आईतवार, ६ मंसिर, २०८३

अधुरो शान्ति, अधुरै न्याय र मेरो नयाँ सङ्कल्प!

विस्तृत शान्ति सम्झौताको बीस वर्ष पूरा भएको दिन विशेष

हामीलाई प्रतिशोध होइन, सत्य चाहिएको छ। द्वेष होइन, न्याय चाहिएको छ। कसैको राजनीतिक स्वार्थ होइन, पीडितलाई सम्मान चाहिएको छ। शान्ति सम्झौता कागजमा मात्र होइन, पीडितको जीवनमा अनुभूत हुने दिन नै वास्तविक शान्तिको दिन हुनेछ।

आज मङ्सिर ५ गते। विस्तृत शान्ति सम्झौता भएको दिन। नेपाली इतिहासको एउटा महत्त्वपूर्ण मोड, जसले दशक लामो सशस्त्र द्वन्द्व अन्त्य गर्दै शान्ति, लोकतन्त्र र नयाँ भविष्यको आशा जगाएको थियो।

तर आज दुई दशक बितिसक्दा पनि शान्ति प्रक्रिया पूर्ण भएको छैन। द्वन्द्वका घाउहरू अझै निको भएका छैनन्। बेपत्ता परिवारले आफ्ना प्रियजनको खबर पाएका छैनन्। हत्या, यातना, विस्थापन र अन्य पीडा भोगेका पीडितहरूले अझै न्याय र परिपूरण पाउन सकेका छैनन्। द्वन्द्वका दुवै पक्षबाट पीडित बनेका नागरिकका आँसु अझै सुक्न सकेका छैनन्। सत्यको खोजी, न्यायको सुनिश्चितता र पीडितको सम्मानबिना शान्ति सम्झौताको वास्तविक मर्म पूरा हुन सक्दैन।

माओवादी आन्दोलनको एउटा क्रान्तिकारी लेखक, पत्रकार र योद्धाको रूपमा मैले पनि आफ्नो जीवनको महत्त्वपूर्ण समय परिवर्तनको सपना बोकेर बिताएँ। त्यतिबेला मेरो कलम राजनीतिक आन्दोलनको एउटा हतियार थियो। मैले आफ्नो लेखनीमार्फत आफ्नो विचार, विद्रोह र परिवर्तनको पक्षमा आवाज उठाएँ। त्यो इतिहास मेरो जीवनको एउटा अध्याय हो, जसलाई म लुकाउन चाहन्नँ। बरु त्यो भूमिका र जिम्मेवारीप्रति गर्व पनि गर्दछु।

तर आज म स्पष्ट घोषणा गर्न चाहन्छु—अब म “क्रान्तिकारी आन्दोलनको मर्म परित्याग गरेको कुनै प्राविधिक राजनीतिक पार्टीको सदस्यता, त्यसका नेताको निर्देशन वा उनीहरूको स्वार्थमा आबद्ध भएर काम गर्ने छैन। अब मेरो प्राथमिकता कुनै एक मात्र दलको राजनीति होइन, द्वन्द्वबाट पीडित नागरिकको सत्य, न्याय, सम्मान र अधिकारका पक्षमा हुनेछ। पीडित चाहे तत्कालीन राज्य पक्षका हुन् वा विद्रोही पक्षका, उनीहरूको पीडा र न्यायको अधिकार समान महत्त्वका छन्।

अब मेरो कलम र मेरा सामाजिक राजनीतिक अभियान कुनै पार्टीको पक्ष वा विपक्षमा होइन, सबै खालका पीडितको पक्षमा चल्नेछन्। पछिल्ला नवयुवा आन्दोलनको समेत सत्यको पक्षमा म बोल्ने छु र खराबीविरुद्ध पनि बोल्नेछु। न्याय र मानवताको पक्षमा बोल्ने, लेख्ने र उभिने छु। आवश्यक परे, विगतमा राजनीतिक उद्देश्यका लागि कलममार्फत नेतृत्व गरेझैँ अब पीडितको न्याय र सम्मानको अभियानमा पनि आफ्नो कलम, विचार र क्षमतासहित नेतृत्वदायी भूमिका निर्वाह गर्न तयार छु। तर कसैलाई एक थान मन्त्री वा प्रधानमन्त्री बन्नका लागि वा आफैँ कुनै राजकीय नेतृत्वको स्वार्थपूर्ण स्थानमा पुग्नका लागि आफू परिचालित हुने छैन।

मेरो यो राजनीतिक यात्राबाट हराउने निर्णय होइन; यो मेरो सामाजिक जिम्मेवारीको फराकिलो नयाँ अध्याय हो। मेरो विगतप्रति गर्व गर्दै र इमानदार रहँदै, वर्तमानप्रति जिम्मेवार बन्दै र भविष्यप्रति आशावादी रहँदै म यो सङ्कल्प गर्दछु।

हामीलाई प्रतिशोध होइन, सत्य चाहिएको छ। द्वेष होइन, न्याय चाहिएको छ। कसैको राजनीतिक स्वार्थ होइन, पीडितलाई सम्मान चाहिएको छ।

शान्ति सम्झौता कागजमा मात्र होइन, पीडितको जीवनमा अनुभूत हुने दिन नै वास्तविक शान्तिको दिन हुनेछ।

अधुरो शान्ति प्रक्रियालाई पूर्णता दिन, पीडितलाई न्याय दिलाउन र मानवताको पक्षमा उभिन मेरो कलम र कर्म अब समर्पित रहनेछ।

५ मङ्सिर २०८३

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार