बुधबार, ९ मंसिर, २०८३

अस्ट्रेलिया र नेपाल जोड्ने नेपाली उद्यमी पीजे श्रेष्ठलाई ग्लोबल कनेक्सन अवार्ड

अस्ट्रेलियाली नेपाली उद्यमी पीजे श्रेष्ठलाई एसीयूको २०२६ ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड। व्यवसाय, राजनीति र सामुदायिक सेवामार्फत नेपाल–अस्ट्रेलिया सम्बन्ध सुदृढ बनाउँदै आएका श्रेष्ठले बाढीपीडितको सहयोगमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

नेपालसँगको सम्बन्धलाई व्यवसाय, राजनीति र सामुदायिक सेवामार्फत विस्तार गर्दै आएका नेपाली मूलका अस्ट्रेलियाली उद्यमी प्रामेज (पीजे) श्रेष्ठलाई अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटीले सन् २०२६ को ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड प्रदान गरेको छ।

नेपाल र अस्ट्रेलियाबीचको सम्बन्धलाई दुई देशको भौगोलिक दूरीमा सीमित नराखी व्यवसाय, सामाजिक सद्भाव र मानवीय सहयोगको सेतु बनाउने यात्रामा छन्, प्रामेज (पीजे) श्रेष्ठ। नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामुदायिक अगुवा श्रेष्ठको यही योगदानलाई कदर गर्दै अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटी (एसीयू) ले उनलाई सन् २०२६ को ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड प्रदान गरेको हो।

डिजिटल कन्सल्टिङ भेन्चर्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले व्यवसायिक परामर्शसँगै सार्वजनिक जीवन र सामुदायिक क्षेत्रमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। अस्ट्रेलियामा हुर्कंदै गरेको नेपाली समुदायलाई अवसरसँग जोड्ने र नेपालसँगको सम्बन्धलाई अन्तर्राष्ट्रिय सहकार्यको माध्यम बनाउने उनको प्रयासले यो सम्मान पाएको हो।

एसीयूको ग्लोबल कनेक्सन एलुम्नाइ अवार्डले विश्वव्यापी सम्बन्ध विस्तार, अन्तरसांस्कृतिक समझदारी र अन्तर्राष्ट्रिय सहकार्यमा उल्लेखनीय योगदान पुर्‍याउने विश्वविद्यालयका स्नातकलाई सम्मान गर्छ। एक लाख ५५ हजारभन्दा बढी स्नातक रहेको एसीयूको एलुम्नाइ अवार्डले विश्वभरका पूर्वविद्यार्थीको उपलब्धि र सामाजिक प्रभावलाई उजागर गर्दै आएको छ।

यस वर्षका पुरस्कार घोषणा गर्दै विश्वविद्यालयका उपकुलपति तथा अध्यक्ष प्राध्यापक ज्लाट्को स्क्रिबिसले प्रतिभा र दृढतासँग समाजका लागि केही गर्ने प्रतिबद्धता जोडिँदा सम्भावनाका नयाँ ढोका खुल्ने बताएका छन्।

सन् २०१५ मा एसीयूबाट वाणिज्य विषयमा स्नातक गरेका श्रेष्ठका लागि यो सम्मान व्यक्तिगत रूपमा पनि अर्थपूर्ण छ। विश्वविद्यालयका प्राध्यापक र करियर टोलीले आफ्नो क्षमता पहिचान गर्न तथा जीवनको दिशा तय गर्न सहयोग गरेको उनले सम्झन्छन्। एसीयूको प्रकाशन ‘इम्प्याक्ट’ सँगको कुराकानीमा उनले भनेका छन्, ‘मैले आफैमा विश्वास गर्नुअघि उनीहरूले ममाथि विश्वास गरेका थिए।’

श्रेष्ठको सार्वजनिक जीवन व्यवसायमा मात्र सीमित छैन। सन् २०१९ मा उनी अस्ट्रेलियाको संघीय निर्वाचनमा प्रमुख राजनीतिक दलबाट उम्मेदवार बन्ने नेपाली मूलका पहिलो व्यक्ति बने। तत्कालीन प्रधानमन्त्री स्कट मोरिसनको चुनावी टोलीअन्तर्गत सत्तारूढ लिबरल पार्टीबाट उम्मेदवारी दिएका उनले अस्ट्रेलियाको राजनीतिमा नेपाली समुदायको प्रतिनिधित्वलाई नयाँ पहिचान दिए।

युवालाई मार्गदर्शन गर्ने, उद्यमशीलता प्रवर्द्धन गर्ने र व्यवसाय, सरकार तथा समुदायका अगुवालाई एउटै संवादमा ल्याउने उनको प्रयासले पनि निरन्तरता पाएको छ। सन् २०१६ मा ‘मिस्टर नेपाल ओसिनिया’ बनेका श्रेष्ठ सन् २०२४ मा ‘४० अन्डर ४० मोस्ट इन्फ्लुएन्सियल एसियन–अस्ट्रेलियन अवार्ड’ अन्तर्गत सामुदायिक तथा पैरवी विधामा फाइनलिस्ट बनेका थिए। अहिले ‘एसियन अस्ट्रेलियन लिडरसिप अवार्ड’ का रूपमा चिनिने उक्त सम्मानको सिड्नी समारोहमा अस्ट्रेलियाका विदेशमन्त्री पेनी वङ पनि सहभागी थिइन्।

नेपाली समुदायमा उनको सक्रियता क्यानबेरास्थित गभर्नर जनरलको निवाससम्म पुगेको छ। सन् २०२४ अगस्ट १५ मा अस्ट्रेलियाका गभर्नर जनरल साम मोस्टिनले श्रेष्ठलाई भेटेका थिए।

नेपालमा सन् २०२६ मा आएको बाढीका बेला श्रेष्ठ राहत र पुनःस्थापनाको काममा पनि सक्रिय रहे। प्रभावित क्षेत्रमा स्रोतसाधन जुटाउन समन्वय गर्नुका साथै अस्ट्रेलियामा रहेका परिवार र सहयोगीबीच सम्पर्क कायम राख्न उनले भूमिका खेले। अस्ट्रेलियाली सिनेटर एन्ड्र्यु ब्रागले सेप्टेम्बर ८ मा सिनेटमा उनको योगदानको चर्चा गरेका थिए। त्यस्तै, न्यु साउथ वेल्स संसद्मा सांसद मार्क काउरेले सेप्टेम्बर १५ मा नेपाली समुदायका अगुवाको सहयोग र सक्रियताको प्रशंसा गरेका थिए।

व्यवसाय, राजनीति र मानवीय सेवाको संगममा उभिएका श्रेष्ठको यात्रा एउटा अवार्डमा मात्र सीमित छैन। अस्ट्रेलियामा नेपाली पहिचानलाई अवसर र नेतृत्वसँग जोड्दै नेपालसँगको सम्बन्धलाई अझ बलियो बनाउने उनको प्रयासले दुई देशबीचको सहकार्यलाई नयाँ अर्थ दिएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार