विदेशमा १४ वर्ष बिताएका भरत स्वाँर चन्दननाथ नगरपालिकाको मेयर बन्ने आकाङ्क्षासहित स्वदेश फर्किएका छन्। फोहोर व्यवस्थापनदेखि गुणस्तरीय शिक्षा, रोजगारी, कृषि, सुशासन र युवाको भविष्यसम्मका एजेन्डा अघि सार्दै उनले आगामी स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्।
जापानमा १४ वर्ष बिताए। श्रम गरे, कमाए, परिवारका लागि आर्थिक आधार बनाए र विदेशबाट आफ्नो जन्मभूमिमा रेमिट्यान्स पठाए। तर, मनमा एउटा प्रश्न भने निरन्तर रहिरह्यो, आफ्नो ठाउँमा कहिले परिवर्तन आउला? आफ्नै परिवारसँग बसेर, आफ्नै माटोमा केही गर्ने अवसर कहिले मिल्ला?
जुम्लाको चन्दननाथ नगरपालिकाका भरत स्वाँर यही प्रश्नको उत्तर खोज्दै स्वदेश फर्किएका छन्। जापानको लामो बसाइपछि दुई महिनाअघि जुम्ला आइपुगेका उनी अब विदेशमा बसेर आफ्नो ठाउँको परिवर्तन पर्खिने होइन, आफै परिवर्तनको नेतृत्व गर्ने सोचमा छन्।
आगामी २०८४ सालको स्थानीय तह निर्वाचनमा चन्दननाथ नगरपालिकाको नगरप्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्दै स्वाँरले आफ्नो राजनीतिक यात्राको औपचारिक सुरुवात गरेका छन्।
२०८३ मङ्सिर ५ गते शनिबार आयोजित घोषणा कार्यक्रममा उनले नगरवासी, सञ्चारकर्मी र पत्रकारलाई सम्बोधन गर्दै आफ्नो उम्मेदवारी पद प्राप्तिका लागि मात्र नभई नगरको विकास, सुशासन र नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउने उद्देश्यले भएको बताए।
‘मलाई पदभन्दा जिम्मेवारी ठूलो लाग्छ, भाषणभन्दा परिणाम ठूलो लाग्छ र राजनीतिक स्वार्थभन्दा जनताको भविष्य ठूलो लाग्छ,’ उनले भने।
स्वाँरका लागि यो केवल चुनावी घोषणा होइन, १४ वर्षदेखि मनमा बोकेको प्रतीक्षाको एउटा मोड पनि हो।
विदेशको कमाइभन्दा आफ्नै माटोको भविष्य
जापानमा लामो समय बिताएका स्वाँरले आफ्नो उम्मेदवारी घोषणाका क्रममा विदेशमा बसेका नेपालीको मनोभावनालाई पनि व्यक्त गरे। विदेशमा कमाएर घरपरिवार चलाउने, रेमिट्यान्स पठाउने र आफ्नो गाउँमा विकासको आशा गर्ने क्रम लामो समयदेखि चलिरहेको उनको भनाइ छ।
‘जुम्लामा कोही राम्रो मान्छे आउला भनेर पर्खँदापर्खँदै मैले १४ वर्ष बिताएँ,’ उनले भने, ‘अब समाज नै रित्तिने अवस्था आइसकेको छ।’
उनका अनुसार संघीयता आएपछि स्थानीय तहमा विकास हुने, गाउँमै रोजगारी सिर्जना हुने र विदेशमा कमाएको पैसा आफ्नै ठाउँमा लगानी गरेर परिवारसँग बस्न सकिने आशा धेरैले गरेका थिए। तर, अपेक्षाअनुसार विकास र अवसर सिर्जना हुन नसक्दा युवाहरू विदेशिने क्रम रोकिएको छैन।
गाउँमा वृद्धवृद्धा मात्रै भेटिने, युवा जनशक्ति बाहिरिने र स्थानीय बजारमा व्यापार व्यवसायसमेत कमजोर हुँदै जाने अवस्थालाई उनले नगरको गम्भीर समस्याका रूपमा चित्रण गरे।
‘युवा छैनन् भने बजारमा किन्ने मान्छे पनि हुँदैनन्। रेस्टुरेन्टमा खाने, कपडा किन्ने र काम गर्ने मान्छे नै नहुँदा व्यापार कसरी चल्छ?’ उनले प्रश्न गरे।
स्वाँरको बुझाइमा युवाको पलायन केवल परिवार वा व्यक्तिगत समस्यामात्र होइन, यसले स्थानीय अर्थतन्त्र, सामाजिक संरचना र नगरको भविष्यलाई नै प्रभावित गरिरहेको छ।
‘नगरपालिकालाई क्यान्सर लागेको छ’
आफ्नो भाषणमा स्वाँरले चन्दननाथ नगरपालिकाको वर्तमान अवस्थालाई निकै कठोर शब्दमा चित्रण गरे। उनले नगरपालिकालाई “क्यान्सर लागिसकेको” संज्ञा दिँदै समयमै उपचार नगरे भविष्य गम्भीर संकटमा पर्ने चेतावनी दिए।
उनको यो अभिव्यक्ति नगरको वर्तमान अवस्था र नेतृत्वप्रति असन्तुष्टिको संकेत थियो। तर, त्यसको समाधानका रूपमा उनले व्यक्ति वा राजनीतिक दललाई दोष दिनेभन्दा सही नेतृत्व छनोट गर्नुपर्नेमा जोड दिए।
‘हामीले विगतमा जति गल्ती गर्यौँ, गर्यौँ। अब चाहिँ सोचेर, बुझेर र विचार गरेर नेतृत्व छान्नुपर्छ,’ उनले भने।
उनका अनुसार नगरप्रमुख भनेको एउटा व्यक्ति मात्र होइन, नगरका १० वटै वडाका करिब २१ देखि २२ हजार नागरिकको भविष्य निर्माण गर्ने जिम्मेवारी बोकेको पद हो। त्यसैले उम्मेदवारको राजनीतिक संगठन, लोकप्रियता वा चुनावी नाराभन्दा उसको नियत, पृष्ठभूमि, क्षमता र काम गर्ने दृष्टिकोणलाई प्राथमिकता दिनुपर्ने उनको तर्क छ।
‘सही मान्छे सही ठाउँमा पुग्नुपर्छ। संगठन जुनसुकै होस्, मान्छे सही हुनुपर्छ,’ उनले मतदातालाई आग्रह गरे।
फोहोरदेखि सुशासनसम्मका एजेन्डा
स्वाँरले नगरप्रमुखका रूपमा अघि बढ्न चाहेका प्राथमिकतामा फोहोर व्यवस्थापनलाई पहिलो स्थानमा राखेका छन्। नगरमा घरबाट निस्कने फोहोर कहाँ फाल्ने भन्ने समस्या अझै समाधान नभएको भन्दै उनले वैज्ञानिक र दीर्घकालीन फोहोर व्यवस्थापन प्रणाली आवश्यक रहेको बताए।
फोहोर संकलन, वर्गीकरण र विसर्जनका लागि उपयुक्त स्थान पहिचान गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने, विज्ञको परामर्शमा व्यवस्थित प्रणाली लागू गर्ने र स्वच्छ नगर निर्माण गर्ने उनको योजना छ।
स्वास्थ्य क्षेत्रमा नगरका स्वास्थ्य संस्थाको स्तरोन्नति, आवश्यक जनशक्ति र उपकरणको व्यवस्था तथा गरिब, विपन्न, ज्येष्ठ नागरिक, गर्भवती महिला र बालबालिकाका लागि सहज तथा गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता उनले जनाएका छन्।
शिक्षालाई उनले नगरको भविष्यसँग जोडिएको विषयका रूपमा प्रस्तुत गरे। सामुदायिक विद्यालयको गुणस्तर सुधार, प्राविधिक तथा सीपमूलक शिक्षा, कमजोर आर्थिक अवस्था भएका विद्यार्थीलाई छात्रवृत्ति र विद्यालयको पूर्वाधार विकास उनका प्राथमिकतामा छन्।
शिक्षकको गुणस्तर सुधारलाई विशेष महत्त्व दिँदै उनले सामुदायिक विद्यालयप्रति शिक्षक र अभिभावकको विश्वास बढाउनुपर्ने बताए। आफ्नै विद्यालयमा विश्वास नगर्ने र छोराछोरीलाई बाहिर पढाउनुपर्ने अवस्थाले शिक्षाको गुणस्तरप्रति प्रश्न उठाएको उनको भनाइ थियो।
युवालाई रोजगारी, किसानलाई बजार
रोजगारी र उद्यमशीलतालाई स्वाँरले नगरको सबैभन्दा महत्त्वपूर्ण चुनौतीमध्ये एक मानेका छन्। स्थानीय स्रोतसाधनमा आधारित उद्योग स्थापना, युवा उद्यमीलाई सहुलियत ऋण, तालिम र प्रोत्साहन तथा विदेश जानुपर्ने बाध्यता कम गर्ने दीर्घकालीन योजना बनाउने उनले बताएका छन्।
कृषिमा जुम्लाको स्याउ, ओखर, सिमी, आलु लगायतका उत्पादनलाई स्थानीय बजारमा सीमित नराखी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने उनको लक्ष्य छ।
‘हाम्रो उत्पादनलाई जुम्लामा मात्रै बेचेर हुँदैन। युरोप, अमेरिका, जापान र अन्य बजारसम्म पुर्याउने सोच राख्नुपर्छ,’ उनले भने।
उत्पादनको बजारीकरण, भण्डारण र प्रशोधन उद्योग स्थापना गर्न सके किसानले उचित मूल्य पाउने र स्थानीय अर्थतन्त्र बलियो हुने उनको विश्वास छ।
त्यस्तै, लागूऔषध दुर्व्यसनलाई नगरको गम्भीर सामाजिक समस्याका रूपमा उल्लेख गर्दै उनले विद्यालय र समुदायमा जनचेतनामूलक अभियान, उपचार, परामर्श तथा पुनःस्थापनाका कार्यक्रम सञ्चालन गर्ने योजना सुनाए।
‘रुख रोप्ने सही समय अहिले हो’
उम्मेदवारी घोषणा भाषणको अन्त्यमा स्वाँरले एउटा कथा सुनाए। मरुभूमिमा पुगेका सैनिकले रुख रोप्न लागेको बेला एक सैनिकले २० वर्षपछि मात्रै रुख हुर्किने भएकाले अहिले रोप्नुको अर्थ नभएको प्रश्न गर्छ। त्यसको जवाफमा कमान्डरले रुख रोप्ने सही समय २० वर्षअघि थियो, नभए अहिले नै हो भनेको कथालाई उनले नगरको भविष्यसँग जोडे।
‘हामीले १० वर्षअघि सोच्नुपर्ने थियो, पाँच वर्षअघि सोच्नुपर्ने थियो। तर अब सही समय भनेको अहिले नै हो,’ उनले भने।
उनको सन्देश स्पष्ट थियो, नगरको भविष्य बिग्रिए त्यसको असर प्रत्येक घरपरिवारसम्म पुग्छ, समाज बने त्यसको लाभ पनि सबैले पाउँछन्। त्यसैले नेतृत्व छान्ने बेला दल, संगठन वा व्यक्तिगत रिसभन्दा माथि उठेर उम्मेदवारको क्षमता र नियत हेर्नुपर्ने उनको आग्रह छ।
जापानमा १४ वर्ष बिताएर फर्किएका स्वाँरका लागि अबको यात्रा विदेशको कमाइबाट आफ्नै नगरको भविष्य निर्माणतर्फ मोडिएको छ। उनले अघि सारेका एजेन्डा कार्यान्वयन गर्न सक्ने क्षमता, स्रोतको व्यवस्थापन र नागरिकको विश्वास जुटाउने चुनौती भने उनका अगाडि छन्।
उनको उम्मेदवारीले चन्दननाथ नगरपालिकाको आगामी निर्वाचनमा विकास, रोजगारी र सुशासनको बहसलाई नयाँ ढंगले अघि बढाउने संकेत गरेको छ। स्वाँरले भनेझैँ, परिवर्तनको समय धेरै पहिले थियो होला; तर अब त्यसका लागि कदम चाल्ने समय अहिले नै हो।














