चन्दननाथ नगरपालिका–३ मा सम्पन्न अन्तर फुटसल प्रतियोगिताको उपाधि झिलिमीली युवा क्लबले हात पारेको छ। निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको फाइनल भिडन्तमा झिलिमीलीले एसएलसी ब्याच २०६६ लाई ५–४ गोलको अन्तरले पराजित गर्दै उपाधि चुमेको हो।
स्थानीय स्तरमा खेलकुदको विकास र युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजित उक्त प्रतियोगितामा कुल सात टिमले सहभागिता जनाएका थिए। प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गरेका चक्र लामा ‘सर्वोत्कृष्ट खेलाडी’ घोषित भए।

त्यस्तै, उत्कृष्ट बचाउ गर्दै टिमलाई बलियो बनाएका लक्ष्मी खत्रीले ‘उत्कृष्ट गोलकिपर’ को उपाधि पाए भने प्रतियोगिताभर सर्वाधिक छ गोल गरेका कुसेन्द खत्री ‘उत्कृष्ट गोलकर्ता’ बन्न सफल भए।
समापन तथा पुरस्कार वितरण समारोहमा बोल्दै चन्दननाथ नगरपालिका–३ का वडा अध्यक्ष रतन खत्रीले खेलकुदले युवाहरूलाई अनुशासित बनाउनुका साथै सकारात्मक मार्गमा डोर्याउने बताए।

उनले भने, ‘स्थानीय स्तरमै यस्ता प्रतियोगिता हुनु युवाको व्यक्तित्व विकास र स्वास्थ्यका लागि गौरवको विषय हो। वडा कार्यालयले आगामी दिनमा पनि युवा लक्षित खेलकुद गतिविधि र पूर्वाधारलाई प्राथमिकतामा राख्नेछ।’
कार्यक्रममा उपस्थित समाजसेवी मक्कर खत्रीले स्थानीय प्रतिभालाई उजागर गर्न यस्ता खेलहरू नियमित हुनुपर्नेमा जोड दिए। ‘युवाहरूलाई कुलतबाट टाढा राखी सिर्जनशील काममा जोड्न खेलकुद सबैभन्दा प्रभावकारी माध्यम हो,’ उनले उल्लेख गरे।

आयोजक समितिका तर्फबाट बोल्दै इश्वर खत्रीले सबै पक्षको सहयोगका कारण सीमित स्रोतसाधनका बाबजुद प्रतियोगिता भव्य र मर्यादित रूपमा सम्पन्न भएको बताए।
त्यसैगरी आयोजक समितिका खेमराज बुढथापाले आगामी दिनमा प्रतियोगितालाई थप व्यवस्थित र बृहत् बनाउँदै निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै सहभागी सम्पूर्ण टिम, खेलाडी तथा सहयोगीहरूलाई धन्यवाद ज्ञापन गरे।
विजेतालाई खसी र नगत तथा उपविजेता टिमलाई भाले र नगद सहित विधागत उत्कृष्ट खेलाडीहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।


















