सुनचाँदीदेखि घरजग्गासम्म सर्वसाधारणको लगानी डुब्ने संकेत देखिएको छ। सरकारी, सार्वजनिक र गुठी जग्गा भूमाफिया, कर्मचारी तथा राजनीतिक दलको मिलेमतोमा व्यक्तिका नाममा गएको छ।
वि.सं. २०२२ सालमा सुन प्रतितोला ८० रुपैयाँ रहेको भन्नेहरू अझै पनि छन्। उनीहरूका अनुसार त्यतिबेला चाँदी त सित्तैमा लैजा भन्दासमेत लिने कोही थिएनन्। ०८२ माघमा त्यही सुन बढेर तोलाकै तीन लाख ३९ हजार तीन सय रुपैयाँ पुग्यो। ज्यालासहित सुन किन्दा चार लाख रुपैयाँ पुग्थ्यो। त्यस्तै, चाँदी प्रतितोला आठ हजार ६७० र ज्यालासहित दस हजार रुपैयाँ पुगेको थियो।
हिजो मंसिर ३ गते सुनको तोला घटेर दुई लाख ५७ हजार ६ सय रुपैयाँ पुग्यो। चाँदी पनि तीन हजार ३३५ रुपैयाँमा झर्यो। नौ महिनामै सुनचाँदीको मूल्यमा यत्रो गिरावट आएको छ। माघमा चार लाख हालेर सुन किनेकाहरूले डेढ लाख रुपैयाँ गुमाइसकेका छन्। चाँदीमा पनि हजारौँ रकम डुबिसक्यो। सुनचाँदीको मूल्य अझै घट्ने बताइन्छ। केही दशकअघिकै मूल्यमा सुनचाँदी झर्ने चर्चासमेत बजारमा छ।
अनि चार लाखमा किनेको सुन तीन हजारमा झरेमा के होला ? सुनचाँदीमा करोडौँ सर्वसाधारणले लगानी गरेका छन्। आफ्नो जीवनभरको पुँजीसमेत यसैमा लगानी गर्नेहरू समेत छन्। तर, लाभ हुने आश्वासनमा गरिएको लगानी डुब्ने संकेत देखिएपछि अहिले उनीहरू निकै तनावमा छन्। सुन बेच्न खोज्दासमेत बिक्री नभइरहेको अवस्था छ। किनकि व्यापारीहरूलाई त सुनचाँदीको मूल्य अझै घट्छ भनेर स्पष्ट थाहा छ।
सात दशकअघिको होस् या अहिलेको सुनचाँदी उही हो। गुणस्तर त्यही हो। तर, सात दशकअघि तोलाको ८० रुपैयाँमा समेत नबिक्ने सुनको मूल्य एकाएक कसरी बढ्यो त ? चाँदीमा लगानी पनि कसरी बढ्यो ? यसका पछाडि हुन्–दलालीहरू। सुन व्यापारी अनि दलालीहरूले मिलेर सर्वसाधारण जनता र राज्यलाई नै झुक्याए र लुटे। सुनचाँदीमा लगानी गरे एकदमै लाभ हुन्छ, यसमा गरिएको लगानी सुरक्षित हुन्छ भन्दै भ्रम फैलाए।
बढ्दो मूल्य र दलालीहरूको लहैलहैमा लागेर सर्वसाधारण जनताले केही पनि अध्ययन नै नगरी हचुवाको भरमा आफ्नो सम्पूर्ण पुँजी सुनचाँदीमा खन्याए। त्यसको परिणाम उनीहरूले भोग्न थालेका छन्। सुनचाँदीजसरी घरजग्गा, गाडी र सेयरमा लगानी गर्दा पनि करोडौँ मानिस डुब्न पुगेका छन्। बैंक, वित्तीय संस्था, इन्स्योरेन्स, जलविद्युत् कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँमा निष्कासन गरेको सेयर दलालीहरूले ०७८ भदौ ३ गते कित्ताकै ३२ सय ८७ रुपैयाँमा बेचे।
०८३ भदौ १३ गते यही सेयर घटेर २५ सय १३ मा झर्यो। त्यसअघि सेयर कित्ताको १६ सयमा समेत झरेको थियो। केही समयपछि सेयर कित्ताको एक सय रुपैयाँमा समेत नबिक्ने बताइन्छ। किनकि जलविद्युत् कम्पनीहरूलाई बाढीले बगाइसक्यो, इन्स्योरेन्स र बैंकहरू पनि संकटमा छन्। सरकारले २०२१ सालमा भूमि ऐन ल्यायो। त्यसपछि ०२१, ०२८ र ०३२ सालमा देशभरि जग्गा नापी गरेर जनताको जग्गा जनतालाई नै दियो, अर्थात् त्यसको लालपुर्जा बाँड्यो। ऐनमा जग्गाको हदबन्दीसमेत तोकिएको छ।
जसअनुसार काठमाडौं उपत्यकामा २५ रोपनी, तराईमा दस बिघा र पहाडमा ७० रोपनीभन्दा बढी जग्गा राख्न पाइँदैन। योभन्दा बढी जग्गा कसैको भएमा स्वतः राज्यको हुने ऐनमा व्यवस्था छ। काठमाडौं, भक्तपुर र ललितपुरमा सरकारले ०२१ सालमा एकैपटक जग्गा नापी गरेको थियो।
त्यसक्रममा सिंहदरबारपछाडि कालिस्थानमुनि बाँसघारी, बाँसघारीमुनि पुतलीसडक, कालिस्थान पिपलबोटअगाडि, घट्टेकुलो, अनामनगर, हनुमानथान, धोबीखोला, बिजुलीबजार, बबरमहल, माइतीघर आसपास, काठमाडौं सिडिओ कार्यालय दायाँबायाँ र रामशाहपथस्थित अन्नपूर्ण अस्पताल रहेको एरियालाई सरकारी, गुठी जग्गामा राखिएको स्थानीय बुढापाका नै बताउँछन्।
०२९ सालसम्म त धोबीखोला बगेर घट्टेकुलो र सिंहदरबार चोकसम्म आइपुग्थ्यो पनि भनिन्छ। कालिस्थान, हनुमानथानअगाडि, सुन्धाराको बागदरबार र भोटेबहालमा पोखरी र ढुंगेधारा तथा अनामनगर (हाल बिग मार्ट रहेको ठाउँ) मा ढुंगेधारा र मन्दिर रहेको स्थानीयहरू दाबी गर्छन्। यस्तै, मैत्रीदेवीमा पेट्रोल पम्प सञ्चालित र आसपास, गौशाला भण्डारखाल, माइती नेपालको पिंगलथान र विजयचोक एरियालाई पनि सरकारी जग्गामै राखिएको बताइन्छ।
यता, भक्तपुर नगरपालिका–१, आर्मी ब्यारेक दायाँबायाँ, चंगा गणेशथान, खरिपाटी जाने बाटोको दायाँबायाँ, दुवाकोटको टेम्पो पार्क, निकोसेरा, राधेराधे, कमेरोटार, सिर्जनानगर र सल्लाघारी पुरैलाई जग्गाको क्रममा सरकारी, गुठी, ऐलानी र सिमसार भनी राखिएको स्थानीय बुढाबुढी दाबी गर्छन्। सल्लाघारी तीनकुने चौरनजिकै ठूलो घर बनाएका विकुलाल खिउँजुले त तीन वटा ढुंगेधारा र राजकुलो मासेकोसमेत आरोप छ।
तीनकुने चौरको राजपरिवारको जग्गासमेत कब्जा भएको अवस्था छ। एक सय दस रोपनीमध्ये अहिले बढीमा ६०–६५ रोपनीमात्र जग्गा बाँकी छ। त्यसमा पनि भक्तपुर नगरपालिकाको मनमौजी चलेको छ। भक्तपुरकै सूर्यविनायक नगरपालिका रहेको ठाउँको दायाँबायाँ, नगरपालिका पहिले भाडामा बसेको ठाउँको सरकारी जग्गासमेत अतिक्रमण भइसकेको छ। वडा नम्बर ५ का वडाध्यक्ष राजकुमार जोशीसहित तीन जनाले त सुशील भैरवथानको जमिन नै मिचेर घर बनाएका छन्। सार्वजनिक चौरहरूसमेत कब्जा गरेर संरचना ठड्याइएको छ। भक्तपुरमा मात्रै एक लाख ६८ हजार रोपनी सरकारी जग्गा व्यक्तिको कब्जामा गएको सरकारी तथ्यांक नै छ।
हुन त विगतमा मुलुकको कार्यकारी भूमिकामा रहेकाहरूले नै सार्वजनिक जग्गा व्यक्तिका नाममा पास गराउने काम गरे। ०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको क्याबिनेटले झापाको गिरीबन्धु टी स्टेटको सरकारी जग्गा व्यक्तिका नाममा पास गराउने निर्णय गरे। ०६० सालमा सूर्यबहादुर थापा र ०७८ वैशाख ७ र १३ गतेको केपी शर्मा ओली नेतृत्वको क्याबिनेटले पनि उक्त निर्णयलाई निरन्तरता दिए। अर्थात् गिरीबन्धुको बाँकी सरकारी जग्गासमेत व्यक्तिलाई दिइयो।
०४९ कात्तिक ५ गते र चैत ८ गतेको निर्णयानुसार भृकुटी कागज उद्योगको थुप्रै जग्गा कौडीको भाउमा बेचियो। ०५३ असार १४ गते चितवनको भरतपुर अस्पतालको ३१ बिघा जग्गा निजी कलेजलाई कौडीको भाउमा लिजमा दिने निर्णय गरियो। काठमाडौंको सिनामंगलस्थित नागरिक उड्डयन प्राधिकरणको ५२ रोपनी बढी जग्गासमेत कौडीको भाउमा लिजमा दिइएको छ। भृकुटीमण्डपको २१७ रोपनी, गोंगबु बसपार्कको १६१ रोपनी, बालमन्दिरलगायतको जग्गासमेत कौडीको भाउमा लिजमा दिइयो।
०६६ सालमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले काभ्रेको साँगाको ८१७ रोपनी, धुलिखेलको ८८ रोपनी, कालोपुलको १४ रोपनी र विभिन्न जिल्लाका सरकारी जग्गा व्यक्तिलाई दिने निर्णय क्याबिनेटबाटै गराए। बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गासमेत व्यक्तिलाई दिने निर्णय गरे। बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा ललिता निवास र थानकोट मातातीर्थको सरकारी जग्गा व्यक्तिलाई दिने निर्णय गराए।
कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा चुचेपाटीस्थित हाल हायात होटल रहेको र विभिन्न ठाउँका सरकारी जग्गा व्यक्ति वा संघसंगठनलाई दिने निर्णय गरे। गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्री हुँदा विराटनगर जुल मिलको जग्गा व्यक्तिलाई दिने निर्णय गरेका थिए। झलनाथ खनालले पनि प्रधानमन्त्री हुँदा गुम्बा बनाउनसँगै कर्मचारी, विद्यार्थीलगायत संघसंगठनलाई कार्यालय खोल्न सिंहदरबार आसपासकै सरकारी जग्गा बाँडे।
पूर्वप्रधानमन्त्रीसमेत रहेकी सुशीला कार्कीले पूर्वप्रधानन्यायाधीश हुँदा धरानको चार हजार ५२४ रोपनी सरकारी जग्गा व्यक्तिलाई दिने फैसला गरेकी थिइन्। यी त केहीमात्र उदाहरण हुन्। देशभरिका सरकारी, सार्वजनिक, गुठी, ऐलानी, वनजंगल, राजपरिवार, मठमन्दिर, खोला नदी, हदबन्दी बढी लगायतका जग्गा सरकारी कर्मचारी, राजनीतिक दल, कानुन व्यवसायी र भूमाफियाहरूको मिलीभगतमा व्यक्तिका नाममा गएको पाइन्छ।
यतिमात्र होइन, यी जग्गा प्लटिङ गरेर आनाकै लाखदेखि करोडौँमा बेचियो। बैंक, वित्तीय संस्थाले धितो राखेर करोडदेखि खर्बौँ कर्जा प्रवाह गरेका छन्। जसका कारण आज बैंकमा सर्वसाधारणको राखेको निक्षेपसमेत जोखिममा परेको छ। यसरी भूमाफियादेखि कर्मचारीसम्मको मिलीचुलीमा सरकारी सम्पत्ति बाँड्दा र दोहन गर्दासम्म सरकारलाई नै कुनै मतलब छैन। सुशासन र भ्रष्टाचारविरोधी नारा लगाएको बनेको बालेन सरकार पनि सरकारी सम्पत्ति संरक्षण र अतिक्रमित सरकारी जग्गा फिर्ता गराउनतर्फ सक्रिय देखिएको छैन।















