विद्यार्थीहरूले मोफ्ला र जोगीबाडा गाउँमा गरेको अनुभवले स्थानीय जीवनशैलीको स्पष्ट चित्र प्रस्तुत गरेको छ।
जुम्ला जिल्लाको हिमा गाउँपालिकामा समुदायस्तरमा नसर्ने रोग (NCDs) को स्क्रिनिङ तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित सञ्चालन गरिएको चार दिने स्वास्थ्य तथा पोषण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। सुनौलो हजार दिनका आमाहरू तथा पाँच वर्षमुनिका बालबालिकाको पोषण अवस्थाको मूल्याङ्कनसमेत समेटिएको यो अभियान स्थानीय तह र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीचको सहकार्यमा सञ्चालन गरिएको हो।
कार्यक्रममा जनस्वास्थ्यका विद्यार्थीहरू सात समूह—समूह ए देखि समूह जीसम्म—विभाजन गरी विभिन्न वडामा परिचालन गरिएका थिए। समूह ए मा दीपेन्द्र खडायत, दिक्षित उपाध्याय, राजेश पाण्डे र आयुष्मान पौडेल रहेका थिए भने समूह बी मा विपना बुढ्थापा, सुमित्रा रावल, रोशन तामाकार, वैभव ठाकुर र दिलीप रावल सहभागी थिए। समूह सी मा दीपा भट्ट, प्रशंसा अचार्य, उर्मिला ओली, विकास महतो र लोकमणि बोहोरा रहेका थिए।
त्यसैगरी, समूह डी मा रितेश कुमार जैसवाल, दीपेन्द्र चुनारा, आनन्द कुमार सिंह, दीपेन्द्र चौधरी र मदन थापा क्षेत्री थिए भने समूह ई मा विवेक कुमार यादव, गणेश नाथ योगी, सुलभ खनाल र अनिश बुढा रहेका थिए। समूह एफ मा शिव शंकर मण्डल, पुस्तिका उपाध्याय, प्रकृति चौलागाईं र आभास पन्त सहभागी थिए भने समूह जी मा सुबोध कुमार साह, सरस्वती कार्की, प्रेक्षा न्यौपाने र सुनिल भट्ट रहेका थिए।
यी सबै विद्यार्थीहरूले घरदैलोमै पुगेर रक्तचाप, मधुमेह परीक्षण, पोषण मूल्याङ्कन तथा स्वास्थ्य शिक्षा प्रदान गरेका थिए। जनस्वास्थ्य विषयका उपप्राध्यापक ओम प्रकाश काफ्लेले भने, ‘विद्यार्थीहरूले अत्यन्त समर्पित भएर काम गरे। दुर्गम बस्तीमा पुगेर समुदायसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै स्वास्थ्य चेतना फैलाउने काम प्रशंसनीय रह्यो।’
कार्यक्रमका क्रममा ९३७ जनाको रक्तचाप परीक्षण गर्दा ३६३ जनामा निम्न रक्तचाप, ७८ जनामा पूर्व-उच्च रक्तचाप, ५४ जनामा Stage-I र ५६ जनामा Stage-II उच्च रक्तचाप देखिएको तथ्यांकले समुदायमा रक्तचापसम्बन्धी समस्या गम्भीर रहेको देखाउँछ। रितेश कुमार जैसवाल भन्छन्, ‘धेरैजसो मानिसहरूमा बीपी उच्च भए पनि औषधि सुरु गरेपछि जीवनभर खानुपर्छ भन्ने गलत धारणा रहेकाले उपचारमा बेवास्ता गरिएको पाइयो।’
त्यस्तै, ३५० जनामा गरिएको मधुमेह परीक्षणमा ४ जना मात्र पोजिटिभ देखिए। विवेक कुमार यादवका अनुसार स्थानीय उत्पादनमा आधारित खानपानका कारण मधुमेह कम देखिएको हुन सक्छ, तर जीवनशैली परिवर्तनसँगै जोखिम बढ्न सक्ने सम्भावना छ।
बालबालिकाको पोषणतर्फ २०५ जनामा गरिएको परीक्षणमा ११ जना कुपोषित भेटिए। विपना बुढ्थापा भन्छिन्, ‘गाउँमा पोषणयुक्त खाद्यान्न उपलब्ध हुँदाहुँदै पनि सन्तुलित आहारको अभाव देखियो, विशेषगरी गर्भवती र बालबालिकामा।’
गर्भवती तथा सुत्केरी महिलाको अवस्थाले पनि चुनौती देखाएको छ। ३४ गर्भवतीमध्ये ३ जनाले आवश्यक जाँच नगरेको र १३९ आमामध्ये ११ जनाले २० वर्षभन्दा अगाडि नै बच्चा जन्माएको तथ्यांकले कम उमेरमै विवाह र गर्भावस्थाको समस्या अझै रहेको पुष्टि गर्छ। सुमित्रा रावलका शब्दमा, ‘स्वास्थ्य सेवामा पहुँच मात्रै होइन, चेतनाको अभाव पनि ठूलो समस्या हो।’
विद्यार्थीहरूले मोफ्ला र जोगीबाडा गाउँमा गरेको अनुभवले स्थानीय जीवनशैलीको स्पष्ट चित्र प्रस्तुत गरेको छ। प्रशंसा अचार्य भन्छिन्, ‘कोदो, फापर, आलु, गहुँजस्ता खाद्यवस्तु प्रशस्त भए पनि सागसब्जी खाने बानी निकै कम देखियो।’ अर्की विद्यार्थी उर्मिला ओलीले थपिन्, ‘यसले दीर्घकालीन रूपमा पोषण असन्तुलन निम्त्याउने खतरा छ।’
भौगोलिक विकटता र कठोर मौसमले पनि स्वास्थ्यमा प्रभाव पारेको छ। दीपेन्द्र खडायतका अनुसार घाममा कम बस्ने बानीका कारण विशेषगरी महिलाहरूमा भिटामिन डी को कमी व्यापक रूपमा देखियो। विद्यार्थी सरस्वती कार्कीले भनिन्, ‘महिलाहरूमा स्त्रीरोगसम्बन्धी समस्या पनि उल्लेखनीय रूपमा देखिएको थियो।’
कार्यक्रम सञ्चालनका क्रममा दुर्गम बस्तीमा पुग्न निकै कठिनाइ भएको विद्यार्थीहरूले बताएका छन्। विद्यार्थी राजेश पाण्डे भन्छन्, ‘सडक सुविधा नभएका कारण केही गाउँसम्म पुग्न घण्टौं पैदल हिँड्नुपर्यो।’ अर्का विद्यार्थी सुलभ खनालका अनुसार स्वास्थ्य संस्था टाढा हुनु र औषधि उपलब्ध नहुनु स्थानीयका लागि ठूलो समस्या हो।
यद्यपि चुनौतीका बीच पनि समुदायको सकारात्मक पक्षले सबैलाई प्रभावित बनाएको छ। विद्यार्थी आनन्द कुमार सिंह भन्छन्, ‘स्थानीय बासिन्दाहरूको आत्मीयता र सहयोगले काम गर्न सहज भयो।’ अर्की विद्यार्थी प्रेक्षा न्यौपानेले भनिन्, ‘समुदायमा श्रमदान र सहकार्यको भावना अझै बलियो रहेछ।’
कार्यक्रममा संलग्न प्राध्यापकहरू कमलबहादुर बुढा र ओम प्रकाश काफ्लेले विभिन्न वडामा पुगेर प्रत्यक्ष अनुगमन तथा सहजीकरण गरेका थिए। कमलबहादुर बुढाले भने, ‘विद्यार्थीहरूले कठिन परिस्थितिमा पनि उत्कृष्ट प्रदर्शन गरेका छन्, यो उनीहरूको व्यवहारिक सिकाइका लागि महत्वपूर्ण अवसर हो।’
स्थानीय तहका जनप्रतिनिधिहरूले पनि कार्यक्रमको प्रशंसा गरेका छन्। गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले आगामी दिनमा यस्ता सहकार्यलाई अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दै भने, ‘विद्यार्थीहरूको योगदानले समुदायमा सकारात्मक सन्देश पुगेको छ।’
स्वास्थ्य संयोजक रतनबहादुर रावत र सहजीकरणकर्ता गोविन्द भण्डारीको सक्रिय भूमिकाले कार्यक्रम सफल बनाउन महत्वपूर्ण योगदान दिएको बताइएको छ। त्यस्तै, एक्टिङ असिस्टेन्ट डिन निशान्त लामाले यस कार्यक्रमलाई “समुदायस्तरमा अत्यन्तै प्रभावकारी पहल” भन्दै आगामी दिनमा प्राथमिकता दिने बताएका छन्।
समग्रमा, हिमा गाउँपालिकामा सञ्चालन गरिएको यो स्वास्थ्य तथा पोषण अभियानले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा विस्तार, जनचेतना अभिवृद्धि र विद्यार्थीहरूको व्यवहारिक सिकाइमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।
हिमा गाउँपालिकाका स्वास्थ्यकर्मी शुक्रराज शाहीले यी सम्पूर्ण बिरामीलाई हामी स्वास्थ्य संस्थामा उपचार गर्ने बताए। उनले भने, ‘थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाउनेछौं।’
साथै कर्णाली स्वास्थ्य विज्ञानको जनस्वास्थ्य महाविद्यालयका सहायक डीन शेसान्दन सन्जेलका अनुसार जुम्ला र जुम्ला बाहिर समुदायमै पुगी स्वास्थ्य सेवा दिन प्रयास गर्ने बताए।
‘जन स्वास्थ्य विषयका लागि समुदाय भनेको नै ल्याब हो,’ उनले भने, ‘त्यसैले विद्यार्थीहरूलाई क्लासमा सिकाइएका कुरालाई समुदायमा गएर प्राक्टिकल गराउने भरपुर प्रयास गर्नेछु।’
उनले विद्यार्थीले समुदायसँग बनाएको सम्बन्ध र देखाउको सहानुभूति र उनीहरूको संस्कार, जीवनशैली तथा आवश्यकतालाई बुझेर गरेको कामले जनस्वास्थ्यको वास्तविक मर्म झल्काएको बताए।















