नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, वीरेन्द्रनगर सुर्खेतले जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लामा कार्यरत प्रहरी नायब निरीक्षक (सई) प्रकाश बहादुर शाहीलाई २०८३ साल वैशाख महिनाको ‘सर्वोत्कृष्ट ट्राफिक प्रहरी’ घोषणा गरेको छ।
कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार सई शाहीले ट्राफिक व्यवस्थापन, सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएका कारण उक्त सम्मान प्रदान गरिएको हो।
कार्यालयका अनुसार ट्राफिक जनचेतनामूलक कार्यक्रममार्फत बढ्दो सवारी दुर्घटना रोकथाम तथा न्यूनीकरणमा उल्लेखनीय योगदान पुर्याएको मूल्यांकन गर्दै ‘महिनाको सर्वोत्कृष्ट ट्राफिक प्रहरी छनोट मार्गदर्शन–२०८१’ बमोजिम सई शाहीलाई वैशाख महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषणा गरिएको हो।
सम्मानले आफूलाई काम गर्ने मनोबल दिएको सई शाहीले बताए।

















