सीमान्त साहित्य पीडाको अभिव्यक्ति मात्र होइन, आँसुका कथा सुनाउने मात्र होइन र अभावको वर्णन गर्ने मात्र पनि होइन। यसले पहिचानको घोषणा गर्नुपर्छ, सम्भावनाको उद्घोष गर्नुपर्छ। समाजमा रहेका आँसुका कथालाई बाहिर ल्याएर ती आँसु मेटाउने काम पनि सीमान्त साहित्यले गर्नुपर्छ। यो सम्मेलनले पनि त्यही काम गर्नुपर्छ भन्ने कुरा म यहाँ राख्न चाहन्छु।
विगतका दिनहरुमा यस्ता कार्यक्रमहरू राजधानीमा हुने गर्थे, ठूला–ठूला सहरहरूमा हुने गर्थे। आज यो साहित्य सम्मेलन कर्णालीको त्यसमा पनि जुम्ला जिल्लाको सदरमुकाममा भइरहेको छ। मलाई खुसी लागेको छ। सीमान्त साहित्य सम्मेलनले सोचेका र गर्न खोजेका सबै विषयमा यहाँ छलफल हुनेछ र यसले आफ्नो उद्देश्य प्राप्त गर्नेछ भन्ने विश्वास लिएको छु। सर्वप्रथम सम्मेलन भव्य सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु।
सीमान्त साहित्यको विमर्श केवल साहित्यको एउटा विधासँग सम्बन्धित विषय मात्र होइन। यसले हाम्रो समाजमा व्याप्त विकृति र विसङ्गति तथा इतिहासले ओझेलमा पारेका अनुहारलाई उज्यालोमा ल्याउने काम गर्छ। समाजले नसुनेका आवाजलाई सुनाउने र तिनका बारेमा बहस गर्ने अवसर सीमान्त साहित्य सम्मेलनले निर्माण गर्नेछ भन्ने मैले महसुस गरेको छु।
साहित्यले समयको चित्र उतार्छ र मानवीय संवेदनालाई अभिव्यक्त गर्छ। अन्याय, विभेद तथा असमानताविरुद्ध आवाज उठाउँछ। यही अर्थमा सीमान्त साहित्यको महत्त्व र विशिष्टता गहिरो छ भन्ने कुरा हामी सबैले बुझेका छौँ। समाजको मूलधारबाट पछाडि पारिएका, आवाज दबाइएका, अवसरबाट वञ्चित गरिएका र उपेक्षामा परेका वर्ग, समुदाय तथा व्यक्तिका जीवनानुभूति, पीडा, सङ्घर्ष, सपना र सम्भावनालाई अभिव्यक्त गर्ने साहित्यलाई हामी सीमान्त साहित्यका रूपमा बुझ्ने गर्छौं।
हाम्रो समाजमा जातीय विभेद, लैङ्गिक असमानता, आर्थिक विपन्नता, भौगोलिक विकटता र सामाजिक बहिष्करणका अनेक रूप व्याप्त छन्। यसभित्र पीडाका कति कथा छन्, तर ती कथाले पर्याप्त स्थान पाउन सकेका छैनन्। सीमान्त साहित्यले यो मौनता तोड्नेछ र हाम्रो समाजलाई प्रश्न गर्नेछ।
सीमान्त साहित्य पीडाको अभिव्यक्ति मात्र होइन, आँसुका कथा सुनाउने मात्र होइन र अभावको वर्णन गर्ने मात्र पनि होइन। यसले पहिचानको घोषणा गर्नुपर्छ, सम्भावनाको उद्घोष गर्नुपर्छ। समाजमा रहेका आँसुका कथालाई बाहिर ल्याएर ती आँसु मेटाउने काम पनि सीमान्त साहित्यले गर्नुपर्छ। यो सम्मेलनले पनि त्यही काम गर्नुपर्छ भन्ने कुरा म यहाँ राख्न चाहन्छु।
कर्णाली भौगोलिक रूपमा विकट प्रदेश हो। तर, विकटता छ भन्दैमा हामीसँग सम्भावना छैन भन्ने होइन। प्राकृतिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले समृद्ध प्रदेशका रूपमा कर्णाली परिचित छ। यस सन्दर्भमा सीमान्त साहित्यको महत्त्व अझ बढी छ भन्ने कुरा म यहाँ राख्न चाहन्छु।
यहाँका हिमाल, पहाड, नदी, बस्ती, देउडा, भाषा, संस्कृति र जनजीवन आफैमा साहित्यका जीवन्त स्रोत हुन्। तर, दूरी र अवसरको अभावका कारण ती ओझेलमा परिरहेका छन्। राष्ट्रिय बहसमा तिनले पर्याप्त स्थान पाउन सकेका छैनन्। त्यसकारण कर्णालीका दुःखलाई अभावका तथ्याङ्कका रूपमा सीमित गर्नु हुँदैन। यहाँका जनताका सपना, श्रम, आत्मसम्मान, सङ्घर्ष र सिर्जनशीलतालाई उत्तिकै महत्त्वका साथ बुझ्नुपर्छ। जीवनमा लुकेका कथा, महिलाका अनुभूति र सङ्घर्षका कथा, दलितका सङ्घर्षका कथा तथा युवाका सपनालाई साहित्यले अभिव्यक्त गर्नुपर्छ भन्ने कुरा म यहाँ राख्न चाहन्छु।
यस सन्दर्भमा साहित्यकारको जिम्मेवारी महत्त्वपूर्ण छ। समाजमा व्याप्त विकृति र विसङ्गतिलाई साहित्यले उजागर गर्नुपर्छ। साहित्य आफैमा महत्त्वपूर्ण छ। साहित्यले शक्तिका गीत मात्र गाउनु हुँदैन, शक्तिका कथा मात्र लेख्नु हुँदैन। समाजभित्र लुकेका अन्तरकुन्तरका विषय र सङ्घर्षका गाथा साहित्यमा आउनुपर्छ। समाजका सबै समस्या र लुकेका पीडालाई साहित्यले उजागर गर्नुपर्छ भन्ने कुरा म यहाँ राख्न चाहन्छु।
आज यहाँ यो भव्य सम्मेलन हुन गइरहेको छ। मैले यहाँ देखिरहेको छु, हाम्रो कर्णाली प्रदेशमा साहित्यका हरेक सम्मेलन र कार्यक्रममा साहित्यलाई बढी महत्त्व दिएर लाग्नुभएका डा. नवराज केसी हुनुहुन्छ। बालरोग विशेषज्ञ भए पनि बिरामी हेर्नुपर्ने र समयको अभाव हुँदाहुँदै उहाँले साहित्यलाई प्रमुख विषयका रूपमा लिएर धेरै महत्त्व दिनुभएको छ। उहाँले धेरै पुस्तक लेख्नुभएको छ। मैले ती पुस्तक अध्ययन र पठन पनि गरेको छु।
यहाँ कुटीरोका अध्यक्ष महेशजीका साहित्यिक लेखहरू पनि मैले हेरिरहेको हुन्छु। उहाँका लेखमार्फत सीमान्तकृत समुदायका विषय पटक–पटक झल्किरहेको मैले देखिरहेको र पढिरहेको छु। तसर्थ, मलाई लाग्छ, यो सम्मेलनको अवधिमा विभिन्न चरणमा यी विषयमा व्यापक ढङ्गले छलफल हुनेछ।
कर्णाली प्रदेश आफैमा प्राकृतिक, ऐतिहासिक र पुरातात्त्विक हिसाबले समृद्ध छ। हामीसँग भएको त्यो समृद्धिलाई चिनाउन र उजागर गर्न सकिरहेका छैनौँ। यहाँको सांस्कृतिक र भौगोलिक अवस्थालाई बाहिर देखाउन सकिरहेका छैनौँ। हाम्रा गाथामा पटक–पटक दुःख, पीडा, सङ्घर्ष र अभावका कुरा मात्रै आइरहेका छन्। अब ती गाथालाई परिवर्तन गरेर कर्णाली समृद्धिको बाटोमा अघि बढिरहेको छ, यहाँका दुःख र सङ्घर्ष कम हुँदै गएका छन्, हामी विकासको बाटोमा अगाडि बढिरहेका छौँ र समृद्धिको यात्रामा अघि बढिरहेका छौँ भन्ने कुरा देखाउन सक्नुपर्छ।
सीमान्त साहित्य सम्मेलनले पनि यो पक्षमा छलफल र बहस गर्नेछ र कर्णाली अब समृद्धिको बाटोमा छ भन्ने निष्कर्ष निकाल्नेछ भन्ने मलाई लागेको छ।
म यहाँहरूलाई कर्णाली प्रदेश सरकारको तर्फबाट अनुरोध गर्न चाहन्छु। यहाँका दुःख, पीडा र वेदनाका कुरा, गरिबी र अभावका अवस्था, सङ्घर्ष तथा सामाजिक उत्पीडनका विषयलाई सम्बोधन गरेर सन् २०३० सम्ममा यो समाजलाई समृद्ध समाज निर्माण गर्ने र समाजमा रहेका विकृति अन्त्य गर्ने लक्ष्य हामीले नीतिमा राखेका छौँ। त्यसैअनुसार नीति बनाएका छौँ, कार्यक्रम तयार गरेका छौँ र बजेट विनियोजन गरेका छौँ।
सामाजिक विकास मन्त्रालयमार्फत हामीले विभिन्न कार्यक्रम सञ्चालन गरेका छौँ। यहाँ दलित सशक्तीकरणका कार्यक्रम अगाडि बढाएका छौँ। महिलाका सशक्तीकरणका कार्यक्रम अघि बढाएका छौँ। युवाका रोजगारीका कार्यक्रम अगाडि बढाइरहेका छौँ। विभिन्न मन्त्रालयमार्फत अहिले युवालाई नवप्रवर्तन कार्यक्रममार्फत आफ्ना प्रतिभा प्रस्तुत गर्ने र उजागर गर्ने कार्यक्रम पनि कर्णाली प्रदेश सरकारले अगाडि बढाइरहेको छ।
यस सन्दर्भमा यी कार्यक्रमलाई यहाँहरूको तर्फबाट पनि साथ र सहयोग हुनेछ भन्ने अपेक्षा गरेको छु। ती कार्यक्रम सफल पार्न सक्यौँ भने मात्रै सरकारले संविधानले दिएका अधिकार र संविधानले निर्दिष्ट गरेका व्यवस्थाअनुसार काम गर्न सक्छ। सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्यमा विकास तथा समृद्धिका विभिन्न कार्यक्रम हामीले अगाडि बढाइरहेका छौँ।
यस सन्दर्भमा म यहाँहरूलाई अनुरोध गर्न चाहन्छु—साहित्यकार, सर्जक, बुद्धिजीवी र लेखक सबैले आज एउटा कुरा मनन गरौँ। हामी सबैले सकारात्मक धारणा पैदा गरौँ, सकारात्मक भावना पैदा गरौँ र सकारात्मक आवाज निकालौँ। नकारात्मक आवाज निकालेर मात्र होइन, सकारात्मक आवाज निकालेर पनि समाजलाई बदल्न सकिन्छ। त्यसकारण म यहाँहरूलाई सकारात्मक सोच र आवाजका साथ समाज परिवर्तनको अभियानमा जोडिन अनुरोध गर्न चाहन्छु।
सरकार आफ्नो तर्फबाट काम गरिरहेको छ। आज कतिपय आवाज पनि आइरहेका छन्, ‘केही भएन’ भन्ने भाष्य पनि निर्माण भइरहेको छ। तर, कर्णालीको विगतलाई हेर्दा र आजको अवस्थालाई तुलना गर्दा तथ्याङ्कमा धेरै कुरा बदलिएका छन्। हामी अझै पनि यसलाई परिवर्तन गरेर समृद्ध कर्णाली निर्माण गर्ने अभियानमा छौँ।
त्यो अभियान सरकारले एक्लै गरेर हुँदैन। यसमा नागरिक समाज पनि जोडिनुपर्छ, कर्मचारी पनि जोडिनुपर्छ, सङ्घ, प्रदेश र स्थानीय तह पनि जोडिनुपर्छ र आम नागरिक पनि जोडिनुपर्छ। विकास आम जनताले अनुभूति गर्ने खालको हुनुपर्छ। त्यसका लागि कर्णाली प्रदेश सरकार लागिरहेको छ।
म यहाँहरूलाई अनुरोध गर्न चाहन्छु, यहाँ विकासका जुन काम र कार्यक्रम छन्, सशक्तीकरणका जुन कार्यक्रम छन्, ती हिजो टाठाबाठा र समाजमा नेतृत्व गर्नेहरूले मात्र प्राप्त गर्ने अवस्था अब रहनु हुँदैन। अब आम जनताले, हरेक घरपरिवारले अनुभूति गर्न सक्ने खालका विकासका काम, योजना र कार्यक्रम अगाडि बढ्नुपर्छ भन्ने मान्यताका साथ कर्णाली प्रदेश सरकारले काम गरिरहेको छ।
सुशासनका सन्दर्भमा, पारदर्शिताका सन्दर्भमा र भ्रष्टाचारप्रति शून्य सहनशीलताको मान्यताका साथ हामी अगाडि बढिरहेका छौँ। यही कुरा म यहाँहरूमाझ राख्न चाहन्छु।
अन्त्यमा, म यहाँहरूलाई अनुरोध गर्न चाहन्छु, कर्णाली प्रदेशको जुम्ला जिल्लामा भइरहेको यो सीमान्त साहित्य सम्मेलनले यहाँका सम्पूर्ण दबिएका आवाजलाई अगाडि ल्याउने साहस पैदा गरोस्। यहाँभित्र रहेका विसङ्गति र विकृतिका साथै पुरातन मान्यतालाई अन्त्य गर्ने आवाज बनोस्। समग्रमा यहाँभित्रका अन्तरकुन्तरमा दबिएर रहेका आवाजलाई बाहिर ल्याई समाजका सबै वर्ग र समुदायलाई सशक्त बनाउने साधनका रूपमा यो साहित्य सम्मेलन स्थापित होस्। म यही शुभकामना दिन चाहन्छु।
यहाँ आउनुभएका सम्पूर्ण सर्जक र साहित्यकारलाई म अनुरोध गर्न चाहन्छु, कर्णालीभित्र र जुम्लाभित्र रहेका राम्रा कुरालाई बाहिर पनि बहस र छलफलमा ल्याइदिनुहोस्। कर्णालीभित्र के–कस्ता सम्भावना छन्, त्यसका बारेमा पनि बहस र छलफल गरिदिनुहोस्। हाम्रा नदी–नाला, हिमाल, पहाड र तालतलैया राम्रा छन्। पर्यटनका प्रचुर सम्भावना छन्। जडीबुटीका प्रचुर सम्भावना छन्। प्राकृतिक स्रोतहरू छन्। तिनलाई उजागर गरेर यहाँको समृद्धि प्राप्त गर्ने औजारका रूपमा प्रयोग गर्न सकिन्छ।
यहाँ बाहिरबाट आउनुभएका सम्पूर्ण साहित्यकारले यहाँका सम्भावनालाई बाहिर बोलिदिनुहुनेछ र सकारात्मक रूपमा आवाज उठाइदिनुहुनेछ भन्ने कुरा म अनुरोध गर्न चाहन्छु।
कुटीरो रिसर्च सेन्टरले निकै मेहनत गरिरहेको छ। लामो समयदेखि यसले काम गर्दै आएको छ। आज पनि विभिन्न ठाउँबाट सर्जक, साहित्यकार, राजनीतिकर्मी र समाजका आवाज उठाउने सबै वर्गलाई यहाँ बोलाएर गहन छलफल, नाटक मञ्चन, प्रस्तुति र अन्य विषयमा विभिन्न कार्यक्रम गर्ने जमर्को गरेको छ। यसलाई एउटा जमर्को वा सम्मेलनका रूपमा मात्र बुझ्नु हुँदैन। यसले समग्रमा कर्णालीमा रहेका विकृति र विसङ्गति अन्त्य गर्न आवाज उठाउने र एउटा आन्दोलनका रूपमा अगाडि बढाउने उद्देश्य राखेको छ भन्ने कुरा मैले यहाँ राख्न चाहन्छु।
कुटीरो रिसर्च सेन्टरले जुन उद्देश्यका साथ यी कार्यक्रम गरिरहेको छ, आगामी दिनमा ती उद्देश्य सफल होउन् भन्ने शुभकामना दिन चाहन्छु। उहाँहरूले उठाएका आवाज कर्णाली प्रदेश सरकारले आफ्नो नीति, कार्यक्रम र बजेटमा राखेका विषयसँग पनि सम्बन्धित छन्। त्यसलाई यहाँहरूले बुझिदिनुहुनेछ भन्ने अनुरोध गर्न चाहन्छु।
कुटीरो रिसर्च सेन्टरले मलाई यहाँ प्रमुख अतिथिका रूपमा आमन्त्रण गरेकोमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्न चाहन्छु। सम्मेलनको भव्य सफलताको शुभकामना व्यक्त गर्दै मेरो भनाइ यहीँ अन्त्य गर्छु। धन्यवाद।
(जुम्लामा २०८३ कार्तिक ९ गते सम्पन्न ‘सीमान्त साहित्य सम्मेलन’को पहिलो संस्करण उद्घाटन गर्दै कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री टेकराज पछाईंले व्यक्त गर्नुभएको मन्तव्यको सम्पादित पाठ)















