शुक्रबार, २१ कार्तिक, २०८२

खस साम्राज्यका राजाहरूको सामान्य परिचय -भाग दुई

पूर्ख्यौली वृतान्त

खस साम्राज्यका राजाहरूले मध्यकालीन नेपालमा जुम्लालाई केन्द्रबिन्दु मानेर पश्चिम क्षेत्रमा शासन गरेका थिए । उनीहरूले तत्कालीन समयमा कला, संस्कृति र साहित्यका साथै व्यापार र कूटनीतिमा महत्वपूर्ण योगदान गरेका थिए । यस साम्राज्यका राजाहरूले विशेष गरी सैनिक शक्ति विस्तार र धार्मिक सहिष्णुतालाई प्राथमिकता दिएको देखिन्छ ।

८. जितारी मल्ल
जितारी मल्ल राजा अशोक चल्लका छोरा हुन् । अशोक चल्लको मृत्युपछि यिनी राजा भएको साक्षी दुल्लुस्थित कीर्तिखम्ब, तिब्बती वंशावली, श्रीपाली वंशावलीले पुष्टि गरेको छ । अशोक चल्लको लगत्तै जितारी मल्ल देखिएकाले यस सम्बन्धमा कुनै विवाद छैन । नेपालको स्रोतमा खश साम्राज्यको उल्लेख जितारी मल्लपछि मात्रै भएको छ । काठमाडौंमा उनले एक पटक मात्र होइन तिन पटकसम्म आक्रमण गरेका थिए । नेपालमा त्यतिवेला राजगद्दीमा अनन्त मल्ल थिए ’चल्ल’ नामधारी राजाहरुका वंशजमा ’ल’ छाडी ’मल्ल धारण गर्ने प्रथम जितारी मल्ल हुन् । यो ’मल्ल’नाम किन धारण गरे भन्ने एउटा छलफलक विषय हो । सम्भवतः जितारी मल्लले पनि सुरुमा चल्ल नै प्रयोग गर्दथे, गोपाल राजवंशावलीले उनलाई ’जयतारि’ मात्रै भनेको छ । तर, पछिल्ला खश राजाहरूका नाममा ’मल्ल’ झुन्ड्याइएको पाइन्छ । कीर्तिखम्बमा पनि जितारीदेखि मल्ल नामधारण गरेका राजाहरू पाइन्छन् ।

नेपाल मण्डलमा त्यतिबेला ’देव’ र ’मल्ल’ नामधारी दुई राजवंशले पालैपालो गरी राज्य शासन सञ्चालन गर्दथ्यो । देव नामधारीहरू खश राजाहरूकै मित्रशक्ति थिए भने मित्रशक्तिको सहयोगार्थ खश राजाहरू ’मल्ल’ नामधारी राजवंशविरुद सैन्य अभियानमा आउँथे । मल्लहरू सम्पन्न, शक्तिशाली, र प्रतिष्ठित भएपनि तिनीहरूलाई पराजित गर्नसकेका कारण जितारीले मल्ल पद लिएका हुन् । त्यतिबेला पराजयीको थर धारण गरी आफ्नो गौरव बढाउने प्रचलन पनि रहेको पाइन्छ । खस साम्राज्यभित्र यो मल्ल पद धेरै प्रतिष्ठित विषय बनेको पुण्य पालबाट पुण्य मल्ल बनेको र डोटीका सामन्त निरय पालका छोरा नाग पाल स्वतन्त्र डोटी राज्यको राजा हुनेबित्तिकै पाल छाडेर मल्ल भएबाट पनि यो बुझिन्छ ।

९. रिपु मल्ल
राजा जितारी मल्लको मृत्युपछि नियमतः उनका प्रथम पुत्र अक्षय मल्ल गद्दीमा बस्नुपर्ने हो । दुल्लु कीर्तिखम्बमा जितारी मल्लका जेठा छोरा अक्षय मल्ल राजगद्दीका उत्तराधिकारीका रूपमा रहेको देखिन्छ । माहिलो छोरा आदित्य मल्लको नाम पनि उल्लेख पाइन्छ । अक्षय मल्ल नभए पनि राजागद्दीको हकदार आदित्य मल्ल हुँदाहुँदै रिपु मल्ल कसरी राजा भए भन्ने सम्बन्धमा गम्भीर प्रश्न खडा भएको छ । उनी जितारी मल्लका भतिजा हुन्, अर्थात् राजा जितारी मल्लका भाइ आनन्द मल्लको छोरा । अक्षय मल्ल राजगद्दीमा नजानु, त्यही बेला आदित्य मल्ल तिब्बतको शाक्यमठमा गई भिक्षु हुनुले त्यस्तो प्रश्न खडा गरिएको हो । रिपु मल्लबाट आफ्नो उत्तराधिकारीका रूपमा अघि सारिएका छोरा सङ्ग्राम मल्ल पछि राजा नभई पुनः अक्षय मल्ल र उनीपछि भाइ आदिल्य मल्ल राजा हुन आएबाट बुझिन्छ, त्यहाँ सत्ता सङ्घर्षमा ठुलो उतारचढाव आएको देखिन्छ तर त्यससम्बन्धमा प्रकाश पार्ने रिपु मल्लको शासनकाल शाके १२३४ देखि १२३५ (ई.सं. १३१२ देखि १३१३) सम्म मात्रै हो । छोटो शासनका बिच प्राप्त सामग्रीअनुसार नै पनि उनी प्रभावशाली भएको र यही प्रभावको बलले राजगद्दीमा चढ्न सफलता प्राप्त गरेको देखिन्छ । गोपाल वंशावलीमा उनलाई ’ खशिया राजा’ भनिएको छ भने तिब्बतको वंशावलीले ’धेरै भारतीय राज्यको अधिपति’ का रूपमा चित्रण गरेको छ । ’राजराजेश्वरी … श्रीरिपु मल्ल राज्ये“ लेखिएको छ । यसरी नै सिंजा सेराको अभिलेखमा ’रिपु मल्लेन भूभुजा’ (पृथ्वीपालक रिपु मल्लबाट) भन्ने उल्लेख छ ।

राजा रिपु मल्लमा राजनीतिक चातुर्य मात्र नभई विद्वान् र धार्मिक स्वभाव पनि देखिन्छन् । उनी सहयोगीहरूका साथ नेपाल मण्डलको भ्रमण गरी विभिन्न बौद्ध स्थलहरूको दर्शन गरेको उल्लेख पाइन्छन् । नेपाल मण्डल जाँदा वा फर्कने बेला यिनी आफ्नो सहयोगीका साथ गौतम बुद्धको जन्मस्थल लुम्बिनी र गृहनगर कपिलवस्तु पनि पुगेको ऐतिहासिक सामग्रीहरूबाट स्पष्ट हुन्छ ( त.स. ४६–४७ र ४९–५०) । लुम्बिनी अभिलेखमा छोरा सङ्ग्राम मल्लको नाम आफूसँगै कुँदाएबाट आफूपछि राज्यको हकदार छोरालाई नै बनाउन चाहन्थे भन्ने बुझिन्छ । यात्रामा सङ्ग्राम मल्ल साथमा थिए वा थिएनन् भन्ने कुरा खुलेको छैन् ।

राजकुमार प्रताप मल्लका ४ भतिजा आदित्य मल्लका छोरा हुन् (जो पछि भिक्षु बन्न गए) भने राजकुमार सङ्ग्राम मल्ल राजा रिपु मल्लका आफ्नै जेठा छोरा हुन् । निग्लिहवाको अभिलेखमा रिपु मल्लले राजकुमार सङ्ग्राम मल्लको नाम उल्लेख गरिएको छ ।

१०. अक्षय मल्ल
राजा जितारी मल्लपछि उत्तराधिकारी अक्षय मल्ल छँदाछँदै रिपु मल्लले राजगद्दी हत्याएको स्पष्ट छ । तर, शासन गरेको दुई वर्षपछि नै ती राजाको मृत्यु भयो वा अन्य नै कारणले यिनको नाम राजनीतिक पटलबाट हराउँछन् । यिनका छोरा सड्गाम मल्लको पनि कहिँकतै उल्लेख पाइँदैन । सम्भवतः शक्ति सड्घर्षको क्रममा जितारी मल्लका जेठा छोरा अक्षय मल्लले ती दुबै बाबु छोरालाई राजनीतिक पटलबाट सदाका लागि हटाई पुनः पैतृक राजगद्दी हात पार्न सफल भएको देखिन्छ ।

अक्षय मल्ल राजा बनेको एक वर्षभित्रै भाइ आदित्य मल्ल राजाका रूपमा देखा परिसकेका कारण यिनको शासन छोटो देखिन्छ तर, राजनीतिक क्षेत्रमा यिनको सक्रियता बाजे अशोक चल्लदेखि नै भएको देखिन्छ । अछाम खापरमाडौंमा प्राप्त शाके १९९२ (ई.सं. १२७०) को दानपत्रमा यिनी महासामन्तको हैसियतमा थिए । अछाम विनायक पञ्चदेवलको शाके १२०२ (ई.सं. १३८०) को शिलालेखमा पनि केवल ’श्रीमतअछेजमल्लदेव’ भएबाट तत्कालिन सम्राटको निकट सहयोगी एवम् अधिकारीका रूपमा उल्लेख भएको पाइन्छ । अछाम, सुर्खेत भेककै सुरक्षाका लागि यिनी खटिएको देखिन्छ । बाजे अशोक चल्ल र बाबु जितारी मल्लको प्रभावपूर्ण शासनलाई यिनले नजिकबाट नै देख्न पाएका थिए । सुर्खेत राम्रीकाँडाको अभिलेखमा शाके १२३७ (ई.सं. १३१५) मा ’राजाधिराज जक्षदेव मल्ल’ उल्लेख भएबाट यिनी राजा हुन सफल भएको देखिन्छ । राजनीतिक क्षमताले गुमेको पैतृक राजगद्दीलाई रिपु मल्लबाट पुनः हात पार्न यिनी सफल देखिए । सम्भवतः यिनको देहान्त भयो वा देहान्त हुनुअघि नै राज्यसत्ता पुनः अरूको हातमा नपरोस् भनी भिक्षु भएर गएका भाइ आदित्य मल्ललाई बोलाएर राजगद्दीमा राखेको देखिन्छ ।

११. आदित्य मल्ल
आदित्य मल्ल राजा जितारी मल्लका कान्छा छोरा हुन् । दाजु अक्षय मल्लको निधनपछि यिनी राजा बनेका थिए । शाके १२२१ (ई.सं. १२९९) को दुल्लुबाट प्राप्त अभिलेखमा उनलाई राजा भनिए पनि त्यतिबेला उनी राजा नभई श्रीनाथ रावतले आफनो मालिक राजकुमारलाई बढी नै आदर गर्ने क्रममा ’राजा’ भन्न हैसियतमा मात्रै देखिन्छन् । गद्दीमा अर्कै राजा भएपनि अभिलेख राख्ने श्रीनाथ पुगेको मात्र देखिन्छ ।

तर, अभिलेखको विवरणलाई त्यत्तिकै छाड्नुभन्दा सक्दो विश्लेषण गर्नुपर्ने देखिन्छ । यही एउटा अभिलेखले पनि आदित्य मल्लको पृष्ठभूमि जान्नमा सघाउने हुन्छ । जसरी राजगद्दीमा अक्षय मल्ल थोरै मात्र बस्न पाएपनि राजकुमार हुँदै राज्य शासनको अभ्यासमा बाजे अशोक चल्लदेखि सक्रिय नै रहेको प्रमाण पाइन्छ । त्यसरी नै यिनी पनि सक्रिय नै हुनाका कारण र श्रीनाथ रावतले यस अभिलेखलाई राजा भनी सम्बोधन गरेको देखिन्छ । दाजुजस्तै यिनलाई पनि महत्त्वपूर्ण जिम्मेवारी दिएको हुनु पनि धेरै सम्भव छ । जितारी मल्लपछि रोलक्रमअनुसार दाजु अक्षय मल्ल राजा हुनु पर्ने हो तर त्यसको ठाउँमा हठात् रिपु मल्ल देखा परेको पाइन्छ । रिपु मल्लले आफ्नो उत्तराधिकारीका रूपमा सङ्ग्राम मल्ललाई आगाडि सारेको पनि अनुमान हुन्छ । यस घटनाक्रमबाट त्यसबखत सत्ता सड्घर्षमा ठूलै घटना भएको देखिन्छ ।

सम्भवतः यस द्वन्द्वका बेला अक्षय मल्ल चुप लागेर बसे भने आदित्य मल्ल सुरक्षाका लागि तिब्बत बस्न जाने क्रममा सक्य मठमा भिक्षु भएर बसे । यस अनुसार उनको भिक्षु जीवन लामो नरहेको देखिन्छ । रिपु मल्लले दुई वर्ष मात्रै राज्य गरेको पाइयो भने त्यसपछि अक्षय मल्लले राजगद्दी प्राप्त गरेको पाइन्छ । आफू जीवित नै हुँदा भाइ आदित्य मल्ललाई सक्य मठबाट फिर्ता बोलाएर राजा बनाए वा मृत्युपछि राज्याभिषेक गरिए, वर्षदिनपछि नै यस घटनाको विकास भएको र यो कुराको विवरण तिब्बती वंशावलीमा परेको छ ।

आदित्य मल्लका ई.सं. १३१६ देखि १३२८ भित्रका अभिलेख पाइएबाट उनको राज्यकाल १२ वर्ष भएको बुझिन्छ । उनको राज्य कालमा भएका गतिविधि मात्रै हेर्ने हो भने पनि उनमा राजोचित गुण प्रसस्त मात्रामा रहेको देखिन्छ । रुइला गाउँ (हाल तिब्बत) स्थित तेका पेमा छोलिङ गुम्बा (ताघवाई गुम्बा) बाट प्राप्त राजा आदित्य मल्लको अभिलेख चर्चित छ । उक्त गुम्बाको व्यवस्थापन गर्न एक व्यक्तिलाई जिम्मा दिनुका साथै गुम्बाको सुरक्षाको प्रत्याभूति दिएको उक्त ताम्रपत्रबाट बौद्ध धर्मलाई संरक्षकत्व दिँदै आएको राजकीय परम्परालाई यी राजाले पनि निरन्तरता नै दिएको देखिन्छ ।

आदित्य मल्लको शासन काल पनि सुदृढ नै रहेको देखिन्छ । नेपाल मण्डलमा खश पक्षीय शासकलाई समस्या आएको थाहा पाएर सैन्य सहायता पठाउने काम यी राजाबाट पनि भएको थियो । पहिलो पल्टको सैन्य कारवाही ठुलो मात्रामा भएको उल्लेख पाइन्छ । दोस्रो पल्टमा आदित्य मल्ल स्वयं नेपाल मण्डल पुगी तिरहुत पक्षलाई दबाई आफ्नो पक्षीय शासकहरूलाई सघाएको विवरणले थप ऐतिहासिक पुष्टि गर्दछ । राजा आदित्य मल्लले छोरा कल्याण मल्ल राजा नहुँदै दिवंगत भएको र नाति प्रताप मल्ल राजपाट सम्हाल्नु भन्दा भिक्षु हुन रुचाएकाले छोरी ज्वाइँ पुण्य मल्ललाई उत्तराधिकारी बनाएको पनि पाइन्छ ।

१२. पुण्य मल्ल
दुल्लुस्थित पृथ्थी मल्लको शिलालेखमा राजा आदित्य मल्लका नाति उत्तराधिकारी प्रताप मल्ल भएको उल्लेख भएपनि उनी राजा भएको कही कतै जानकारी छैन् । राजा आदित्यमल्लका छोरा कल्याण मल्ल राजकुमार हुँदै दिवंगत भएका कारण उत्तराधिकारीको अभाव खड्Þकियों । नागराजदेखि चल्दै आएको राजपरम्परा टुट्न गएको देखिन्छ । राजपरम्परा सम्हाल्नका लागि आदित्य मल्लले आफ्ना ज्वाई पुण्य पाललाई नै उत्तराधिकारी घोषणा गरेको देखिन्छ । खसराजाहरुका उत्तराधिकारी हुनुपूर्व उनी गेला क्षेत्रका सामन्त थिए । समाजमा प्रचलित ’घरहाल्ने’ प्रथा अनुसार ज्वाईलाई ससुराली घर दिई आफ्नोमा ल्याउने हो र यस प्रथाअनुसार पुण्य पाललाई पुण्य मल्ल बनाएको पनि प्रमाण भेटिन्छ ।

राजा पुण्य मल्लले शक सम्बत १२५० देखि १२५९ (ई.स. १३२८–१३३७) सम्म जम्मा नौ वर्ष राज्य गरेको देखिन्छ । यस बिच प्रसार भएका उनका तिनवटा ताम्रपत्र र कनकपत्र प्राप्त भएका छन् । यिनको राज्यकालमा पनि खश साम्राज्य समृद्ध नै भएको र यिनी ज्यादै शुर–वीर तथा विजेता भएको ऐतिहासिक प्रमाणबाट स्पष्ट हुन्छ । तर, प्रशस्तिमा लेख्ने गरिएजस्तो कोंकण, कर्णाट, लाट, मुरल, केरल, डहाल, अंग, वंग, कलिङग, मिथिल, मालव, नेपाल, गर्जुर, जालन्धर, आंध्रजस्ता राज्यहरू मिचेका भने थिएनन् । प्रशस्तिमा लेखकले आफूलाई थाहा भएजति देशहरूको नाम उल्लेख गरेर ती जम्मैको अधिपति वा दबाएको भनी लेख्ने प्रवृत्ति अन्य देश र राजाहरूमा पनि देख्न पाइन्छ । पुण्य मल्लका दुई छोरा श्री मल्ल र पृथ्वी मल्ल र चन्द्रमाला नाम गरेकी एउटा छोरी पनि थिइन् ।

१३. पृथ्वी मल्ल
राजाका जेठा छोरा राजगद्दीको उत्तराधिकारी हुने परम्परा अनुसार राजा पुण्य मल्लपछि श्री मल्ल राजा हुनु पर्ने हो तर माहिला छोरा पृथ्वी मल्ल राजाका रूपमा देखा पर्दछन् । यस सम्बन्धमा सत्यमोहन जोशी आदित्य वंशका क्रममा पछि गेला वंशका नामले देखापर्ने तथा नागराज वंशका निःसन्तानी राजा प्रताप मल्लको अपुताली राज्य भेटाउने पुण्य मल्लका छोरा ’श्री मल्ल’ नै नागराजको वंशक्रममा देखापर्ने ’पृथ्वी मल्ल’ हुन्, अन्यथा एउटै राजाको एउटै शिलास्तम्भमा (त्यो पनि पृथ्वी मल्लकै) अग्रभागमा राजा पुण्य मल्ल र रानी शकुमालाको तर्फबाट श्री मल्ल जन्मे भनेर अङ्कित गर्नु, त्यही शिलास्तम्भको पृष्ठभागमा राजा पुण्य मल्ल र रानी शकुनमालाको कोखबाट पृथ्वी मल्ल जन्मे भनेर अङ्कित गर्नु पर्ने खण्ड नै आइपर्दैन भन्ने ’श्री गल्ल’ र ’पृथ्वी मल्ल’ एकै व्यक्ति हुनसक्छ भनेका छन् (जोशी २०२८÷७६) । जुन अभिलेखको आधारमा यस्तो भनिएको हो त्यही अभिलेखमा ’श्री मल्ल नायधेयोस्तिप्रभमस्तनयो तयो’ अर्थात ’श्री मल्ल नाम गरेका तिनका जेठा छोरा भए’ भनिएबाट यहाँ पहिलो श्री मल्ल र दोस्रो पृथ्वी मल्ल देखिन आउँछन् । तर राजा नभई श्री मल्लको मृत्यु भएका कारण राजगद्दीको उत्तराधिकारी पृथ्वी मल्ल हुन पुगेर अभिलेख लेखाउने बेलामा दाजुको नाम लेखाउन उनले नभुलेको बुझन सकिन्छ । कालिकोट बत्तीसगाउँको शाके १२६० (ई.सं. १३३८) को शिलालेख अनुसार त्यतिबेला पृथ्वी मल्ल राजाका रूपमा देखा पर्न थाल्छन् र जीवनको अन्तिम समयमा राजकाजबाट विरक्त भई बौद्ध भिक्षु बन्न गएको पनि भेटिन्छ । राजाका रूपमा शाके १२८० (ई.सं. १३७८) सम्मका अभिलेख पाइएकाले उनी २० वर्षसम्म राजा भएको देखिन्छ ।

राजा पृथ्वी मल्लका दर्जनभन्दा बढी अभिलेख पाइएका छन् । ती अभिलखेहरूका अध्ययनबाट नागराज तथा उनका उत्तराधिकारीहरूबाट थाम्दै ल्याएको खश साम्राज्यलाई यी राजाले पनि राम्रैसँग थामेको देखिन्छ । यिनको समयमा साम्राज्यको सीमा बिस्तार गर्ने कार्य भएको त देखिदैन तर युद्ध मोर्चाहरूमा गइराख्नु परेको भने स्पष्ट उल्लेख पाइन्छ । यसबाट प्रष्ट हुने कुरा हो– साम्राज्य थाम्नका लागि विद्रोहीहरूलाई पटक पटक नै दबाउनु परेको थियो । पृथ्वीमल्लले आफ्ना लागि प्रयुक्त गरेका विरुदावलीहरूको क्रमशः अध्ययन गरेको खण्डमा पनि पृथ्वी मल्लले क्रमशः विकास गर्दै लगेको थाहा हुन्छ । राज्यारोहण लगत्तैको एउटा अभिलेखमा ’श्रीपृथ्वी मल्लदेवः’ मात्रै भनिएको छ । पछि ’वीरश्रीपृथ्वी मल्ल ख्यातकीर्ति विराजत’,

‘बेतालकोलाहलकाहलिकृतसमरधरणीमंगल’, ‘अदीक्षितराजदीक्षागुरु’, ’राजातारातरणि’, ’परम धार्मिकपरमकल्पद्रुमावतार’ लगायतका विरुदावलीहरूको प्रयोग गरेको पाइन्छ ।

खश साम्राज्यको स्थापना कालदेखि अन्तसम्ममा सबैभन्दा बढी बौद्धिक तथा कलाको गतिविधि पृथ्वी मल्लकै समयमा भएको पाइन्छ । राजा आफै पनि विद्या, धर्म, कला तथा निर्माण कार्यमा औधी रुचि राख्दथे । व्यापार, वाणिज्य पनि फलिफाप नै रहेको पाइन्छ । यही भएर शाके १२७९ (ई.सं. १३५७) मा दुल्लुमा (अभिलेखसहितको एउटा कीर्तिखम्ब स्थापना गरेका थिए । खस साम्राज्यका बारेमा जानकारी दिने यो स्तम्भमा नागराज खारी प्रदेशबाट सिंजा आई जावेश्वर बनेदेखि आफू राजा हुन्जेलसम्म सबैको नाम र संक्षिप्त विवरणसमेत दिएका छन् । अभिलेखको एकापट्टि नागराजको वंशवृक्ष र अर्कोतर्फ पालहरूको विवरण दिइएका छन् । यिनका बाबु पुण्य मल्ल ’पाल’ थिए, तर ’घर हाल्ने’ प्रथाअनुसार घर फोर लेख्नेको नामसम्म नछुटाउने पृथ्वी मल्लले छोरा वा उत्तराधिकारीका सम्बन्धमा भने मल्ल बनेका हुन् । यही भएर आफ्नो पुर्खालाई यहाँ सम्झेका हुन् । अभिलेख आश्चर्यजनक रूपमा मौनता साँधेको पाइन्छ जब कि उक्त अभिलेखमा छोरीको नाम अङ्कित छ । राजा पृथ्वी मल्लको जीवनले अन्तिम समयमा बेग्लै मोड लिएको देखिन्छ । बडो मिहिनेतले थाम्दै ल्याएको साम्राज्य थाम्नै नसकेको अवस्थामा पुगेको थियो ।

नागराजले विशाल साम्राज्य खडा गर्नअघि विरासतको रूपमा पाएको तिब्बतको नागराजदेश त्यतिबेला तिब्बतको अर्कै शासकले आफ्नो भूमि बिस्तार गर्ने क्रममा खोसेर लिइदियो । यसरी नै कुमाऊँ गडवाल पनि स्वतन्त्र भइसकेको थियो । डोटीमा केन्द्रीय सत्ताविरुद्ध भइरहेको विद्रोह पनि दबाउन सक्ने निरय पालको नेतृत्वमा केन्द्रीय अवस्थामा थिएन । यस स्थितिलाई मध्यनजर गर्दै जिसेप टुचीले लेखेका छन्–“(पृथ्वी मल्लको) ठुलो महत्वकाड्क्षा थियो र यसलाई साकार पार्न उनले अथक प्रयास पनि गरे पनि ठुलो विपत्ति सामना गर्नुपर्यो (त्गअजष् २०५६ः११२) ।

१४. सूर्य मल्ल
राजा पृथ्वी मल्लपछि खश साम्राज्यको राजगद्दीमा सूर्य मल्ल देखा पर्दछन् । पृथ्वी मल्लले आफ्नो कीर्तिखम्बमा उत्तराधिकारीका सम्बन्धमा मौनता साँधेको कारण उनी पुत्रविहिन थिए कि भन्ने अनुमान गरिएपछि उनीपछि राजा बन्ने सूर्य मल्ल को हुन् त भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । सूर्य मल्लको परिचय पाउने एक मात्र स्रोत हालसम्म ’श्रीपालीवंशावली’ मात्रै भएको छ । यसमा उनलाई जालन्धरी (जितारी मल्लका भाइ) का नाति तथा रिपु मल्लका माहिला छोराको रूपमा चिनाइएको छ (यात्री, २०४०ः१०) । यस प्रकार सूर्य मल्लबाट नागराजद्वारा स्थापित साम्राज्यमा सोही रक्तको पुरुषले पुनः शासन गरेको तथ्य स्पष्ट हुन्छ ।

उत्तराधिकारीको समस्यालाई भारदारहरूले सूर्य मल्ललाई अघिसारेर समाधान गरेको देखिन्छ । पृथ्वी मल्लको शाके १२८० (ई.सं. १३५८) को दानपत्र र सूर्य मल्लको शाके १२८९ (ई.सं. १३६७) को दानपत्रका दृष्टसाक्षीका रूपमा एउटै व्यक्ति अछामी राउला, शंकरदेव भण्डारी, श्रीब्रम्ह राउला देखिएका कारण दुबै कार्यकालमा भारदारहरू एउटै रहेबाट पनि यस अनुमानलाई बल मिल्छ । पृथ्वी मल्लको समयमा नै समस्या पर्न थालिसकेको खश साम्राज्यलाई सूर्य मल्लले ज्युत्यु बचाउन खोजेको देखिन्छ । उनको उही शाके १२८९ (ई.सं.१३६७) को एकमात्र अभिलेख प्राप्त छ जसमा प्रयुक्त विरुदावलीहरूले केन्द्रीय सत्तामाथि विद्रोह गर्ने सामन्त राजाहरूलाई दवाउनमा नै बढी समय बिताउनु परेको स्पष्ट हुन्छ र खश साम्राज्यलाई विखण्डन हुनबाट जोगाउन अनेकौं प्रयत्न गरेको पनि प्रमाणित हुन्छ । मलय वर्मासँग नै मिल्न गएको देखिन्छ । यिनी मलय वर्माको ज्वाइँ र सहयोगी मात्रै भएनन, पछि राज्य टुक्रा पारी छोराहरूलाई अंशबन्डा गरिदिंदा ज्वाइँका नाताले पनि एक भाग जुम्ला राज्य पाएका थिए । यस प्रकार इसाको बाह्रो शताब्दीमा स्थापना भएको खश साम्राज्य चौधौं शताब्दीको अन्त्यसम्ममा पुग्दा विघटन भई इतिहासमा सीमित हुन पुग्यो ।

१५ं अभय मल्ल
खस साम्राज्यका अन्तिम राजा अभय मल्लको वंशज र शासनकाल निकै विवादास्पद छ। उनी कसका छोरा थिए भन्नेमा इतिहासकारहरूबीच मतभेद छ। केहीले उनलाई पृथ्वी मल्लको छोरा भन्छन्, तर यसको ठोस प्रमाण छैन । खासगरी पृथ्वी मल्लले आफ्नो अभिलेखमा अभय मल्लको नाम उल्लेख नगरेकोले यो भनाइ कमजोर मानिन्छ । अर्कोतर्फ, उनलाई सूर्य मल्लको छोरा मान्दा कालक्रम मिल्ने देखिन्छ, जसले गर्दा उनी नागराजकै वंशका ठहरिन्छन् ।

अभय मल्लले युवराज हुँदा नै डोटीको विद्रोह दबाउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनले खस साम्राज्यलाई जोगाउने प्रयास गरे पनि उनको शासनकालमा साम्राज्य कमजोर हुँदै गयो । डोटी स्वतन्त्र भयो र तिब्बतको खारी प्रदेश पनि गुम्न पुग्यो । यसै समयमा दरबारमा भारदारहरू, विशेषगरी वर्मा थरका भारदारहरू शक्तिशाली भए । सम्भवतः अभय मल्लका पनि छोरा थिएनन् त्यसैले उनले आफ्नो पक्षीय सामान्त उत्तमराजका छोरा बलिराजलाई धर्मपुत्र बनाए । धर्मपुत्रमार्फत नै भएपनि आफ्ना पूर्वज नागराजद्धारा स्थापित खश साम्राज्य थाम्ने प्रयास गरेको देखिन्छ । तर बलिराजबाट सहयोग पाउनाका बदला धोका हुन गएको पाइन्छ । किनभने यिनी पनि मलय वर्मासँग नै मिल्न गएको देखिन्छ । यिनी मलय वर्माको ज्वाइँ र सहयोगी मात्रै भएनन, पछि राज्य टुक्रा पारी छोराहरूलाई अंशबन्डा गरिदिंदा ज्वाइँका नाताले पनि एक भाग जुम्ला राज्य पाएका थिए । यस प्रकार इसाको बाह्रो शताब्दीमा स्थापना भएको खश साम्राज्य चौधौं शताब्दीको अन्त्यसम्ममा पुग्दा विघटन भई इतिहासमा सीमित हुन पुग्यो ।

निष्कर्ष
खश साम्राज्यका राजाहरूको इतिवृत्त अध्ययन गर्दा उनीहरूको शासनकालमा राजनीतिक उतारचढाव भएको देखिन्छ । खारी प्रदेशका राजा नागराजले स्थापना गरेको विशाल खश साम्राज्यले मध्यकालीन नेपालको इतिहासमा महत्त्वपूण योगदान पुर्‍याको देखिन्छ । नागराजले खशान क्षेत्रका खश, पाललगायतका ससाना राज्य वा राजवंशहरूमाथि आधिपत्य कायम गरी सिंजालगायतका विशाल भूक्षेत्र हात पारेका थिए ।

खस साम्राज्यका राजाहरूले मध्यकालीन नेपालमा जुम्लालाई केन्द्रबिन्दु मानेर पश्चिम क्षेत्रमा शासन गरेका थिए । उनीहरूले तत्कालीन समयमा कला, संस्कृति र साहित्यका साथै व्यापार र कूटनीतिमा महत्वपूर्ण योगदान गरेका थिए । यस साम्राज्यका राजाहरूले विशेष गरी सैनिक शक्ति विस्तार र धार्मिक सहिष्णुतालाई प्राथमिकता दिएको देखिन्छ ।

यद्यपि, शक्तिशाली साम्राज्य लामो समयसम्म टिक्न सकेन । आन्तरिक द्वन्द्व, बाह्य आक्रमण र राजनैतिक अस्थिरताका कारण यसको विघटन भयो । खस राजाहरूले स्थापना गरेको जगले पछि गएर बाइसे–चौबीसे राज्यहरूको उदयमा महत्वपूर्ण भूमिका खेल्यो । आज पनि, खस साम्राज्यका अवशेषहरू, जस्तै कर्णालीका देवल र शिलालेखहरूले, त्यस समयको वैभव र त्यसका शासकहरूको दूरदर्शिताको कथा भनिरहेका छन् । खस साम्राज्यका शासकहरूले बनाएका मन्दिर, शिलालेख र ऐतिहासिक संरचनाले हामीलाई इतिहासको एक महत्वपूर्ण अध्यायको सम्झना दिलाउँछ । खस साम्राज्यका शासकहरूको इतिहासले हामीलाई सिकाउँछ कि कुनै पनि साम्राज्यको सफलता र पतनमा आन्तरिक एकता र नेतृत्वको महत्वपूर्ण भूमिका हुन्छ ।

(अघिल्लो भागमा खस साम्राज्य स्थापनाका पहिलो सम्राट नागराज देखिका सात वटा राजाको वर्णन छ। यो अंकमा त्यसपछिका राजाहरुको बारेमा वर्णन गरिएको छ।)

अघिल्लो भाग पढ्न तलको लिंक खोल्नुहोला

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार