जुम्लाको पातारासी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिकाका रूपमा घोषणा गरिएको छ। पालिका स्तरीय खोप समन्वय समितिको आयोजनामा बुधबार सम्पन्न कार्यक्रममा गाउँपालिकालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो।
गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख रतन बुढ्थापाका अनुसार पालिकाका सातवटै वडामा १५ महिनासम्मका २३५ जना बालबालिका नियमित खोप सेवामा समेटिएका छन्। यस्तै १६ देखि २३ महिनासम्मका २०८ जना बालबालिकाले नियमित खोप प्राप्त गरेका छन् भने २४४ जना बालबालिकाले पूर्ण खोप पाइसकेको तथ्यांक सार्वजनिक गरिएको छ।

स्वास्थ्य शाखा प्रमुख रतन बुढथापाका अनुसार पालिकामा बीसीजी, डिपिटी–हेपाटाइटिस बी, हिब, पीसीभी, ओपीभी, दादुरा–रुबेला, जापानिज इन्सेफ्लाइटिस, एफआईपीभी र टीसीभीसहित १३ प्रकारका खोप शतप्रतिशत रूपमा प्रदान गरिएको छ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले दुर्गम भौगोलिक अवस्थाका बाबजुद खोप अभियान प्रभावकारी रूपमा सञ्चालन गरिएको बताए। उनले अब कुनै पनि बालबालिका खोप सेवाबाट छुट्न नदिन स्वास्थ्य शाखामाथि विशेष अनुगमन गरिने स्पष्ट पारे।

अध्यक्ष बोहोराले केही बालबालिका अझै खोपबाट वञ्चित भएको सूचना आएको उल्लेख गर्दै आगामी दिनमा घरदैलो अभियान, नियमित अनुगमन तथा स्वास्थ्यकर्मी परिचालनलाई थप प्रभावकारी बनाइने जानकारी दिए।
जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि खोप अत्यन्त आवश्यक रहेको बताए। उनले समयमै खोप पाउँदा बालबालिकाको स्वास्थ्य अवस्थामा सकारात्मक परिवर्तन आएको उल्लेख गर्दै स्थानीय तहले लागूऔषध नियन्त्रणलगायत जनचेतनामूलक कार्यक्रमलाई पनि प्राथमिकता दिनुपर्ने धारणा राखे।
प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले घोषणा मात्रै गरेर नपुग्ने भन्दै व्यवहारमा समेत पूर्ण खोप सुनिश्चितता कायम हुनुपर्ने बताए।
उनले जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको सक्रियतामा जुम्लाका आठवटै स्थानीय तह पूर्ण खोप सुनिश्चित पालिका घोषणा भइसकेको उल्लेख गर्दै अब जिल्लालाई नै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने तयारी गर्नुपर्ने बताए।

पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले पालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताउँदै आगामी दिनमा कुनै पनि बालबालिका खोपबाट वञ्चित नहुने गरी विशेष अभियान सञ्चालन गरिने जानकारी दिइन्।
जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरण शर्माले प्रत्येक वर्ष वैशाख महिनालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना महिनाका रूपमा मनाइँदै आएको बताए। रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिन खोप अनिवार्य रहेको उनको भनाइ छ।
















