शनिबार, १० आश्विन, २०८३

जय नेपाल पार्टी जुम्लाको सभापतिमा अंगत प्रसाद देवकोटा

जय नेपाल पार्टी जुम्लाको जिल्ला सभापतिमा अंगत प्रसाद देवकोटा चयन भएका छन्। पार्टी जिल्ला कार्यसमितिको गठनसम्बन्धी निर्णयअनुसार देवकोटाको नेतृत्वमा १३ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको हो।

जय नेपाल पार्टी जुम्ला जिल्ला कार्यसमितिले जारी गरेको विज्ञप्तिअनुसार असोज ९ गते जुम्लामा भएको भेलाले जिल्ला कार्यसमिति गठन गर्ने निर्णय गरेको हो। कालीबहादुर महतको अध्यक्षतामा भएको भेलामा पार्टीका केन्द्रीय सदस्य बेदबहादुर शाही र मनसुर सुनारको उपस्थिति तथा सक्रिय सहभागिता रहेको विज्ञप्तिमा उल्लेख छ।

भेलामा पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा सदस्यहरूको सहभागिता थियो। जिल्ला संगठनलाई व्यवस्थित, सुदृढ र प्रभावकारी बनाउने विषयमा छलफलपछि जिल्ला कार्यसमिति गठन गर्ने निर्णय सर्वसम्मत रूपमा गरिएको पार्टीले जनाएको छ।

नवनिर्वाचित जिल्ला कार्यसमितिको उपसभापतिमा लली शाह र पाण्डव शाही चयन भएका छन्। सचिवमा राज गिरी, कोषाध्यक्षमा डिल्ली खत्री र सहसचिवमा खुम्बी रावल चयन भएका छन्।

त्यस्तै, जिल्ला कार्यसमिति सदस्यमा पूर्णबहादुर खत्री, सगुन सार्की, लालबहादुर शाही, धनबहादुर सार्की, तुल तिरुवा, बजारे सार्की र गौर कामी रहेका छन्।

पार्टीले नवनिर्वाचित कार्यसमितिले जय नेपाल पार्टीको नीति, विधान तथा निर्णयअनुसार जुम्लामा संगठन विस्तार, जनसम्पर्क तथा पार्टीका गतिविधिलाई व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको जनाएको छ।

भेलापछि जारी धन्यवाद ज्ञापनमा केन्द्रीय सदस्य बेदबहादुर शाही र मनसुर सुनारको उपस्थितिका साथै मार्गदर्शन र सक्रिय सहभागिताका लागि धन्यवाद व्यक्त गरिएको छ। साथै भेलामा सहभागी नेता, कार्यकर्ता, शुभेच्छुक तथा सदस्यहरूप्रति पनि पार्टीले आभार व्यक्त गरेको छ।

भेलाका अध्यक्ष कालीबहादुर महतले नवनिर्वाचित जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई बधाई तथा शुभकामना दिँदै संगठनलाई एकताबद्ध, अनुशासित र प्रभावकारी रूपमा अघि बढाउन आग्रह गरेका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार