नेकपा (एमाले) तातोपानी गाउँपालिका कमिटीको अधिवेशनबाट गुम्ब डाँगीको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ। आपसी समझदारी र सहकार्यको सन्देशसहित सम्पन्न पालिका अधिवेशनले पाँच सदस्यीय पदाधिकारीसहित नयाँ कमिटी निर्विरोध निर्वाचित गरेको हो।
अधिवेशनबाट गाउँपालिका कमिटीको उपाध्यक्षमा कर्ण कठायत, सचिवमा राजु रावत तथा सहसचिवमा देवीचन्द्र सुनार र ज्वाला चौलागाईं सर्वसम्मत निर्वाचित भएका छन्। त्यसैगरी कमिटीका अन्य सदस्यहरूको समेत टुंगो आपसी सहमतिमै लगाइएको छ।
अधिवेशनमा देखिएको सहमतिलाई जिल्ला तहका नेताहरूले पार्टी एकताको बलियो सन्देशका रूपमा व्याख्या गरेका छन्। नेकपा एमाले जुम्लाका पूर्व उपाध्यक्ष सुरत बहादुर शाहीले तातोपानीले गुटगत राजनीतिभन्दा माथि उठेर साझा समझदारीको उदाहरण प्रस्तुत गरेको बताए।
‘पार्टीभित्र व्यक्ति होइन विचार प्रधान र गुट होइन एकता प्रधान हुनुपर्छ भन्ने उदाहरण तातोपानीले पुष्टि गरेको छ,’ शाहीले भने, ‘यो सर्वसम्मत नेतृत्व चयन पार्टीभित्रको आपसी विश्वास र समझदारीको उत्कृष्ट नमुना हो। यसले समग्र जिल्लाको संगठनलाई ऊर्जा दिएको छ।’
पार्टीकी जिल्ला महिला नेतृ नारायणी चौलागाईंले समावेशी सहभागितासहितको सर्वसम्मत नेतृत्व चयन हुनु उत्साहजनक रहेको बताइन्। ‘नयाँ नेतृत्वले पार्टी संगठनलाई थप सुदृढ, गतिशील र जनमुखी बनाउनेछ,’ नेतृ चौलागाईंले भनिन्, ‘गाउँपालिकाको समग्र विकास, समृद्धि तथा जनताका हरेक सुखदुःखमा साथ दिन नवनिर्वाचित टिम प्रभावकारी रूपमा खटिने विश्वास छ।’
एमाले जुम्लाका नेता आदिप्रसाद न्यौपानेले सहमतिको आधारमा नेतृत्व चयन हुनुले तल्लो तहसम्म पार्टीको आधार मजबुत भएको पुष्टि गर्ने धारणा राखे। ‘तातोपानीमा देखिएको यो राजनीतिक परिपक्वताले पार्टीलाई गाउँस्तरमा अझ गतिशील बनाउनेछ,’ न्यौपानेले भने, ‘अबको मुख्य कार्यभार भनेको संगठनलाई नीति र सिद्धान्तमा आधारित बनाएर जनताको भरपर्दो शक्ति निर्माण गर्नु हो।’
स्थानीय तहका जनसरोकार र समृद्धिको मुद्दालाई नेतृत्वले प्राथमिकतामा राख्नुपर्ने नेता धिरज जैशीको भनाइ छ। जैशीले भने, ‘एकताबद्ध एमाले निर्माण गर्दै समृद्ध तातोपानी बनाउने हाम्रो साझा अभियान हो। नयाँ नेतृत्वले स्थानीय आवश्यकता, विकास निर्माण र जनजीविकाका सवाललाई केन्द्रमा राखेर योजनाबद्ध रूपमा अघि बढ्नुपर्छ।’
नवनिर्वाचित अध्यक्ष गुम्ब डाँगीले पार्टीको नीति र विचारलाई आत्मसात् गर्दै कार्यकर्ताको भावना र स्थानीय बासिन्दाको चाहनाअनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन्।
















