बुधबार, २७ जेष्ठ, २०८३

नेपाली गजलको काव्यिक चेतनामा भएको ग्याप घटाउने काम महेन्द्र अतलले गरे

अहिले यो दुई दशकमा, डेढ दशकमा केही औँलामा गन्न सकिने गजलकार, कविहरू नेपाली गजलमा उदय हुनुभएको छ। ती गजलकारहरूलाई तराजुमा तौलने हो भने, मेरो आँखाले, मेरो हृदयले, मेरो भावले बुझेको महेन्द्र अतल भनेको एक नम्बर गजलकार हुन्, नेपाली गजलमा।

धन्यवाद उद्घोषक महोदय, मैले सोझै विषयमा प्रवेश गरेँ। हाम्रो महेन्द्र अतल, उहाँको बारेमा केही वस्तुगत कुराहरू हाम्रो बिपी अस्तुले भनिसक्नुभयो। उहाँले भनेका कुराहरूलाई म दोहोर्‍याउन चाहन्न, म केवल उहाँको गजलीय पक्षलाई मात्रै समात्नेछु। उहाँलाई हामीले आजभन्दा २० वर्ष अगाडि (१५-१६ वर्षको उमेर थियो उहाँको) देखि हामीले उहाँलाई गजलकार भनेर चिनेको हो। त्यतिखेर उहाँको नाम थियो, एमपी केयरलेस।

यो नामबाट पनि यहाँहरू त्यो मान्छेको प्रवृत्ति बुझ्नुहुन्छ। र उहाँले त्यो नामबाट २०७० सालमा ‘एक’ भन्ने गजल संग्रह निकाल्नुभएको थियो। त्यो नामको व्यक्तित्वले, त्यो भावबाट निकालेको ‘एक’ गजल संग्रह कस्तो थियो होला भनेर हामी अहिले अनुमान गर्दछौँ।

अहिले अनुमान गर्दाखेरि एउटा कुरा देखिन सक्छ। शब्दको तालमेल मात्र मिलाउँदाखेरि, मैले ३० वर्षदेखि नजिकबाट नियालेर हेर्दा नेपाली गजलमा देखिएको एउटा मात्र मुख्य समस्या के देखेको छु भने, नेपाली गजलमा काव्यिक चेतना भएन। नेपाली गजललाई प्रेमको विषयले पनि अतिक्रमण गरिराख्छ, राजनीतिक आग्रह-पूर्वाग्रहले पनि त्यसलाई अतिक्रमण गरिराख्छ।

यो दुइटा अतिक्रमणको बीचबाट उठेर, सडकको भाषा नबोल्ने, प्रेमको भाषा नबोल्ने तर प्रेमलाई विषय बनाउने, सडकको विषय टिप्ने, समाजको विषय टिप्ने, समाजको भाषामा टिक्ने, त्यो शैलीको गजल हामी खोजिरहेका थियौँ, नेपाली गजलमा। तर २०-३० वर्षमा गजलको, त्यो प्रवृत्तिलाई टिपेका गजलकारहरू केही एक दर्जन, डेढ दर्जन जति गजलकारहरू तयार हुनुभएको छ। ती गजलकार मध्ये एकजना गजलकार एमपी केयरलेसले ७० सालमै छलक देखाइसक्नुभएको थियो ‘एक’ बाट।

र अहिले १३ वर्षपछि उहाँको ‘दुई’ भन्ने गजल संग्रह निस्कियो। अहिले उहाँ महेन्द्र अतलको नामबाट, नाम मात्रै उहाँको रूपान्तरण भएको छैन कि त्यो गजलको प्याटर्नमा उचाइ पनि आएको छ, मैले त्यो महसुस गरेको छु।

अब उचाइ केमा आयो? उहाँको फिट या इन्च बढ्यो कि, उहाँको शरीरको तौल बढ्यो कि, या पहिला विशृङ्खल जस्तो भएर कपाल-सपाल, दाह्री पालेर, जुल्फी पालेर अहिले सफाचट हुनुभयो कि? त्यो पनि त एक किसिमको रूपान्तरण नै हो। तर त्यस्तो रूपान्तरण होइन। उहाँको गजलमा, कवितालाई हेर्ने तीनटा मुख्य कुराहरू हुन्छन्। त्यो तीनटा मुख्य कुराहरूको उहाँको गजलमा स्तर बढेको छ।

पहिलो कुरा: समाजको सामान्य मान्छेको, समाजका सर्वसाधारण मान्छेको कुरा बोल्नुपर्छ भन्ने मान्यता छ साहित्यले, त्यो सत्य कुरा हो। तर भाषा त्यो हुनुहुँदैन, विषय त्यो हुनुपर्छ। सर्वसाधारण मान्छेका अनुभूति र संवेदनाहरू कविकले लेख्नुपर्छ, तर भाषा भनेको साहित्यिक नै हुनुपर्छ, व्यञ्जनात्मक नै हुनुपर्छ।

भाषा भनेको एकजना राजनीतिक कार्यकर्ताले, एकजना विज्ञापनदाता वा विज्ञापन प्रस्तोताले बोलेको भाषा साहित्य हुन सक्दैन। एकजना मिठो विज्ञापन प्रस्तुत गरेर बजारमा सस्तो चिजलाई महँगोमा बिक्री गर्ने बजार प्रवर्द्धकहरू हुन्छन् नि, त्यो शैलीको भाषालाई साहित्यले मान्यता दिँदैन।

पहिलो कुरा, त्यो भाषा व्याख्यानको, कथ्यको, भनाइको, भन्ने तरिकाको भनेको कुराको व्याकरणिक महत्त्व हुनुपर्छ, त्यसको व्यञ्जनात्मक महत्त्व हुनुपर्छ साहित्यमा।

दोस्रो कुरा: साहित्यमा समाजकै विषय हुन्, व्यक्तिकै विषय हुन्, मान्छेकै विषय हुन्, समयकै विषय हुन्, हाम्रा वरिपरिका विषय हुन्, त्यो विषय त एउटा नेताले पनि हेर्छ, पत्रकारले पनि हेर्छ, एउटा सामान्य मान्छेले पनि हेर्छ।

तर कविले कसरी हेर्छ त? उनीहरूको हेर्ने शैली र कविको हेर्ने शैली, त्यो हेरेका कुरालाई व्यक्त गर्ने शैली उनीहरूभन्दा कविको फरक हुनुपर्छ। त्यो फरक केले देखाउँछ? शैलीले देखाउँछ, शब्दले देखाउँछ, शब्दको व्यञ्जनाले देखाउँछ, शब्दहरूको संयोजनले देखाउँछ। यो दोस्रो कुरा मेन्टेन गर्नुपर्छ जस्तो लाग्छ मलाई साहित्यकारले।

तेस्रो कुरा: साहित्यकारले के मेन्टेन गर्नुपर्छ भन्दाखेरि, उ जुन युगमा बसेको छ, त्यो युगको ‘यो भइराछ, यो भइराछ, यो भइराछ, यो नहुनुपर्ने’ त भन्छ जसले पनि।

‘आज घाम लाग्यो अलि चर्को भयो, आज पानी पर्‍यो अलि ठुलो पानी पर्‍यो’ त जसले पनि भन्छ नि। ‘यो मन्त्रीले घुस खायो, नेताले हल्ला गरेर बोल्यो’ भनेर जोले पनि भन्छ। तर त्यो समयको मुख्य समस्या के हो? त्यो समयको, त्यो कालखण्डको मुख्य प्रवृत्ति के हो? त्यसलाई समात्न सक्ने भनेको कविले नै हो। यी तीनटा मान्यताहरू कविले पालना गरेको हुनुपर्छ, साहित्यकारले पालना गरेको हुनुपर्छ।

यी तीनटा कुरा नेपाली गजलमा (पहिले) धेरै पाइँदैनथ्यो, कुनै पनि कविले पालना गरेको पाइँदैनथ्यो। तर अहिले यो दुई दशकमा, डेढ दशकमा केही औँलामा गन्न सकिने गजलकार, कविहरू नेपाली गजलमा उदय हुनुभएको छ। ती गजलकारहरूलाई तराजुमा तौलने हो भने, मेरो आँखाले, मेरो हृदयले, मेरो भावले बुझेको महेन्द्र अतल भनेको एक नम्बर गजलकार हुन्, नेपाली गजलमा।

तपाईं गजलका कृतिहरू पढ्नुस्, अहिलेका सबै गजल संग्रह होइन, काव्यिक चेतना भएका गजल संग्रह १२ वटा, १५ वटा कलेक्सन गर्नुस् र त्यसलाई एक ठाउँमा राखेर तपाईंहरू त्यसलाई, किलो तौलने तराजुले होइन कि काव्यिक प्याटर्नले, ‘वाह’ गरेको कारणले होइन, तपाईंमा, समीक्षकमा, श्रोतामा त्यो काव्यिक चेतना छ भने उसले त्यो मूल्याङ्कन गर्ने हो। त्यो मूल्याङ्कन गर्‍यो भने महेन्द्र अतल नेपालका, एकजना मात्र नभनौँ, टप फाइभ गजलकारहरू मध्ये अहिलेको पुस्तामा पर्छन्।

र पेशाले इन्जिनियर हुन्, सिभिल इन्जिनियर। फरक काम गर्ने मान्छे हुन्। अनि इन्जिनियर जागिर खाएर घर-बाटो नबनाएर उनी राजनीतिमा लागे। राजनीतिमा पनि कस्तो ठाउँमा लागे? नागरिक उन्मुक्ति पार्टीलाई थारु जातिको पार्टी भन्छन् नि, त्यो नागरिक उन्मुक्ति पार्टीमा लागे।

बाहुन, उनीहरूले सबभन्दा बढी विरोध गर्ने बाहुनवादको, बाहुनको छोरो भएर उनी त्यो पार्टीमा लागेर लम्कीचुहा नगरपालिकाको मेयरमा पनि उठेको मान्छे। म यी कुरालाई कसरी हेर्छु भने, उ केही फरक गर्न खोज्छ, केही फरक दिन खोज्छ, केही फरक दृष्टिले कुनै वस्तुलाई उसले अध्ययन गर्न खोज्छ र त्यो बुझेको, महसुस गरेको, अनुभव गरेको, लेख्न खोजेको, लेखेको कुरालाई उसले गजलमा अनुवाद गरेर केही नयाँ दिन खोज्या छ। त्यो उनको विशेषता हो।

अब नयाँ कुरा दिन खोज्दाखेरि, नयाँ कुरा प्रस्तुत गर्दाखेरि कहिँ भाषाको अलमल पर्ला, कहिँ विषयको अलमल पर्ला, कहिँ भन्ने शैलीको अलमल पर्छ, त्यो उमेरको पनि समस्या हो, अहिलेको समयको पनि समस्या हो।

उनी समस्यारहितको विषय होइनन्, उनीमा पनि समस्या छ। त्यो समस्यालाई उनले सुधारे भने नेपाली गजलको अहिलेको जुन शैली छ, अहिले नेपाली गजलको जुन बाटो छ, त्यसमा उनी अब्बल गजलकार हुनेछन् भन्ने मलाई पूर्ण विश्वास छ।

आज यो हलमा, नेपाली गजलमा मेचीमा जानुस्, महाकाली जानुस्, नेपाली गजलको लागि उदाहरणीय गजलका शेरहरू भन्नुस् त भनेर कसैले प्रश्न गर्‍यो भने, जुन गजलकारका शेरहरू, पङ्क्तिहरूलाई उद्धरण गर्छन् मेचीको गजलानुरागीले, कोसीको गजल प्रेमीले, जसका गजलका शेर उच्च छन्, ती दुई-चार जना गजलकार यो हलमा पनि मैले देख्या छु, आज। ती गजलहरू… हाम्रो जस्तो मदनजी हुनुहुन्छ, कपिलजी, गोल्डेन बुढाभास्कर, हाम्रो महेश भट्टराई, उहाँहरूको एउटै शैली हो त्यो।

उहाँहरूको उमेरमा फरक होला, समय र कालखण्डमा फरक होला, तर उहाँहरूको शैली र प्रवृत्ति, गजललाई उचालिने जुन उहाँहरूको हुटहुटी छ र गजललाई जुन उचाइ दिने उहाँहरूको चाहना छ, एउटै खालको शैली छ। मैले यति नै उहाँको बारेमा भनेँ। यसपछि हामी महेन्द्र अतललाई सुन्नेछौँ, धन्यवाद।

(नेपालगन्जमा सम्पन्न कुटीरोको प्रस्तुति अन्तर्गत अतलको यात्राको छैटौं बासमा वरिष्ठ साहित्यकार खगेन्द्र गिरी ‘कोपिला’ले व्यक्त गर्नु भएको मन्तव्यको सम्पादित अंश।)

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार