कुटिरो डट कमको ‘कुटिरो विशेष संवाद’ मा गुठिचौर गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष एवं नेपाली कांग्रेस कर्णाली प्रदेश (जुम्ला जिल्ला निर्वाचन क्षेत्र ‘क’) का सचिव अर्जुन कुमार महतारा हुनुहुन्छ। उहाँसँग कुटीरोका लागि पुष्पा विष्टले लिएको अन्तर्वाताको सम्पादित अंश यहाँ प्रस्तुत छ।
नमस्कार, यहाँलाई कार्यक्रममा स्वागत छ।
नमस्ते धन्यवाद !
तपाईँको कार्यकालको अन्तिम वर्ष चल्दैछ। तपाईँका वडाका नागरिकहरूले महसुस हुने गरिकन त्यस्ता के खालका विकास र परिवर्तन भए, जसलाई आफूले मुख्य उपलब्धिको रूपमा सम्झिनुहुन्छ?
धन्यवाद कुटिरो डट कमलाई। आफ्नो प्रशंसा आफ्नो मुखबाट गर्नु भन्दा, हाम्रो २०७९ देखि २०८४ सम्मको (२०८३ को अन्तिम सम्मको) चार वर्षको गतिविधिको एउटा वृत्तचित्र (डकुमेन्ट्री) र हार्डकपी पुस्तक तयार हुँदै छ। यसलाई हामी गाउँपालिका र जिल्ला समन्वय समितिमा दिनेछौँ र देशैभरिका जनताले हेर्न मिल्ने गरी एक्सप्लोर गर्नेछौँ। सम्भवतः १५-२० दिनमा यो सार्वजनिक हुन्छ।
मुख्य उपलब्धिको कुरा गर्दा, शिक्षा क्षेत्रमा आवासीय विद्यालयको स्थापना भएको छ। अर्को, जुम्लाकै इतिहासमा पहिलो पटक म काठमाडौँ र कर्णाली प्रदेशको राजधानी सुर्खेतसम्म धाएर ‘रैथाने बाली घेराबार कार्यविधि २०७९’ बनाई लागू गरेँ। मन्त्रालयका सचिवले कार्यविधि छैन भन्दा हामी आफैले वडामा कार्यविधि बनायौँ। अहिले चोत्रा, गढीगाउँ, मनिगाउँ र डिल्लीकोट क्षेत्रमा गरी झन्डै ८ किलोमिटर रैथाने बालीको जाली सहितको पक्का घेराबार भएको छ, जसबाट जनता सन्तुष्ट छन्।
यस्तै, ‘आफ्नो सहर आफै बनाउनुपर्छ’ भन्ने सोचका साथ मनिसाउको धुलाम्य बाटोलाई आरसीसी ढलानसहित पिच गरेका छौँ। हिजो भाडा वा बिचल्लीको अवस्थामा रहेको वडा कार्यालयको ठाउँमा अहिले आफ्नै पक्का वडा कार्यालय भवन बनेको छ।
रैथाने बाली जगेनाका लागि घेराबार कार्यक्रम उपयुक्त त देखिन्छ, तर जुम्लाको यो उचाइ र हावापानीमा न्यून उत्पादन हुने क्षेत्रमा उत्पादन गरेर किसानहरू कतिको आत्मनिर्भर होलान्?
हाम्रो वडा धान नपाक्ने भूगोलमा पर्छ, यहाँ वर्षमा एउटा मात्र बाली हुन्थ्यो। तर घेराबार गरिसकेपछि अब असारमा जौ काटेलगत्तै सिमी वा तोरी लगाएर वर्षमा दुईटा बाली फलाउन सकिने भएको छ। अर्को कुरा, हाम्रो क्षेत्रमा पशुपालन बढी छ। प्रत्येक घरमा ५० वटाभन्दा बढी भेडा र चौँरी गाईहरू छन्।
असोज महिनातिर वनबाट झर्ने चौँरीहरूले बाली खाइदिएर ठुलो नष्ट गर्थे। वर्षभरि दुःख गरेर ढाल्दै-उठाउँदै गरेको बालीलाई अहिले जाली सहितको पक्का घेराबारले जोगाएपछि किसानहरू आत्मनिर्भर बन्ने र ढुक्क हुने वातावरण बनेको छ।
तपाईँले ‘हिमाली रम्बा आवासीय विद्यालय’ को कुरा गर्नुभयो। यस्तो दुर्गम ठाउँमा कोही नहुनेहरूका लागि स्थापना गरिएको यस विद्यालयका चुनौतीहरू के-के छन्? यसको भौतिक र शैक्षिक अवस्था कस्तो छ?
म सधैँ भन्छु, कोही नहुनेको भगवान् हुन्छ, र भगवान् पनि नहुनेको वडा सरकार हुन्छ। यो विद्यालय मेरो ‘सपनाको स्कुल’ हो। यहाँ विशेष गरी टुहुरा, विपन्न र दलित बालबालिका पढ्छन्; जसमा अहिले २१ जना दलित विद्यार्थी छन्। हाम्रो समाजमा अझै पनि दलितका छोराछोरीलाई ‘दुई-चार कक्षा पढाइदिऊँ र पछि गाईभेडा हेर्न पठाउँला’ भन्ने सोच छ, त्यसलाई चिर्न यो स्कुल खोलेका हौँ।
चुनौतीको कुरा गर्दा, अहिलेसम्म वडा र गाउँपालिकाको स्रोतबाट मात्र यो चलिरहेको छ। विद्यार्थीहरूको रासन र आवासका लागि वार्षिक ११ लाख र दाङबाट आउनुभएका ३ जना शिक्षिकाहरूको तलबसहित अन्य व्यवस्थापनमा ८ लाख गरी वार्षिक करिब १९ लाख जति खर्च भइरहेको छ।
प्रतिष्ठानका डाक्टरहरू र चन्द्र खड्का, विनिता कठायत जस्ता सहयोगी मनहरूले कहिलेकाहीँ त्यहाँ गएर जन्मदिन मनाउने, कापी-कलम दिने गर्नुहुन्छ, तर यो आंशिक मात्र हो। मैले काठमाडौँमा बौद्ध धर्मसम्बन्धी केन्द्रीय महासङ्घसम्म पनि प्रस्ताव पुर्याएको छु। भर्खरै सङ्घीय बजेट भाषणमा पनि आवासीय विद्यालयलाई केही छोएको सुनेकाले यसलाई फलोअप गर्नेछु।
तपाईँ वडा अध्यक्ष मात्र नभएर नेपाली कांग्रेसको क्षेत्रीय सचिव पनि हुनुहुन्छ। तपाईँकै गाउँपालिकाका अध्यक्ष (दानबहादुर बुढा) कांग्रेस छोडेर रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी) मा प्रवेश गर्नुभयो। यो घटनाले पार्टीभित्र कस्तो तरङ्ग ल्याएको छ?
दशैँमा साना नानीबाबुहरू रङ्गीबिरङ्गी कपडा लगाएर नाचेको देख्दा बुबाआमा खुसी त हुन्छन्, तर त्यो खर्चिलो दशैँको पिडा बुबाआमालाई मात्र थाहा हुन्छ। नेपाली कांग्रेसलाई यसबाट पिडा हुनु स्वाभाविकै हो।
म गाउँपालिका अध्यक्ष दानबहादुर बुढाजीलाई के भन्न चाहन्छु भने, तपाईँलाई कांग्रेसले टिकट दियो, सार्वभौम जनताले पाँच वर्षका लागि जिताए। तपाईँ एउटै ठाउँमा बसेर जनताको सेवा गर्नुको साटो कार्यकाल नसकिँदै पार्टी फेर्दै हिँड्नु गाउँपालिकाकै लागि लाजमर्दो कुरा हो।
राजनीतिमा हलचल हुनु स्वाभाविक हो, उहाँलाई मेरो शुभकामना छ। हामी एकै सिक्काका दुई पाटा जस्तै थियौँ, सँगै झोला बोकेर, माछा मार्दै सङ्गठन बनाएका थियौँ। तर राजनीतिमा स्थायी शत्रु र मित्र हुन्नन् भन्ने कुरा सत्य रहेछ। उहाँले हामीलाई ढुङ्गा हान्नुभए पनि हामी फूल नै हान्छौँ।
रास्वपा त यतिबेला उदाउँदो शक्ति हो नि, तपाईँहरू पढेलेखेका मान्छेले यसलाई कसरी हेर्नुहुन्छ? उहाँ कांग्रेस समयको गतिसँगै हिँड्न नसकेर पो रास्वपामा जानुभएको हो कि?
जुम्लामा मङ्सिरको महिना जहाँ आगो बलेको देखिन्छ, मान्छे त्यहाँ आगो ताप्न कुदिहाल्छन्। तर अरूको आगो सधैँ तापिरहन सकिँदैन, कपडा बाक्लो लगाउने कोसिस गर्नुपर्छ।
समय र गतिको कुरा गर्दा, मेरो बुबाभन्दा मेरो गति बढी होला, मेरोभन्दा मेरो छोराको गति बढी होला। कांग्रेस बुढो भयो होला, तर यसले देशका लागि धेरै गरेको छ।
अहिलेका नयाँ युवाहरू पढेलेखेका त छन्, तर उनीहरूले के गर्छन् भन्ने इतिहासले प्रमाणित गर्न बाँकी छ। हाम्रै पालिकामा हिजो अधिकृत लेभलका मान्छे (हरिबादुर भण्डारी) अध्यक्ष हुनुभयो। अहिले डबल डिग्री गरेका दानबहादुर बुढा हुनुहुन्छ। तर पढेका भनिएकाहरूले पार्टीको महत्त्व नबुझी कार्यकाल नै पुरा नगरी हिँडिदिए। त्यसैले सबै चिज पढेर मात्र हुन्न, व्यवहारमा परेर र गरेर देखाउनुपर्छ।
गाउँपालिका अध्यक्ष रास्वपामा गएपछि त्यहाँका कांग्रेस शुभेच्छुकहरूमा निराशा छ कि सङ्गठन ठिकै छ? र के आगामी २०८४ को चुनावमा तपाईँ गाउँपालिकाको नेतृत्व (अध्यक्षको दाबी) गर्ने सोच्दै हुनुहुन्छ?
असर त केही पर्छ नै, तर हामी यसलाई शक्तिमा बदल्नेछौँ र यसको नतिजा कांग्रेसले २०८४ मा दिनेछ। जहाँसम्म नेतृत्वको कुरा छ, यसमा जिल्ला पार्टी सभापति टेकबहादुर भण्डारी, प्रवक्ता मेघराज गिरी र जिल्ला कमिटीले अनुमोदन गर्नुपर्छ।
सहरमा ढाका टोपी र चस्मा लगाएका धेरै मान्छे देखिन्छन्, तर सपना भएका मान्छे कमै हुन्छन्। यदि मैले अवसर पाएँ र चुनाव लड्नुपर्यो भने गुठीचौरलाई नेपालकै ‘टप गाउँपालिका’ बनाउने सपना छ।
म चोत्राका भोटे समुदाय, ब्राह्मण, खसान जाति र दलित समुदाय सबैलाई मिलाएर लैजाने नीति बनाउनेछु। कृषि र जडीबुटीको व्यावसायिकरण गर्नेछु।
गाउँपालिकाले किसानका उत्पादन आफै किनेर देशका कुना-कुनाका सहरमा अर्गानिक पसल खोली बेच्ने व्यवस्था गर्नेछ। बेरोजगार युवाहरूलाई रोजगारी दिनेछ। म जनजातिको छोरा हुँ, गफ धेरै गर्ने र काम कम गर्ने मेरो बानी छैन।
तपाईँ स्थानीय सरकारमा काम गरिरहँदा, सङ्घीय सरकार र स्थानीय सरकारबिचको दुरी कस्तो देख्नुहुन्छ?
सङ्घीय र स्थानीय सरकारबिच निकै लामो दुरी छ। सङ्घीय सरकारले सामान्य र भुइँमान्छेलाई देख्दैन, उसले ठुलो भोल्युम मात्र देख्छ। उदाहरणका लागि, भर्खरै बजेट र नीति कार्यक्रममा कृषि फार्महरूलाई उत्कृष्ट कार्यका लागि २ करोड भन्दा माथिको लगानीमा ४० प्रतिशत अनुदान दिने भनियो।
तर जुम्लाको भुइँमान्छेसँग २ करोडको सम्पत्ति नै हुन्न, यसले गरिब किसानलाई छोएन। स्याउ सुपरजोनमा अनुदान लिन ५ हेक्टर जग्गा चाहिन्छ भनिन्छ, जुन धनीसँग मात्र हुन्छ।
मेरो अवधारणा के हो भने गाउँपालिकाको सरकार आफैँ किसानको धितो बसेर बैंक (जस्तै सनराइज बैंक) मार्फत सहुलियत ऋण उपलब्ध गराउनुपर्छ। यदि किसान डुबेमा सरकारले अनुदान दिएर उकास्नुपर्छ।
प्रदेश सरकारले दिने विपन्न र दलित आवास कार्यक्रम समेत गुठीचौर वडा १ र २ का वास्तविक गरिबले पाउन सकेका छैनन्। त्यसैले नीतिगत र कार्यगत रूपमा सङ्घ र स्थानीय तहबिच ठुलो दुरी छ। यसलाई सन्तुलनमा ल्याउन परिपक्क र तल्लो तह बुझेको नेतृत्व चाहिन्छ, र म आफूलाई त्यसमा साबित गर्ने कोसिस गरिरहेको छु।
हस्, तपाईँलाई धेरै-धेरै धन्यवाद। यो ‘कुटिरो विशेष संवाद’ मा उपस्थित भइदिनुभयो।
यस किसिमको संवादको लागि तपाईँहरूलाई पनि धेरै-धेरै धन्यवाद, नमस्कार।
















