जुम्लामा आयोजित तीनदिने स्पष्ट सीप तथा नेतृत्व विकास तालिमले २५ युवा उद्यमीलाई आत्मविश्वास, व्यवसाय योजना, निर्णय क्षमता र बजार सम्बन्ध विस्तारका सीप सिकाएको छ। सहभागी अब सिकाइलाई गाउँमा उद्यममार्फत व्यवहारमा उतार्ने तयारीमा छन्।
‘म अगाडि आएपछि अलि आत्तिने बानी छ, बिर्सिने पनि गर्छु। तर मैले तीन दिनमा धेरै कुरा सिकिसकेकी छु। म थोरै बोलेँ भन्दैमा थोरै मात्र सिकेकी छु नसोच्नुहोला’
तीन दिनसम्म चलेको सरल सिकाई तथा नेतृत्व विकास तालिमको समापन समारोहमा सहभागी सम्झना बुढाले आफ्ना सिकाइ सुनाउँदा हलमा उपस्थित सहभागीका अनुहारमा मुस्कान छायो। सार्वजनिक रूपमा बोल्दा आत्तिने बानी भएकी उनले तालिममा सिकेका कुरा सम्झँदै आत्मविश्वासका साथ आफ्ना अनुभव सुनाइन्। उनका लागि तीन दिनको तालिम व्यवसाय सञ्चालनका सीप सिक्ने अवसर मात्र थिएन, आफूभित्रको संकोच चिन्न र त्यसलाई पार गर्ने अभ्यास पनि थियो।
होटल दौतरीमा आयोजित तालिममा २५ जना युवा उद्यमी सहभागी थिए। महिला, अपांगता भएका व्यक्ति, उत्पादक समूहका अगुवा तथा अगुवा कृषकलाई लक्षित गरी सञ्चालन गरिएको तालिमको उद्देश्य उनीहरूको आत्मविश्वास, निर्णय क्षमता, सञ्चार र नेतृत्व कौशल अभिवृद्धि गर्नु थियो। किर्डाक नेपाल र वर्ल्ड भिजन इन्टरनेशनलको सहकार्यमा आयोजित तालिममा सहभागीले व्यवसाय सुरु गर्नुअघि योजना बनाउनेदेखि समूहमा काम गर्ने र बजारसँग सम्बन्ध विस्तार गर्नेसम्मका विषयमा अभ्यास गरे।
सम्झनाले व्यवसायी बन्नुअघि योजना बनाउनुपर्ने, आफू को हुँ र के गर्न चाहन्छु भन्ने बुझ्नुपर्ने तथा समूहको महत्त्व पहिचान गर्नुपर्ने कुरा सिकेको बताइन्। व्यवसायीमा हुनुपर्ने गुण र सूचनाको महत्त्वबारे पनि तालिमले नयाँ ज्ञान दिएको उनको भनाइ थियो। ‘असल व्यवसायी बन्न ३२ वटा गुण हुनुपर्छ भन्ने कुरा पनि सिक्यौँ,’ उनले भनिन्।
तालिममा सहभागी जनक बुढाका लागि सिकाइको अर्को महत्त्वपूर्ण पक्ष थियो, व्यक्तिगत अनुभवलाई समूह र समुदायसम्म पुर्याउनु। यसअघि पनि केही तालिममा सहभागी भए पनि यसपटकको सिकाइ फरक लागेको उनले बताए। तालिममा सिकेका कुरा आफ्नै उत्पादक समूहमा बाँड्ने उनको योजना छ।
‘हाम्रो समूह मात्र होइन, घर पनि एउटा समूह हो। घरका सदस्यसँग सल्लाह गरेर सकारात्मक सोचका साथ बुझेर काम गर्यौँ भने अगाडि बढ्न सक्छौँ,’ उनले भने।

व्यवसायको यात्रा एकैपटक सुरु नहुने रहेछ भन्ने बुझाइ पनि तालिमले दिएको जनकले बताए। उद्यमी बन्ने, उद्यमशीलता विकास गर्ने, उत्पादन गर्ने र त्यसलाई व्यवस्थित व्यवसायका रूपमा अघि बढाउने प्रक्रिया बुझ्दा आफूलाई नयाँ अनुभव भएको उनले सुनाए। व्यवसाय दर्ता गर्दा प्राप्त हुने सुविधा, सूचना र परामर्शको उपयोग गर्न सके स्थानीय उत्पादनको बजार खोज्न सहज हुने उनको विश्वास छ।
जुम्लामा आलु, सिमी, स्याउ, ओखरलगायतका कृषि उत्पादन प्रशस्त भए पनि उत्पादनलाई बजारसँग जोड्ने चुनौती छ। तालिममा स्थानीय सरकार, वित्तीय संस्था, बजार र सरोकारवाला निकायसँग सम्बन्ध विस्तार गर्ने विषयमा पनि छलफल गरिएको थियो। सहभागीले उत्पादन कहाँ र कसरी बिक्री गर्ने भन्ने जानकारी प्राप्त गर्न नेटवर्किङको महत्त्व बुझेका छन्।
तीन दिनको कार्यतालिकामा आत्मविश्वास र सकारात्मक सोच, प्रभावकारी सञ्चार, सार्वजनिक प्रस्तुति, समावेशी नेतृत्व, समूह निर्माण, निर्णय क्षमता, समस्या समाधान, द्वन्द्व व्यवस्थापन, समय व्यवस्थापन र व्यावसायिक सञ्जाल विस्तारजस्ता विषय समेटिएका थिए। सहभागीलाई व्यावहारिक अभ्यास, समूह छलफल र भूमिका निर्वाहमार्फत सिकाइएको थियो। अन्तिम दिन उनीहरूले आफ्ना उद्यम तथा समूहमा लागू गर्न सकिने तीनमहिने कार्ययोजना तयार गरी प्रस्तुत गरे।
किर्डाक नेपालका कार्यक्रम संयोजक शिवचन्द्र कार्कीले तालिमको समापनलाई सिकाइको अन्त्य नभई सुरुवातका रूपमा लिन आग्रह गरे। सहभागीले सिकेका कुरा घरपरिवार, व्यवसाय र उत्पादक समूहका बैठकमा बाँड्नुपर्ने उनको भनाइ थियो। तालिमपछि उनीहरूले व्यवसाय सुरु गरे वा सञ्चालनमा ल्याएका परिवर्तनको अनुगमन गरिने र आवश्यकताअनुसार थप सीपमूलक तालिमको व्यवस्था गर्न सकिने उनले बताए।
वर्ल्ड भिजन जुम्लाका प्रतिनिधि भेशबहादुर रावलले तालिमको सफलता सहभागीको व्यवहारमा आएको परिवर्तनबाट मापन हुने बताए। तालिमअघि र पछि आफ्नो नेतृत्व क्षमता, विश्लेषण गर्ने शैली तथा व्यवसाय सञ्चालनमा आएको फरक पहिचान गर्न उनले सहभागीलाई आग्रह गरे।
‘तालिम सकियो मात्रै होइन, अब दैनिक जीवनमा अभ्यास गर्ने परीक्षा सुरु भयो,’ उनले भने।
तीन दिनको तालिमले सबै समस्या समाधान नगर्ला। तर सम्झना र जनकजस्ता सहभागीका लागि यसले आफूलाई चिन्ने, योजना बनाउने र सिकाइलाई समुदायमा फैलाउने बाटो देखाएको प्रशिक्षक श्री बहादुर भण्डारीले बताए। ‘अब उनीहरूको वास्तविक परीक्षा तालिम कक्षामा होइन, आफ्नै गाउँमा सुरु हुने उद्यम र त्यसलाई अघि बढाउने व्यवहारमा हुनेछ,’ उनले भने।
















