हामी सबैका आँखा छन्, हामी अन्याय देख्छौं,
हामी सबैका कान छन्, हामी पीडाका आवाजहरू सुन्छौं,
हामी सबैका मन छन्, गल्ती र बेइमानी चिर्न सक्ने विवेक छ हामीसँग।
तर हाम्रो जिब्रो मौन छ, हाम्रा हातहरु प्यरालाइसेस भएका छन्।
यो मौनता केवल शब्दहरूको अभाव होइन
यो साहस गुमाएको युगको लक्षण हो।
यो चेतनाको घात हो, विवेकको वध हो।
यो आत्मासँग गरिएको एक चुपचाप सम्झौता हो, जसको मोल सम्पूर्ण समाजले तिर्नुपर्छ।
के यो मौनता सत्ताको डरबाट जन्मिएको हो ?
के सम्बन्ध र नाताको मोहबाट पालिएको हो ?
के निश्चित कमिशन र काेटेशनकाे स्वार्थमा रुमलिएकाे हाे ?
कि भाेलीका दिनमा आर्थिक चन्दा, कमिशन, सहयोग पाउँछाै,
भन्ने रुग्ण आशामा हामी माैन भएका हाै ?
वा ‘म त के गर्न सक्छु र ?’ भन्ने परनिर्भर सोचको छायाँ हो ?
तर अब आफै प्रश्न उठाउनुहोस्, किन मौन ?
जब सत्य मौन हुन्छ, झूट गर्जन्छ।
जब विवेक थाक्छ, दमन मुस्कुराउँछ।
जब हामी चुप लाग्छौं, अत्याचार झनै बढ्छ।
अनि एक दिन, यो मौनता आफैं तपाईं हाम्रो अस्तित्वको हत्यारा बन्छ।
अब यो तपाईंको निर्णय हो,
चुप लागिरहनुहुन्छ ?
कि बोल्ने आँट गर्नुहुन्छ ?
किनकि माैनता छाएको र अन्यायका बिरुद्धमा बाेल्न नसक्ने समाज मसानघाट हाे,
त्याे समाजका अगुवाहरु मसाननघाटका पाेडे हुन,
जसले आफ्नाका जीवित लासहरु दिनदिनै जलाइरहेका हुन्छन्।
साँचो समाज मौनताबाट होइन,
प्रतिरोधबाट बन्छ।
म त अन्यायमा बाेल्छु,
अत्याधिक अन्याय भयो भने कि चुटछु ,
कि चुटाई पाउँछु।














