पञ्चकलीले गीत मात्र गाएकी होइनन्, उनले त राज्यले कर्णालीलाई गर्ने सौतेनी व्यवहारविरुद्धको एक क्रान्ति गरेकी हुन्। जुन विद्रोह जो, कसैले त्यति सहजै गर्न सक्दैनन्। जुन क्षमता पञ्चकलीजस्तै सीमित मान्छेले मात्रै गर्न सक्छन्। उनले रचेका यी शब्दले साँच्चिकै कर्णाली बोलेको छ।
मानिसको जीवनमा गीत–सङ्गीतको कति महत्त्व हुन्छ भन्ने दुनियाँका सबैथोक मान्छेले सायद थाहा पाएका छन् र महसुस पनि गरिरहेका छन्। गीत–सङ्गीत मानिसको जीवनका दुःख, वेदना र मनका बह पोख्ने चौतारी हो, जसले बिल्कुलै विशुद्ध भावनाका तरङ्गमा छल्किएर पोख्ने कार्य गर्दछ। मानिसको त्यो बहकिएको मन सफा र शुद्ध हुन्छ।
दुःख, पीडा, जीवनका बाधा झमेलाहरूले तड्पिएको मन, उकालो–ओरालो हुँदै बोकेका ती संघर्षको भारीले थलिएको तन, यिनै दुःखाइ नामेट बनाउन अर्थात् ती पीडाको विलय गर्न अहम भूमिका खेल्छ गीत र सङ्गीतको चौतारीले।
यो चौतारी यस्तो चौतारी हो जसले मानिसका दुःख–पीडा बिसाउन अनुरोध गर्छ। मनका बहका भारीलाई पोख्न सिकाउँछ। यो चौतारीले आफ्नो धर्म निर्वाह गरिरहेछ र मानिस पनि सोही नियमको बन्धनमा बाँधिएका छन्। यो कुनै शासकको नियम होइन, यो स्वतः मानिसको भावनात्मकतामा बाँधिएको सुन्दर नियम हो।
यतिबेला सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चा कमाएको पूर्व राजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्रको जुम्ला भ्लगको भिडियोले जनमानसमा गहिरो छाप छोड्न सफल भएको छ। भिडियोको भ्लगमा देखिएको हृदयेन्द्रको विनम्रता, शालीनताको खुबै चर्चा भइरहेको छ। त्यो भिडियोमा हृदयेन्द्रको शालीनता, विनम्रता र सादगीपन मात्रले चर्चा बटुलेन, त्यो भिडियो भ्लगभित्र एक पात्र छन्, जसको आवाजले दुनियाँको हृदय छोइरहेछ।
हृदयेन्द्रको भिडियो भ्लगभित्र भएकी पात्र हुन् जुम्ला पातारासी गाउँपालिकाकी पञ्चकली बुढा। उनले हृदयेन्द्रको भिडियो भ्लगमा निकै नम्र र निष्ठावान रूपमा प्रस्तुत भएकी छन्, जुन त्यो भिडियोमा देख्न सकिन्छ। उनले जुम्ला सदरमुकामको सिरानीमा रहेको डुडुल चैत्य (गुम्बा) को आँगनमा टेकेर हृदयेन्द्रलाई सदरमुकाम आसपास र त्यहाँबाट देखिने पर्यटकीय स्थल चिनाउँदै गरेको त्यो संवाद निकै रोचक ढंगले सजिएको छ।
उनले जिल्लाको विविध विषयमा जानकारी दिन्छिन् र बीचमै एउटा प्रश्न गर्छिन् हृदयेन्द्रलाई, “हाम्रो यो नेपाल समृद्ध कहिले हुन्छ होला?” हृदयेन्द्र थोरै हाँस्दै भन्छन्, “मान्छेले राम्रो काम गर्यो भने, सबै कुरा राम्रोसँग चल्यो भने हुन्छ होला!” भन्दै गर्दा पुनः थप्छन्, “अलिकति हामी पनि लाग्नुपर्यो, आँट गर्नुपर्यो भने हुन्छ होला।” भन्दै यो देश बनाउन हामी सबैको कर्तव्य हो, हामी लाग्यौं भने मात्र देश समृद्ध हुन्छ भन्ने आशय व्यक्त गर्छन्।
तर पञ्चकली बुढाको त्यो मुस्कानसँगै हजारौं कर्णालीका पञ्चकलीको मुस्कान जोडिएको छ। अनि हजारौं पञ्चकलीहरूलाई चिन्ता छ! शोक छ! कर्णाली समृद्ध कहिले हुन्छ भन्ने प्रश्नमा। प्रकृतिले दिएको अनुपम उपहार तर राज्यले गर्ने व्यवहारको विरुद्ध हरेक पञ्चकलीका आवाजहरू चिच्याइरहेका छन्। कराइरहेका छन्। अझ भनौं, एक खालको चिच्याहट छ तर त्यो चिच्याहट राज्यको कानले सुन्दैन र नसुनेझैं गर्छ।
उनले हृदयेन्द्रको भिडियो भ्लगमा गाएको त्यो गीतले हृदयेन्द्रको हृदय छोयो कि होइन त्यो पत्तो भएन, तर दुनियाँको हृदय, अर्थात् कर्णालीको हृदय। अवश्य छोएको छ। उनले निकै सुरिलो आवाजमा गाएकी छन्। उनले गाएका गीतका शब्दहरू हुन्,
“जुम्ला फल्छ धान
संसारकै अग्लो ठाउँमा
कोही सुन्दैनन् कान
कर्णाली रोएको आवाज”
“हाम्रै सिजादरा
खस भाषाको उद्गम स्थल
हुन्छ कठैबरा
राज्यको सौतेनी व्यवहार”
यी शब्दले गीत गाउँदा झट्ट सुन्दा निकै आनन्द लाग्छ, तर गीतको भावमा डुब्ने हो भने यी शब्दहरूमा मार्मिकता लुकेको छ। कर्णालीको रोदन गुन्जिरहेको छ। अझ यसरी भन्न सकिन्छ। कर्णालीको जीवित आत्मा भत्किरहेको छ। अनि राज्यलाई हजारौं प्रश्नले विद्रोहको आवाज सुनाइरहेछ।
पञ्चकलीले गीत मात्र गाएकी होइनन्, उनले त राज्यले कर्णालीलाई गर्ने सौतेनी व्यवहारविरुद्धको एक क्रान्ति गरेकी हुन्। जुन विद्रोह जो, कसैले त्यति सहजै गर्न सक्दैनन्। जुन क्षमता पञ्चकलीजस्तै सीमित मान्छेले मात्रै गर्न सक्छन्। उनले रचेका यी शब्दले साँच्चिकै कर्णाली बोलेको छ।
अब उठ, जाग र कर्णालीका निम्ति केही गर भन्ने सन्देश दिएको छ। अब पञ्चकलीका यी बुलन्द आवाजहरू एक भिडियो भ्लगले मात्रै सुनाउने छैनन्। मलाई थाहा छ, प्रत्येक कुना–कुनामा पञ्चकलीजस्तै बुलन्द आवाजहरू छन्, जो एकसाथ उठ्नेछन् र अब पञ्चकलीसँगै हजारौं कर्णालीका पञ्चकलीहरू मैदानमा उत्रनेछन्। यो राज्यलाई भयानक प्रश्न गर्नेछन् र कान सुन्ने गरेर भन्नेछन्।















