दुर्गमका नागरिकलाई उपचारमा ५० प्रतिशतसम्म छुटको व्यवस्था
गिरिजाप्रसाद कोइराला फाउण्डेसन कर्णालीको संयोजकमा पूर्वरजिस्ट्रार विश्वराज काफ्ले नियुक्त भएका छन्। उनको नेतृत्वमा कर्णालीका १० जिल्लाका नागरिकलाई केएमसी र नोबेल अस्पतालमा ५० प्रतिशतसम्म उपचार छुट उपलब्ध गराउने पहल अघि बढेको छ।
गिरिजाप्रसाद कोइराला फाउण्डेसन फर डेमोक्रेसी पिस एण्ड डेभलपमेन्ट (जीपीके फाउण्डेसन) को कर्णाली प्रदेश संयोजकमा जुम्लाको कनकासुन्दरी गाउँपालिका–७ निवासी इन्जिनियर विश्वराज काफ्ले नियुक्त भएका छन्।
फाउण्डेसनका केन्द्रीय अध्यक्ष डा. सुनिलकुमार शर्माले २०८३ मंसिर ५ गतेदेखि लागू हुने गरी काफ्लेलाई प्रदेश संयोजकको जिम्मेवारी प्रदान गरेका हुन्। काफ्ले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वरजिस्ट्रारसमेत हुन्।
सुजाता कोइरालासमेतको संलग्नतामा मुनाफा वितरण नगर्ने संस्थाका रूपमा स्थापित फाउण्डेसनले शान्ति, प्रजातन्त्र, विकास र सामाजिक कल्याणका क्षेत्रमा काम गर्दै आएको छ।
काफ्लेको नियुक्तिसँगै दुर्गम कर्णालीका विपन्न तथा सर्वसाधारण नागरिकलाई काठमाडौँ र विराटनगरका सुविधासम्पन्न अस्पतालमा सहुलियतपूर्ण उपचार उपलब्ध गराउने पहल अघि बढेको छ।
फाउण्डेसनको सहकार्यमा काठमाडौँ मेडिकल कलेज (केएमसी) पब्लिक लिमिटेड र विराटनगरस्थित नोबेल मेडिकल कलेजसँग उपचारमा छुट उपलब्ध गराउने सम्झौताको खाका तयार गरिएको छ।
उक्त व्यवस्थाअनुसार नेपाल सरकारबाट प्राप्त हुने स्वास्थ्य बीमा, विपन्न नागरिक औषधि उपचार कोषलगायतका सुविधा उपयोग गरेपछि बाँकी उपचार खर्चमा बिरामीले छुट पाउनेछन्।
स्वास्थ्य बीमामा आबद्ध नभएका वा बीमा क्रियाशील नभएका नागरिकले पनि स्थानीय तहको सिफारिसका आधारमा सहुलियत लिन सक्ने व्यवस्था गरिएको छ।
सम्झौताअनुसार भक्तपुरको दुवाकोटस्थित केएमसी अस्पतालमा ओपीडी दर्ता, जनरल बेड, आईसीयू, एचडीयू, सीसीयू, शल्यक्रिया, प्रयोगशाला परीक्षण, एक्स–रे, युएसजी र ईसीजीलगायतका सेवामा ५० प्रतिशत छुट उपलब्ध हुनेछ।
काठमाडौँको सिनामंगलस्थित केएमसी अस्पतालमा ओपीडी दर्ता निःशुल्क हुनेछ भने अन्य उल्लिखित सेवामा २५ प्रतिशत छुट दिइनेछ।
त्यस्तै, विराटनगरस्थित नोबेल अस्पतालमा उल्लिखित सेवामा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ।
सीटी स्क्यान र एमआरआई सेवामा फिल्म शुल्कबाहेक दुवाकोट र सिनामंगलका केएमसी अस्पतालमा २५ प्रतिशत तथा नोबेल अस्पतालमा २० प्रतिशत छुट उपलब्ध हुनेछ।
नवनियुक्त प्रदेश संयोजक काफ्लेले आफ्नो नियुक्तिलाई कर्णालीको स्वास्थ्य, शिक्षा र सामाजिक रूपान्तरणसँग जोड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
“कर्णालीका दुर्गम बस्तीका नागरिक आर्थिक अभावकै कारण गुणस्तरीय स्वास्थ्य उपचारबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्न यो जिम्मेवारी मेरा लागि महत्त्वपूर्ण अवसर हो,” उनले भने।
काफ्लेले कर्णालीका १० वटै जिल्लाका नागरिकलाई केएमसी र नोबेल अस्पतालसँग जोडेर ५० प्रतिशतसम्म सहुलियतपूर्ण उपचार उपलब्ध गराउन तत्काल संयन्त्र निर्माण गर्ने बताए।
प्रतिष्ठानको रजिस्ट्रार रहँदा कर्णालीको स्वास्थ्य पूर्वाधार र जनशक्ति विकासमा योगदान पुर्याएका काफ्लेले स्वास्थ्यसँगै शिक्षा, कृषि, पर्यटन, वातावरण संरक्षण, विपद् व्यवस्थापन र सीमान्तकृत समुदायको सशक्तीकरणका कार्यक्रम गाउँ–गाउँसम्म पुर्याउने बताए।
फाउण्डेसनको संशोधित प्रबन्धपत्र, २०७६ ले प्रत्येक जिल्ला र स्थानीय तहसम्म संगठन विस्तार गरी स्रोत केन्द्र स्थापना गर्ने लक्ष्य राखेको छ।
त्यस्तै, सुविधासम्पन्न एम्बुलेन्स सेवा सञ्चालन, प्राविधिक शिक्षालय तथा अनुसन्धान केन्द्र स्थापना र गरिबीको रेखामुनि रहेका नागरिकलाई सीपमूलक तथा रोजगारमूलक तालिम प्रदान गर्ने योजना पनि प्रबन्धपत्रमा समेटिएको छ।
काफ्लेको नेतृत्वमा कर्णाली प्रदेश समिति पूर्ण भएपछि प्रदेशका सबै जिल्लामा सामाजिक सेवा तथा स्वास्थ्य सहुलियतका कार्यक्रम विस्तार हुने अपेक्षा गरिएको छ।















