मंगलवार, १३ माघ, २०८२

बैंकको लगानीमाथि जेनजी नामको आगो, जोखिममा सर्वसाधारणको निक्षेप!

०३८–०३९ सालमा देउवा काठमाडौंको मैत्रीदेवीमा डेरामा बस्थे। लगाउने लुगा नभएर साथीको लगाउँथे भन्नेहरू अझै भेटिन्छन्। ओली पनि डेरामै बस्थे। कहिले पाटन त कहिले शान्तिनगर। त्यतिबेलै उनी धेरै रक्सी खान्थे भनिन्छ। प्रचण्ड परिवार त झनै गरिब।

२०८२ भदौ २३ र २४ गते भएको आन्दोलनमा धेरै जनधनको क्षति भएको छ। सरकारी कार्यालय, निजी कम्पनी, व्यक्तिहरूको घर, भाटभटेनी, गाडी शोरुम, मिडिया अफिस, सिजी कम्पनी, दूरसञ्चार कम्पनी, बैंकलगायत धेरै कार्यालयहरू तोडफोड र आगजनी भएको छ। यी तोडफोड र आगजनी भएका प्रायजसो कार्यालय तथा घरहरू बैंकको नाममा रहेको पाइन्छ। यही वस्तु धितो राखेर एउटै व्यक्तिले बैंकबाट करोडदेखि खर्बौ ऋण लिएको छ।

भाटभटेनी साहु मीनबहादुर गुरुङले ३१ वटा भाटभटेनी धितो राखेर विभिन्न बैंकबाट ५३ अर्ब कर्जा लिएका छन्। जसमध्ये १२ वटा भाटभटेनीमा आन्दोलनका क्रममा क्षति पुगेको छ। कतिपय भाटभटेनी त जलेर नष्ट भएको छ। उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छाले बैंकबाट डेढ अर्ब ऋण लिएका छन्। त्यो पनि सरकारीसहित विभिन्न जग्गा धितो राखेर। अहिले त्यो जग्गा लिलाम गर्दा करोड समेत नउठ्ने अवस्था छ। चौधरी ग्रुपले विभिन्न बैंकले खर्बौ पैसा लिएको छ। तर, चौधरीको पनि सिजी कम्पनीसहितमा आगजनी भइसकेको छ।

उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले ताप्लेजुङमा सात लाखमा किनिएको जग्गा धितो राखेर २८ करोड ऋण लिएका छन्। पूर्व ऊर्जामन्त्री दीपक खड्काले घरजग्गा धितो राखेर १४ अर्ब कर्जा लिएकोमा जनजी आन्दोलनका क्रममा उनको पनि घर जलाइएको छ। मेडिकल व्यवसायीले विभिन्न बैंकबाट ११ अर्ब ऋण लिएका छन्। उनले वर्षौदेखि बैंकको सावाँ ब्याज तिरेका छैनन्। एमाले नेता महेश बस्नेतले पनि विभिन्न बैंकबाट सात अर्ब कर्जा लिएका छन्। उनको पनि घरमा आगो लगाइएको छ। बैंकबाट अर्बौं कर्जा लिएका हजारौं छन्। यी त केही उदाहरण मात्रै हुन्।

बैंकबाट ऋण लिएर तिर्न नसकेपछि एक लाख २५ हजार बढी कालोसूचीमा परिसकेका छन्। पाँच वर्षअघि करोड पर्ने घरजग्गा अहिले १०–१५ लाखमा समेत बिक्री हुँदैन। सरकारले पेट्रोल र डिजेलबाट चल्ने सवारी साधन २०८८ सालभित्र देशभरबाट हटाउने भनेर ०७८ सालमै राजपत्रमा निकालिसकेको छ। तीन वर्षअघि दस लाखदेखि करोडौंमा किनिएको यस्ता गाडी अहिले लाखमा समेत बिक्दैन।

दलालहरूले एक सयको सेयर ३२ सय पुर्‍याए। अहिले घटेर २६ सयमा झरेको छ। अब फेरि घटेर सेयर १६–१७ सयमा आउने बजारमा व्यापक चर्चा छ। सुन केही दिनअगाडि तोलाको दुई लाख १२ हजार पुग्यो। सुन बेच्न जाँदा पसले लिन मान्दैन। पैसा छैन, अन्त जानु भन्छ, अन्यत्र पनि त्यस्तै भनिन्छ। त्यसो त सुन २०२२ सालमा प्रतितोला ८० रुपैयाँ थियो। यसबीचमा सुनको मूल्य हजारौं गुणाले बढेको छ तर सुनको तौल र लम्बाई ज्युँको त्यूँ छ।

काठमाडौं उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर) मा ३५ वर्षअघि रोपनीको १०–१५ हजारमा जग्गा पाइन्थ्यो। एक रोपनीमा १६ आना हुन्छ। यही जग्गालाई दलालहरूले प्लटिङ्ग गरेर आनाकै ६०–७० लाख पुर्याए। छिमेकी मुलुक भारत र चीनमा एक–दुई लाखमा पाइने सवारी साधन यहाँ पाँच लाखदेखि करोडौंमा बेचिएको छ। अहिले बैंकले सबै सरकारी, सार्वजनिक, गुठी, ऐलानी, खोला वरपर, हदबन्दी बढीका जग्गा धितो राखेर ऋण लिएको पाइन्छ।

सरकारले विदेशीसँग २९ खर्ब ४२ अर्ब ऋण लिइसकेको छ। निर्माण व्यवसायीको ४५ अर्ब, दूध तथा उखु किसानको सात अर्ब र कोरोना बीमाको २४ अर्ब बक्यौता दिनै बाँकी छ। जनजी आन्दोलनका क्रममा नेताहरूको घरमा आगजनी गरियो। त्यो आगोले घर मात्र जलेन, त्यहाँ भएका पैसासमेत नष्ट भएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वमन्त्री दीपक खड्का, महेश बस्नेतलगायतको घरमा धेरै पैसा भेटिएको भनिन्छ। तर, आगजनीसँगै ती पैसा पनि नष्ट भएको छ।

अहिले बजारमा अर्को चर्चा व्यापक छ, बैंक डुब्दैछ। त्यसैले, मानिसहरूले बैंकमा राखेको पैसा धमाधम निकालेर घरमा राखिरहेका छन्। बैंकमा करोडौं, अर्बौं रकम राखेकाहरु बैंक भाग्ने, डुब्ने डरले चिन्तित छन्। उनीहरू जतिसक्दो छिटो रकम निकाल्न खोजिरहेका छन्। र, रकम निकालेर कि त घरमा राख्छन् नभए विदेशी बैंकमा लुकाउँछन्।

सरकारी सम्पत्ति सिंहदरबार, शीतल भवन, प्रधानमन्त्री निवास, संसद् भवन, सर्वोच्च अदालत, जिल्ला अदालतहरू, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सडक विभाग, यातायात व्यवस्था विभाग, स्थानीय तहका भवनसहित धेरै सार्वजनिक भवन जनजी आन्दोलनका क्रममा जलाइयो। यी सम्पत्ति जलेसँगै राज्यलाई खर्बौंको क्षति पुगेको छ।

जेनजी आन्दोलनअघि नेपाल राष्ट्र बैंकले हप्तैपिच्छे बैंकबाट पैसा लैजान्थ्यो। पछिल्लो तीन वर्षयता मानिसहरू बैंकमा ऋण माग्न कमै जान्थे। बैंकले एक प्रतिशत भनेर तीन प्रतिशत सेवाशुल्क असुल्ने, दुई करोडको धितो राखेर एक करोड ऋण दिने, त्यसमा दश लाख त घुसै खाइदिने, १४ प्रतिशत ब्याज भनेर ८० प्रतिशत असुल्ने र तीन किस्ता नतिर्नेबित्तिकै दुई करोडको धितो ९० लाखमै पचाइदिने हुनाले मानिसहरू आर्जित भएका थिए।

केही गर्छु भनेर बैंकबाट ऋण लिएकाहरु सुकुम्बासी भए। घर न घाटको अवस्थामा पुगे। कतिपयले त आत्महत्यासमेत गरे। आफ्नो वंश नै सिध्याए, बैंककै तनावले। यता, करोडौं बचतकर्ताको खर्बौं रकम सहकारीले खाइदिएको छ। ३५ हजार बढी सहकारीले देशभरका करोडौं बचतकर्ताको झण्डै ४३ खर्ब पैसा पचाइदिएको छ। त्यसरीनै लघुवित्त र फाइनान्सले पनि बचतकर्ताको पैसा खाइदिएको छ।

बजारमा घरजग्गा, गाडी र सेयर कारोबार ठप्पै छ। सस्तोमा दिँदासमेत बिक्री हुन सकेको छैन भने राज्य कंगाल हुँदै गएको छ। राज्यको ढुकुटीमा राजस्व उठ्न छोडेको छ भने भएको पैसासमेत सकिँदैछ। विगतमा नेताहरूले जनताले तिरेको कर, विदेशी ऋण र अनुदान, विदेशबाट नेपालीले पठाएको रेमिट्यान्स, भारत र चीनलाई नेपाली भूभाग बेचेर आएको पैसा पनि पचाए।

आफ्नो स्वार्थका निम्ति नेताहरूले देशको भूभाग नै बेचिदिए। सिक्किम, दार्जेलिङ, कोलकत्ता, टकनपुर, कालापानी, लिम्पियाधुरा, लिपुलेक नेपाली भूभाग हो। अहिले यी भूभाग भारत र चीनको भनी परिचित छ। जनता जबसम्म यी कुराबाट अन्जान थिए, तबसम्म नेताहरूले देश र जनता लुटिरहे। तर, अहिले जनताको आँखा खुल्यो। अनि नेताहरूको भागाभाग।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्यो। उनी सम्पर्कविहीन छन्। देउवा दम्पतीमाथि आक्रमण नै भयो भने प्रायजसो नेताहरूको घर जलाइएको छ। उनीहरूलाई भेट्यो भने जनताले बाँकी राख्दैनन्। भनिन्छ, अतिले खति निम्त्याउँछ। नेताहरुलाई जनताले पटकपटक मौका दिए। तर, नसुध्रिएपछि अहिले यो अवस्थामा पुग्नुपर्यो।

०३८–०३९ सालमा देउवा काठमाडौंको मैत्रीदेवीमा डेरामा बस्थे। लगाउने लुगा नभएर साथीको लगाउँथे भन्नेहरू अझै भेटिन्छन्। ओली पनि डेरामै बस्थे। कहिले पाटन त कहिले शान्तिनगर। त्यतिबेलै उनी धेरै रक्सी खान्थे भनिन्छ। प्रचण्ड परिवार त झनै गरिब। कास्कीमा बस्न नसकेपछि उनका बुबा चितवनमा सरे। माधव नेपाल, बाबुराम भट्टराई, झलनाथ खनाल पनि विगतमा केही नभएका व्यक्तिहरू हुन्।

राजनीतिमा लागेका जुनसुकै दलका जुनसुकै व्यक्तिको विगत कोट्याउने हो भने उनीहरूको विगतमा केही थिएन। अहिले उनीहरूको अर्बौं, खर्बौंको सम्पत्ति छ। अहिले कसरी यत्रो सम्पत्ति जोडिए त? भ्रष्टाचार होइन र? हिजो देश र जनताको सेवा गर्छु भन्दै चप्पलबिनै राजनीतिमा छिरेका यिनीहरू एकाएक कसरी अर्बपति, खर्बपति भए? न व्यापार न जागिर। अनि कसरी अर्बौं, खर्बौंको सम्पत्ति आयो?

नेताहरू व्यक्तिगत स्वार्थमा लागे। जनतालाई झुटा आश्वासन दिइरहे, भ्रष्टाचार गरिरहे। अहिले त्यसैको परिमाण पाएका हुन्। नेताहरूमाथि जनताको आक्रोशले केवल उनीहरूको घर मात्र जलेनन्, सरकारी सम्पत्ति पनि जल्यो। अब प्रश्न उठ्छ, यो भवन कसरी बन्छ? किनभने सरकारसँग पैसा छैन। त्यसैले, अब सरकारले बैंकमा भएको जनताको पैसाले सरकारी सम्पत्ति पुनःनिर्माण, कर्मचारी, जनप्रतिनिधिलाई तलबभत्ता दिन सक्छ।

सहकारीका बचतकर्ता त डुबे, अब बैंकका बचतकर्ताको पालो आएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार