शुक्रबार, २० कार्तिक, २०८३

अनुसन्धानको सिलसिलामा चुम भ्याली पुग्दा


काठैकाठका घरहरू, घिउ चिया खाने अनौठो चलन, हिंसा-काटमार गर्न प्रतिबन्ध, गाउँका नियमहरू थुप्रै थिए, जसले चुम भ्यालीका गाउँहरूलाई अन्य ठाउँभन्दा फरक पहिचान दिएका थिए। कठिनाइहरू जे जति भए पनि नयाँ ठाउँ र नौला अनुहारहरूसँगका यात्राहरू सम्झिँदा निकै रमाइलो लाग्छ।
​
जडिबुटीको राष्ट्रिय सर्वेक्षणको क्रममा गोरखाको चुम भ्यालीका वनपाखा डुल्नुपर्ने थियो। यही क्रममा हामी गोरखाको टोलीमध्ये एउटा टोली (यस पङ्क्तिकार सहयात्री दाइ दीपेश चापागाईँ) गोरखा बजारदेखि पिसाङसम्म गाडीमा गयौँ। पिसाङदेखि लोक्पासम्मको पैदल यात्रा गरेपछि प्लटको योजना बनाउन लोक्पा गाउँमा दुई दिन बस्नुपर्ने भयो। (यहाँ प्लट भन्नाले पूरै वन/भू-भागको प्रतिनिधित्व गर्ने निश्चित क्षेत्रफल भएको नमुना क्षेत्रलाई बुझिन्छ, जसको आधारमा पूरै वन/भूभागको अवस्था कस्तो छ भनी अनुमान लगाउन सकिन्छ।)
​
भरियाहरू खोजेर, रासनपानी किनेर लोक्पादेखि बिहानको खाना खाएपछि योजनाबमोजिम हिँडियो। त्यस दिन गन्तव्यमा नपुग्दै साँझ पर्यो। त्यसैले पानीको मुहान नजिकैको ओडारमा बस्ने निर्णय गरियो। उक्त ओडारको वरिपरि मस्त निगालोका झ्याङहरू थिए। भरिया दाइहरूले निगालो काटेर भुइँमा बिछ्याउनुभयो। पानी परिहाले पनि असर नगरोस् भन्ने हिसाबले एउटा त्रिपाल पनि टाँग्नुभयो। ३ जना भरिया दाइहरू, एक जना दीपेश दाइ र म गरेर हामी जम्मा ५ जना त्यो ओडारमा बस्दै थियौँ।
​
ओडारलाई बस्नयोग्य बनाएपछि साँझको खाना बनाउनतिर लागियो। यसो सम्झिएँ, दिउँसो बाटोमा देखेको सर्प, जुन मलाई एकदम डर लाग्ने प्राणीमध्ये एक हो। दाइहरू भालुको डरमा हुनुहुन्थ्यो, म भने सर्पको डरमा थिएँ। सर्प उद्धार तालिम हुँदा समेत पारिबाटै हेर्ने म, त्यो दिन सर्पको सम्भावित बासस्थानमा बस्दै थिएँ। खाना खायौँ; दाइहरू स्लिपिङ ब्याग मिलाउन थाल्नुभयो र म भने गुगलमा सर्पको बानीव्यहोराको बारेमा खोज्दै-बुझ्दै थिएँ।

फेरि हाम्रै ब्याचका अभिषेक सापकोटा, जो सर्पको बारेमा अनुसन्धानमा खटिरहने साथी थिए, उनीसँग फोनमा कुरा गरेर थप जानकारी लिएँ। साथीबाट केही सान्त्वना पाए पनि डर भने उत्तिकै थियो। भरिया दाइहरू आफ्नै भाषामा भलाकुसारी गर्दै हुनुहुन्थ्यो। म भने सुत्न भनेर स्लिपिङ ब्यागभित्र पसेँ, तर रातभर बिहानको पर्खाइमा एक निद्रा नसुती बिताएँ। सर्वेक्षणकै काममा गोरखा र लमजुङका केही डाँडाहरूमा रात बिताइसकेकी थिएँ, तर त्यस रातजस्तो लामो कुनै रात लागेन।


​बिहान भएसँगै मनमा खुसी पनि छायो। त्यस दिन प्लटको काम गर्न निस्कियौँ। प्लट गर्न गएको डाँडाको पारिपट्टि पनि प्लटहरू त थिए, तर त्यहाँसम्म पुग्न सम्भव नभएपछि त्यहीँ एउटा प्लट गरेर त्यस दिन बास बस्न घुम्रुङ जाने निर्णय गर्‍यौँ। दिउँसोको ३ बजिसकेको थियो; सामानहरू मिलाएर झोलामा राख्यौँ र ओडारबाट निकै खुसी हुँदै निस्कियौँ (साँच्चै भन्नुपर्दा मलाई लङ्का नै जितेजस्तो लागिरहेको थियो)।

दुई घण्टाको पैदल यात्रापछि घुम्रुङ पुगियो, खाना खाएर सुतिहालियो। मस्त निद्रा पर्यो र त्यससँगै लोक्पादेखि सुरु भएको हाम्रो चुम भ्यालीको यात्राको २ दिन बितिसकेको थियो। यात्रा रमाइलै थियो, पदमार्ग झन् व्यवस्थित थियो (ट्रेकिङ रुट भएर पनि होला)। अर्को दिन खाना खाएर रेनजामसम्म हिँड्नुपर्ने थियो। गाडीको सुविधा नभएकोले सामान बोकेर लस्करै हिँड्ने खच्चडको बथानले हामीलाई पनि यात्रालाई निरन्तरता दिन प्रेरित गर्थ्यो।


​बिहानको खाना खाएर घुम्रुङदेखि रेनजामका लागि प्रस्थान गर्‍यौँ। चुम्लिङ, कोन्जेर, छि-गाउँ, धरम्बा हुँदै रेनजाम पुगियो। त्यहाँ हाम्रो बसाइ ‘रेनजाम गणेश हिमाल गेस्ट हाउस’मा भयो। वरिपरि बस्ती पातलो थियो र हाम्रा ३ वटा प्लट त्यहीँ बास बसेर गर्न सकिने खालका थिए। अर्को दिन खाना खाएर घो-गाउँमाथिको प्लट गर्न गयौँ। काम गर्दै जाँदा माथि पहराहरूमा झारलको बथान समेत देख्यौँ।

यसरी झारल पहिलो पटक प्रत्यक्ष देख्ने अवसर मिल्यो; ठ्याक्कै बाख्राको जस्तो आवाजमा कराइरहेका थिए। हामी भने काममै तल्लीन थियौँ। काम गर्ने ठाउँ/प्लट नक्सामा हेर्दा त्यति अप्ठ्यारो देखिँदैनथ्यो, तर पुग्न भने निकै कठिन थियो। तल स्यार खोला सुसाइरहेको थियो, माथि पहरामा झारल कराइरहेका थिए र हामी पनि आफ्नै काममा व्यस्त थियौँ।


​कसैले जीपीएस हेर्दै बाटो पत्ता लगाउने, कसैले सुन्टोबाट भिरालोपन हेर्ने, तापक्रम नाप्ने अनि एकदम विचारका साथ जडिबुटीहरू छन्/छैनन् ख्याल गर्ने, त कसैले सम्पूर्ण जानकारी डाटासिटमा टिप्ने काम गर्‍यौँ। सब-प्लटहरू झारल हिँड्ने पहरामा पनि थिए, जहाँ पुग्न भरिया दाइहरूको अथक सहयोग मिल्थ्यो (कति बेला तान्दै, कति बेला घिसार्दै त कति बेला घाँसको बोट निहुराएर समात्न लगाउँदै)।

खासमा भन्नुपर्दा दाइहरू हाम्रो भरिया मात्र नभएर पथप्रदर्शक, अभिभावक र साथी सबैको भूमिका निर्वाह गर्नुहुन्थ्यो। बल्लतल्ल प्लटको काम सकियो र होटल फर्कियौँ। प्लटको काम सकिएको खुसीभन्दा पनि अर्को दिन फेरि अर्को प्लट अर्थात् अर्को डाँडा चढ्नुपर्ने कुराले मन दुःखी बनाउँथ्यो।


​दुखेको खुट्टा र थाकेको शरीर लिएर पुनः अर्को दिन धरम्बामाथिको वनमा परेको प्लटको काम गर्न गयौँ। जीपीएस हेर्दै हिँडिरह्यौँ; त्यो ठाउँमा सिधै उकालो चढ्नुपर्ने थियो। त्यसैमाथि बेलाबेला त ठ्याक्कै बाँदर जसरी ढुङ्गाबाटै हिँड्नुपर्थ्यो। त्यसैले धेरैबेर हिँडेपछि जीपीएस हेर्दा पनि हिँड्नुपर्ने दूरी भने अलिकति मात्र कम भएको देखिन्थ्यो। प्लट पुग्न सकिँदैन कि क्या हो भन्ने डरैडरमा जसोतसो पहिलो सब-प्लट पुगियो। एउटा सब-प्लट पुगेपछि अर्कोमा पुग्न भने त्यति गाह्रो हुँदैनथ्यो।

कुनै ठाउँमा भने निगालोको झ्याङ र ऐँसेलुको काँडाले बाटो नै अवरुद्ध गरिदिन्थ्यो। त्यस प्लटमा सेतकचिनी भेटियो र नमुना उखेल्दा-उखेल्दै पानी परेर पूरै भिजायो। न झरी, न गर्मी, न भिरपाखा, हामी पुग्न सक्ने ठाउँसम्म पुगेकै हुन्थ्यौँ। यसरी काम गर्दा गाह्रो भएको बेला सुशील ज्ञवाली सरले “यो काम गर्‍यौ भने जीवनमा जस्तोसुकै काम गर्ने आँट आउनेछ” भनेर यत्तिकै भन्नुभएको रहेनछ भन्ने लाग्थ्यो। फेरि होटल फर्कियौँ र अर्को दिन पनि त्यसरी नै अर्को प्लट सम्पन्न गरियो।
​
एक दिन आराम गरेर अर्को दिन लामागाउँ पुग्ने योजनासहित यात्रा सुरु गरियो। रेनजामबाट घो, छेकम्पार हुँदै जानुपर्ने थियो। छेकम्पार पुगेपछि मनास्लु संरक्षण क्षेत्र आयोजनाको कार्यालय देखियो। यसो पसेर चिया गफ गर्दै मनास्लु संरक्षण क्षेत्र आयोजना, छेकम्पारका प्रमुखसँग हामीले लामागाउँ जानुको तात्पर्य प्रस्ट पार्‍यौँ। दाइले पनि स्थानीयहरूको फोन नं. दिँदै “केही सहयोग चाहिएमा सम्झिनुहोला” भन्दै हाम्रो काम अझ सहज बनाइदिनुभयो।
​
त्यस दिन झोङ पुग्दा साँझ परिसकेको थियो र रात झोङकै एउटा होटलमा बसियो। होटलका साहुजी स्वयं जडिबुटी संकलक हुनुहुँदो रहेछ। उहाँले हामीलाई त्यस गाउँको चालचलनदेखि शाग्या (अहिंसासम्बन्धी) नियमहरूको बारेमा बताउनुभयो। साथै लामागाउँको वन वा लेकतर्फ जानुअघि त्यहाँका अगुवालाई जानकारी गराएर, स्थानीयलाई साथमा लिएर मात्र जान सुझाव दिनुभयो; अनुमतिबिना गएमा जरिवाना समेत तिर्नुपर्ने चलन रहेको कुरा सुनाउनुभयो।

खाना खाएर केहीबेर गफगाफ गरी सुत्न गइयो। अर्को दिन ढिँडो खाएर झोङदेखि लामागाउँका लागि निस्कियौँ। त्यस दिन दीपेश दाइको खुट्टा निकै दुखिरहेको थियो, तैपनि २ घण्टामै लामागाउँ पुगियो। त्यहाँ पुग्दा बिहानको १० बजिसकेको थियो।
​
त्यहाँको बस्ती भने अलि बाक्लो थियो। काठैकाठका घरहरू, घिउ चिया खाने अनौठो चलन, हिंसा-काटमार गर्न प्रतिबन्ध, गाउँका नियमहरू थुप्रै थिए, जसले चुम भ्यालीका गाउँहरूलाई अन्य ठाउँभन्दा फरक पहिचान दिएका थिए।


खाना खाएर झोलाहरू त्यहीँको एउटा होटलमा राखी एउटा प्लट गर्न बाटो लाग्यौँ। हामीसँग लामागाउँकै एक जना स्थानीय बासिन्दा पनि जानुभयो। उहाँ पनि जडिबुटी संकलक हुनुहुँदो रहेछ। गफ गर्दै प्लटसम्म पुगियो र त्यहाँ वनलसुन, पाँचऔँले साथै सेतकचिनी भेटियो। प्लटको काम सकेर होटल फर्कियौँ। खाजा खाएर नजिकैको गुम्बा घुम्न गयौँ; लामागाउँमा धेरै गुम्बाहरू रहेछन्। पुनः होटल फर्किएर भोलिपल्ट जानुपर्ने प्लट नक्सामा खोलेर हेर्‍यौँ। उक्त प्लट पिरेन फु गुफामाथिको लेकमा पर्ने रहेछ।

त्यहाँका बासिन्दाले पिरेन फु गुफालाई पवित्र धार्मिक स्थलका रूपमा मान्ने र उक्त लेकमा जान प्रतिबन्ध लगाएको बुझियो। यो थाहा पाएपछि हामी लोक्पा नै फर्किने निर्णयमा पुग्यौँ। जडिबुटीको सर्वेक्षणसँगै अनेकौँ नियमहरूले बाँधिएका चुम भ्यालीका बस्तीहरू र त्यहाँका शाग्या नियमहरू प्रत्यक्ष अवलोकन गर्ने अवसर मिल्यो।
​
कठिनाइहरू जे जति भए पनि नयाँ ठाउँ र नौला अनुहारहरूसँगका यात्राहरू सम्झिँदा मन निकै प्रफुल्ल हुन्छ। यो अवसरका लागि मैले अध्ययन गरिरहेको पोखरा वन क्याम्पस र एन्साव (ANSAB) नेपाललाई हार्दिक धन्यवाद!

(लेखक पौडेल हाल वनविज्ञानमा स्नातक गर्दै हुनुहुन्छ।)

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार