बिहीबार, ७ जेष्ठ, २०८३

चन्दननाथ नगरपालिकामा समुदायमा आधारित रोग निगरानी तथा व्यवस्थापन प्रणाली सम्बन्धी अभिमुखीकरण सम्पन्न

जुम्लाको चन्दननाथ नगरपालिकामा समुदायमा आधारित रोग निगरानी तथा व्यवस्थापन प्रणाली सम्बन्धी सरोकारवालाहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन गरिएको उक्त कार्यक्रम २०८३ साल जेठ ६ गते बिहान ७ बजे नगरपालिका परिसरमा सम्पन्न भएको हो।

कार्यक्रममा समुदायमा आधारित रोग निगरानी तथा व्यवस्थापन प्रणालीको प्रभावकारी कार्यान्वयन, रोगको प्रारम्भिक पहिचान, सूचना संकलन तथा व्यवस्थापनका विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो।

कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सम्बन्धित निकायका प्रतिनिधिहरूको सहभागिता रहेको स्वास्थ्य शाखा प्रमुख क्षेत्रबहादुर महतले जानकारी दिए।

चन्दननाथ नगरपालिकाका प्रमुख राजुसिंह कठायतले समुदायस्तरमै रोगको समयमै पहिचान गर्न सकिए महामारी र संक्रामक रोगको जोखिम न्यूनीकरण गर्न सहज हुने बताए। 

उनले स्थानीय सरकार जनस्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले स्वास्थ्य प्रणालीलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे।

उपप्रमुख रामदेवी खड्काले समुदायमा आधारित रोग निगरानी प्रणाली प्रभावकारी रूपमा सञ्चालन भएमा गाउँ–टोलमै स्वास्थ्यसम्बन्धी जोखिमको जानकारी तत्काल प्राप्त हुने बताइन्। उनले जनप्रतिनिधि, स्वास्थ्यकर्मी र समुदायबीचको सहकार्यले मात्र यस्तो प्रणाली सफल हुने धारणा राखिन्।

स्वास्थ्य शाखा प्रमुख महतका अनुसार कार्यक्रममा विश्व स्वास्थ्य संगठन महामारी प्रतिकार कोष तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभाग र महामारी विज्ञान तथा रोग नियन्त्रण महाशाखा को प्राविधिक सहयोग रहेको थियो।

समुदायस्तरमै रोगको पहिचान तथा निगरानी प्रणालीलाई प्रभावकारी बनाउँदै सम्भावित महामारी र संक्रामक रोगको समयमै नियन्त्रण गर्न सहयोग पुर्‍याउने उद्देश्यले राख्नु सकारात्मक कदम भएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरण कुमार शर्माले बताए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार