छ। प्रतिष्ठानको आफ्नै ऐनले पिछडिएको क्षेत्रका विद्यार्थीका लागि कम्तीमा ४५ प्रतिशत भर्ना स्थान सुनिश्चित गरेको थियो। राष्ट्रिय प्रणालीमा भने आरक्षण विभिन्न सामाजिक समूहमा बाँडिन्छ र पिछडिएको क्षेत्रको हिस्सा त्यसको एउटा भागका रूपमा रहन्छ।
भण्डारीको तर्कमा राष्ट्रिय मापदण्ड लागू गर्दा क्षेत्रविशेषको असमानता सम्बोधन गर्ने व्यवस्था हट्नु हुँदैन। कर्णालीका विद्यार्थीलाई अन्य क्षेत्रका विद्यार्थीसरह प्रतिस्पर्धा गर्न लगाउनु मात्रै समानता होइन। उनीहरूलाई प्रतिस्पर्धामा सहभागी हुन सक्ने आधार तयार गर्नु पनि राज्यको दायित्व हो।
‘सबैलाई एउटै लेन्सले हेर्ने, त्यहीअनुसार ट्रिट गर्ने भइसकेपछि कर्णालीका विद्यार्थीले पहिला पाएको अवसर गुम्यो,’ उनी भन्छन्।
तर चिकित्सा शिक्षा ऐनले कर्णालीका विद्यार्थीका सबै छात्रवृत्ति वा आरक्षण पूर्ण रूपमा खारेज गरेको भन्ने निष्कर्ष निकाल्न कानुनी व्यवस्थाको विस्तृत तुलना आवश्यक छ। प्रतिष्ठानको ऐनमा रहेको ४५ प्रतिशत आरक्षण र राष्ट्रिय छात्रवृत्ति प्रणालीको ४५ प्रतिशत आरक्षणको आधार तथा लाभग्राही फरक छन्। त्यसैले भण्डारीले उठाएको प्रश्नलाई प्रतिष्ठानको विशेष आरक्षण राष्ट्रिय व्यवस्थासँग कसरी समायोजन भयो भन्ने विषयमा हेर्नुपर्ने हुन्छ।
कर्णालीमा स्वास्थ्य सेवा विस्तारको चुनौती अस्पताल र उपकरणको अभावमा सीमित छैन। दुर्गम क्षेत्रमा चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मी टिकाइराख्नु पनि उत्तिकै कठिन छ। स्थानीय विद्यार्थीलाई आफ्नै क्षेत्रमा स्वास्थ्य शिक्षा पढ्ने अवसर दिनु जनशक्ति अभाव समाधान गर्ने दीर्घकालीन उपायका रूपमा हेरिएको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना पनि यही सोचसँग जोडिएको थियो, शिक्षा, स्वास्थ्य सेवा र अनुसन्धानलाई एउटै संस्थामार्फत दुर्गम क्षेत्रमा विस्तार गर्ने। प्रतिष्ठानको ऐनले आरक्षणमा पढेका विद्यार्थीलाई तोकिएको अवधि दुर्गम क्षेत्रमा सेवा गर्नुपर्ने व्यवस्था पनि गरेको थियो। यसले शैक्षिक अवसरलाई स्थानीय स्वास्थ्य सेवासँग जोड्ने उद्देश्य राखेको देखिन्छ।
भण्डारीका अनुसार कर्णालीका विद्यार्थीलाई स्वास्थ्य शिक्षामा अवसर दिनु उनीहरूको व्यक्तिगत उन्नतिका लागि मात्र होइन, प्रदेशको स्वास्थ्य प्रणाली बलियो बनाउनका लागि पनि आवश्यक छ। स्थानीय परिवेश बुझेका विद्यार्थी स्वास्थ्यकर्मी बनेर आफ्नै क्षेत्रमा फर्कने सम्भावना बढी हुने उनको धारणा छ।
‘पिछडिएको क्षेत्रमा स्वास्थ्य जनशक्ति उत्पादन गर्ने जुन गति, जुन ग्राफ बढिरहेको थियो, त्यो पुरै डिक्लाइनमा गएको छ,’ उनी भन्छन्।
उनले चिकित्सा शिक्षा ऐनलाई कर्णालीको सन्दर्भमा पुनरावलोकन गर्न सरकारसँग आग्रह गरेका छन्। राष्ट्रिय चिकित्सा शिक्षा प्रणाली र प्रतिष्ठानको स्थापना उद्देश्यबीच समन्वय गरेर क्षेत्रीय आरक्षणको मर्म कायम राख्नुपर्ने उनको माग छ।
चिकित्सा शिक्षामा गुणस्तर, पारदर्शिता र योग्यतामा आधारित छनोट आवश्यक छन्। तर समान मापदण्ड लागू गर्दा भौगोलिक, आर्थिक र सामाजिक असमानता स्वतः हट्दैनन्। दुर्गम क्षेत्रका विद्यार्थीलाई अवसर दिन बनाइएको विशेष व्यवस्था कमजोर भए त्यसको असर स्वास्थ्य जनशक्ति उत्पादनमा मात्रै होइन, स्थानीय स्वास्थ्य सेवाको पहुँचमा पनि पर्न सक्छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४५ प्रतिशत आरक्षणको विषय त्यसैले एउटा संस्थाको भर्ना नीतिमा सीमित छैन। यो विकट क्षेत्रका नागरिकले राज्यबाट पाउने अवसर, क्षेत्रीय समानता र स्वास्थ्य सेवामा पहुँचसँग जोडिएको विषय हो।
भण्डारीले उठाएको प्रश्नको उत्तर राष्ट्रिय चिकित्सा शिक्षा ऐन र प्रतिष्ठानको मूल ऐनबीचको कानुनी सम्बन्ध, भर्ना तथ्यांक तथा आरक्षणबाट लाभान्वित विद्यार्थीको अवस्थाको अध्ययनबाट खोजिनुपर्छ। कुन व्यवस्था कसरी परिवर्तन भयो, कर्णालीका विद्यार्थीले कति अवसर गुमाए र त्यसले स्वास्थ्य जनशक्ति उत्पादनमा कस्तो असर पार्यो भन्ने तथ्य सार्वजनिक हुनु आवश्यक छ।
कर्णालीका लागि विशेष व्यवस्था माग्नु राष्ट्रिय चिकित्सा शिक्षा प्रणालीबाट अलग हुने आग्रह होइन। विकटको वास्तविक आवश्यकता राष्ट्रिय नीतिभित्र समेटिनुपर्छ भन्ने माग हो। प्रतिष्ठानको स्थापना उद्देश्य जोगाउने हो भने चिकित्सा शिक्षा ऐनको कार्यान्वयनमा कर्णालीको भौगोलिक र सामाजिक अवस्थालाई सम्बोधन गर्ने व्यवस्था पुनरावलोकन गर्नुपर्ने भण्डारीको निष्कर्ष छ।
भण्डारीका शब्दमा, कर्णालीका विद्यार्थीका लागि ४५ प्रतिशत आरक्षण केवल शैक्षिक सुविधा थिएन, त्यो दुर्गम क्षेत्रमा स्वास्थ्य जनशक्ति उत्पादन गर्ने आधार थियो। त्यस आधारलाई पुनःस्थापित गर्नु राज्यको जिम्मेवारी हो।















