एम्बुलेन्स चालकमाथि हातपात गरेको आरोपमा प्रहरीले चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीलाई नियन्त्रणमा लिएको छ ।
तलबभत्ता माग्न बिहीबार दिउँसो गाउँपालिकाको कार्यालय पुगेका चालक चंखेली–४ का २९ वर्षीय पृथ्वीबहादुर सिंहमाथि अध्यक्ष शाहीले हातपात गरेको आरोप लागेको हो ।
चालक सिंहले लामो समयदेखिको पारिश्रमिक तथा भत्ता माग गर्ने क्रममा अध्यक्ष शाहीले आफूमाथि कुटपिट तथा दुर्व्यवहार गरेको आरोप लगाएका छन् ।
घटनापछि सोधपुछका लागि अध्यक्ष शाहीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर खड्काले जानकारी दिए । उनका अनुसार हालसम्म पीडित पक्षबाट औपचारिक उजुरी परेको छैन ।
‘सोधपुछका लागि नियन्त्रणमा लिएका हौं, जाहेरी परेपछि थप अनुसन्धान गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइनेछ,’ डीएसपी खड्काले भने ।
घाइते चालक सिंहलाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।















