जुम्लाको पातारासी गाउँपालिकास्थित बाढी तथा पहिरो प्रभावित नागरिकलाई करिब ५ लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरिएको छ। शनिबार पातारासी गाउँपालिका कार्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरी प्रभावित परिवारलाई अत्यावश्यक खाद्यान्न तथा लत्ताकपडा हस्तान्तरण गरिएको हो।
गैरआवासीय नेपाली संघ (एनआरएनए), ग्रेट हिमालयज नेपलिज रेस्टुरेन्ट (साउथपोर्ट, यूके) तथा लिभरपुल नेपाली समाजको संयुक्त आयोजनामा उक्त राहत सामग्री उपलब्ध गराइएको हो।
बेलायतमा रहेका प्रकाश शाही र कालीबहादुर रावतको विशेष पहलमा त्यहाँस्थित नेपाली समुदायबाट आर्थिक संकलन गरी विपद् प्रभावितका लागि राहतको व्यवस्था गरिएको आयोजकले जनाएका छन्।
बाढी र पहिरोका कारण दैनिक गुजारा चलाउन समस्यामा परेका स्थानीयलाई तत्कालको आवश्यकता पूर्ति गर्न चामल, दाल, तेल लगायतका खाद्यान्न र न्यानो कपडाहरू वितरण गरिएको हो।
प्रवासमा रहेर पनि आफ्नो मातृभूमिका विपद्मा परेका दाजुभाइ-दिदीबहिनीको दुःखमा साथ दिन राहत अभियान सञ्चालन गरिएको पहलकर्ताहरूले बताएका छन्। राहत प्राप्त गरेपछि स्थानीय प्रभावित परिवारले सहयोगप्रति आभार व्यक्त गरेका छन्।
















