व्यापारीमा इमान्दारिता, जवाफदेहिता र नैतिकता हुनुपर्छ। तर, यहाँ त व्यापारको नाममा ठगी मौलाएको छ। भन्ने बेला व्यापारी, गर्ने चाहिँ ठगी। व्यापारीलाई सर्वसाधारणलाई मुर्गा बनाएर आफू कमाउनु छ।
नेपालीको प्रमुख चाड दशैं नजिकिँदै छ। दशैं आउन अब दुई महिना मात्र बाँकी छ। पोहोरसम्म व्यापारीहरूले दशैं आउनुभन्दा तीन–चार महिना अगावै सामानहरू मगाउँथे। रेडिमेड लत्ताकपडा, झोला, जुत्तालगायतका सामान धमाधम गरिन्थ्यो। तर, यसपाला भने अवस्था फेरिएको छ।
दशैं मुखमा आइसकेको छ, तर व्यापारीहरूले अहिलेसम्म नयाँ सामान आयात गरेका छैनन्। कारण– पुरानै स्टक बाँकी हुनु र सामान ल्याउन पैसाको अभाव हुनु हो। दशैं ठूलो चाड हो। दशैंमा नयाँ लुगा लगाउने चलनछल्ती छ। जसका कारण बजारमा अत्यधिक लत्ताकपडाको खपत हुन्थ्यो।
दशैं व्यापारीका लागि एउटा कमाउने मौका हो। वर्षभरिको कारोबारभन्दा बढी कारोबार व्यापारीले दशैंमा गर्छन्। चीनबाट सय रुपैयाँमा ल्याएको सामान महाबौद्ध, न्यूरोडलगायतका होलसेल व्यापारीले तीन सयमा बेच्छन्। त्यही सामान पसलमा ल्याएर खुद्रा व्यापारीहरूले हजार–१५ सयमा बेच्छन्।
यद्यपि, कमाउने मौकामै व्यापारीहरू हात बाँधेर बसेका छन्। किनकि, बजार डामाडोल छ भन्ने कुरा उनीहरूले पनि राम्ररी बुझेका छन्। सर्वसाधारणसँग पैसा छैन। जसका कारण नयाँ सामान हाल्न उनीहरू डराएका छन्। ‘पोहोरकै सामान नबिकिरहेको अवस्थामा नयाँ सामान हालेर के गर्नु?’ भन्ने मनशाय धेरै व्यापारीमा देखिएको छ।
सर्वसाधारणले खुद्रा व्यापारीबाट सामान किन्छन्। तर, खुद्रा व्यापारीकहाँ नै बिक्री नभएकाले नयाँ सामान लिन होलसेल जानेहरू घटेका छन्। सामान किन्न खुद्रा व्यापारी नआएपछि होलसेल व्यापारीले नयाँ सामान नमगाएका हुन्।
व्यापारीहरूले विगतदेखि नै उपभोक्तालाई ठग्दै आएका छन्। सस्तोमा सामान ल्याएर महँगोमा बेचिन्छ। न होलसेल व्यापारीले भ्याट बिल दिन्छन् न खुद्रा व्यापारीले। लुगामा व्यापक ठगी हुन्छ भन्ने कुरा सर्वसाधारणले राम्ररी बुझिसकेका छन्। व्यापारीले सस्तोमा ल्याएर आफूहरूलाई दोब्र्याइरहेको छर्लङ्ग भएको छ।
पहिले दिनकै पचासौं हजारको व्यापार गर्ने पसलहरूमा अहिले सुख्खाराम लागेको छ। दिनको हजार–१५ सयको व्यापार गर्न पनि महामुस्किल छ। भनिन्छ नि, जबसम्म सच्चाई बाहिर आउँदैन, तबसम्म पनि ठग्ने हो। व्यापारीको हकमा पनि त्यस्तै भएको छ। हिजो व्यापारीले व्यक्ति छानिछानि ठगे। अहिले त्यसको परिणाम भोग्दै छन्।
व्यापारीहरूले सर्वसाधारणलाई त लुटे, सरकारलाई पनि छोडेनन्। सर्वसाधारणबाट एउटा सामानमा हजारौं रुपैयाँ नाफा खाने अनि राज्यलाई कर पनि नतिर्ने। कुनै बेला सामान किन्नका निम्ति पसलभित्र गएर लाइन बस्नुपर्थ्यो। होटलमा समेत घण्टौं कुर्नुपर्थ्यो। तर, परिस्थिति फेरिएको छ। व्यापारीहरू बोलाईबोलाई ग्राहकलाई आफ्नो पसलमा लैजान्छन्।
मुलुकका नाम चलेका सुपरमार्केटहरूको पनि अवस्था उस्तै छ। पहिलेको तुलनामा ग्राहक आधा घटिसकेको छ। यस्तो हुनुको प्रमुख कारण कम गुणस्तरता र अत्यधिक चर्को मूल्य हो। सुपरमार्केटहरूमा लुगा छोइनसक्नु छ। व्यापारीको नियत नै ठग्ने भयो। जसरी भए पनि ठग्ने अनि आफू मोटाउने।
व्यापारीमा इमान्दारिता, जवाफदेहिता र नैतिकता हुनुपर्छ। तर, यहाँ त व्यापारको नाममा ठगी मौलाएको छ। भन्ने बेला व्यापारी, गर्ने चाहिँ ठगी। व्यापारीलाई सर्वसाधारणलाई मुर्गा बनाएर आफू कमाउनु छ। अनि त्यो लुटको धन्दा कतिञ्जेल चल्छ? लुटको अनुहार कहिले न कहिले त बाहिर आइहाल्छ।
व्यापारीहरूले यत्रो वर्ष ठगे, अहिले उनीहरूको सत्यता बाहिर आएको छ। जसको असर व्यापारीहरूले अहिले भोगिरहेका छन्। व्यापार सुकेपछि व्यापारीहरू सटर छोड्ने निर्णयमा पुगेका छन्। दशैंसम्म हेर्ने, त्यसपछि पनि व्यापार फस्टाएन भने सटर छोड्ने मनशायमा उनीहरू पुगेका छन्।
व्यापारीहरू बरु व्यापार छोड्न तयार भए तर कम नाफा खाएर सामान बेच्न उनीहरू तयार छैनन्। एउटै सामानबाट उनीहरूलाई दशौं सामानको पैसा उठाउनु छ। त्यसैले त व्यापार खस्किँदै गयो। सर्वसाधारणको नजरमा व्यापारीहरू ठग बन्दै गए।
बजार अनुगमनको लागि थुप्रै निकाय छन्। तर, कसैले पनि बजार अनुगमन गर्दैनन्। कुन सामानको रेट कति? मूल्य पनि निर्धारण गर्दैन। खुला अर्थतन्त्र भनेर छाडा छोडिएको अवस्था छ।
एउटा रोचक कुरा छ, नेपाल उद्योग व्यवसायी महासंघ संस्था ऐन २०१८ अन्तर्गत दर्ता भएको छ। त्यसको छाता संगठनहरू संस्था ऐन २०३४ अन्तर्गत दर्ता भएका छन्। यो ऐनमा दर्ता भएका उद्योगले कर तिर्नुपर्दैन। यहाँ उद्योग, कलकारखाना छैन तर आफूलाई उद्योग व्यवसायी भन्दै हिँडेका छन्।
उद्योग व्यवसायीमा वास्तवमै कति उद्योग छ? विवरण सार्वजनिक गर्नुपर्छ। किनकि सुनदेखि नुन, जनैदेखि गुन्द्रुकसम्म विदेशबाट आयात हुन्छ। बाहिरबाट सामान आयात गरेर बिक्री गर्ने अनि आफूलाई उद्योग व्यवसायी भन्छन्। उद्योग व्यवसायी महासंघ हुनका लागि उद्योग मन्त्रालयमा दर्ता हुनुपर्छ। संस्था ऐन गृह मन्त्रालयअन्तर्गत छ। उद्योग व्यवसायीले कर छल्नका लागि त्यसो गरेका हुन्। आफैं कर छल्ने अनि हामी बनाउँछौं देश भन्दै हिँड्ने।
योभन्दा बढी नौटंकी के होला? उद्योग व्यवसायीहरू दलाल हुन्। नेपालमा सियोसम्म बन्ने कारखाना छैन। अरूको देशमा बनेको सामान किन्ने अनि बीचमा बसेर कमिसन खाने।
देशमा पटकपटक राजनीतिक परिवर्तन भयो। तर, पञ्चायत कालमा ल्याइएको संस्था ऐन अहिलेसम्म परिवर्तन गरिएको छैन। पुरानै ऐनले मुलुक चलिरहेको छ। जनताले पटकपटक मतदान गरेर सांसदलाई कानुन बनाउने ठाउँमा पुर्याए। तर, पुरानो ऐन खारेज गरेर नयाँ ऐन ल्याउन चासो देखाइएको छैन। न कुनै जनप्रतिनिधिले आवाज नै उठाए।
सो ऐनमा संस्था दर्ता गर्ने, राजनीतिक पार्टीको झोला बोक्ने अनि आफूलाई व्यवसायी भन्दै हिँड्ने। सबै महासंघ र त्यसका छाता संगठन यही ऐनमा दर्ता भएका छन्। कर नतिर्ने अनि महासंघ खोलेर नेता बन्दै हिँड्ने।
पञ्चायत कालमा बनेको ऐन लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था आएको डेढ दशक बितिसक्दा पनि परिवर्तन गर्न नसक्नु लाजमर्दो छ। यसले जनप्रतिनिधि कतिसम्म ‘कामचोर’ छन् भन्ने प्रष्ट पार्छ।
जनतासँग काम छैन। काम गरेको ठाउँमा पनि पैसा नपाइरहेको अवस्था छ। दालभात खानै पैसा छैन भने लुगा कसले किन्छ? बुढापाकाले भन्थे, ‘व्यापारीले खोज्छ दाउ, उपभोक्ताले खोज्छ भाउ।’ एउटा सामानमा घटाएकोजस्तो गरेर व्यापारीले अर्को सामानबाट असुल्छ।
बजारमा भएको ठगीको अन्त्य गर्ने र राजश्व असुल गर्ने हो भने सरकारले तीव्र रूपमा बजार अनुगमन गर्नुपर्छ। बिल नदिने व्यापारीलाई कारबाही गर्नुपर्छ। पैसा नहुनेलाई के दशैं, के तिहार। ‘दुई छाक टार्न समस्या परिरहेको अवस्थामा जनताले कहाँबाट नयाँ लुगा किन्नु?
पहिले–पहिले व्यापारीहरू दशैं कुरेर बस्थे। किनकि दशैंमा राम्रो आम्दानी हुन्थ्यो। लाखदेखि करोडसम्मको व्यापार गर्थे व्यापारीहरू। सरकार कानमा तेल हालेर बसे पनि जनतामा चेतना आएको छ।















