जुम्लामा सरकारी मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। कर्णाली राजमार्गअन्तर्गत जुम्ला यातायात व्यवस्था कार्यालय अगाडि मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा चन्दननाथ नगरपालिका–७ का ४२ वर्षीय एक जनाको मृत्यु भएको हो।
तिला गाउँपालिकाका प्राविधिक जितबहादुर सिंहका नाममा बुझिएको कर्णाली प्रदेश सरकारको क १ प २७३ नम्बरको मोटरसाइकलले मृतकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए।
दुर्घटनापछि मोटरसाइकल चालक फरार भएका छन्। उक्त मोटरसाइकल कसले चलाइरहेको थियो भन्नेबारे यकिन हुन नसकेको प्रहरीले जनाएको छ। घटनामा संलग्न चालकको खोजी तथा दुर्घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी दाहालले बताए।















