नपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फको केन्द्रीय सदस्य पदमा जुम्लाको चन्दननाथ नगरपालिकाकी उपप्रमुख रामदेवी खड्का निर्वाचित भएकी छन्।
मतपरिणाम अनुसार खड्काले २ हजार ९ सय २७ मत प्राप्त गर्दै जित हासिल गरेकी हुन्। सोही प्रतिस्पर्धामा रहेका अन्य उम्मेदवारहरू रेणु आचार्यले २ हजार १ सय ४३ र खगिसरा आचार्यले १ हजार ५ सय २८ मत प्राप्त गरेका छन्।
दुर्गम कर्णालीको भूगोलबाट स्थानीय तहको नेतृत्व सम्हाल्दै आएकी खड्का पार्टीको केन्द्रीय नीति निर्माण तहमा पुग्न सफल भएकी हुन्।
स्थानीय तहमा उपप्रमुखका रूपमा जनतासँग प्रत्यक्ष जोडिएर काम गरेको अनुभव बोकेकी उनी राष्ट्रिय राजनीतिमा स्थापित भएपछि जुम्लावासी र पार्टी पंक्तिमा उत्साह देखिएको छ।
केन्द्रीय सदस्यमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै नेतृ खड्काले कर्णाली, दुर्गम भूगोल र सिमान्तकृत महिलाका मुद्दालाई केन्द्रीय तहमा दृढतापूर्वक उठाउने प्रतिबद्धता व्यक्त गरिन्।
‘पार्टीका महाधिवेशन प्रतिनिधि साथीहरूले मप्रति देखाउनुभएको यो विश्वास मेरा लागि ठूलो जिम्मेवारी हो,’ खड्काले भनिन्।
उनले लोकतान्त्रिक मूल्य-मान्यताको रक्षा, पार्टीको आन्तरिक सुदृढीकरण तथा राष्ट्रिय राजनीतिमा महिला नेतृत्वको सशक्त उपस्थितिका लागि आफ्नो निरन्तर भूमिका रहने बताइन्।
















