जुम्लाको गुठिचौर गाउँपालिकामा जङ्गली भालुको आक्रमणबाट एक युवक गम्भीर घाइते भएका छन्। गुठिचौर गाउँपालिका–३ गर्याङ्गकोटका २४ वर्षीय सरचिन बुढामाथि बुधबार बिहान भालुले आक्रमण गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बिहान करिब ६ बजेको समयमा सरचिन सोही वडाको छल्लाटिया खोलास्थित राष्ट्रिय वन क्षेत्रमा भेडा–बाख्रा चराइरहेका थिए। त्यसै क्रममा जङ्गलबाट निस्किएको भालुले अचानक उनीमाथि आक्रमण गरेको बताइएको छ।
घटनापछि स्थानीय पूर्ण बुढाले प्रहरी चौकी झारज्वालामा फोनमार्फत जानकारी गराएका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी नायव निरीक्षक तारा केसीको नेतृत्वमा चार सदस्यीय प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।
दुर्गम जङ्गली क्षेत्रमा भएको घटनामा प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा घाइते सरचिनको उद्धार गरिएको प्रहरीले जनाएको छ। प्रारम्भिक उद्धारपछि उनलाई गुठिचौर गाउँपालिकाको एम्बुलेन्समार्फत थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।
भालुको आक्रमणबाट सरचिनको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ। हाल प्रतिष्ठानमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।
















