हालसम्म पनि स्थानीय बासिन्दाहरू जोखिमपूर्ण अवस्थाको यो पुल प्रयोग गरेर आवतजावत गरिरहेका छन्।
अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–९ कालेकाडा चिलतडा र कर्णाली प्रदेशको दैलेख जिल्लास्थित आठबिस नगरपालिका–४ खिड्किज्युला तार बजारलाई जोड्ने कर्णाली नदीमाथिको पुरानो र जीर्ण झोलुङ्गे पुलको आइतबार अनुगमन सम्पन्न भएको छ।
अनुगमनमा नयाँ सहर आयोजनाका प्रमुख प्रवेशराज लामिछाने, इलाका प्रहरी कार्यालय राकम कर्णाली (दैलेख) का इन्चार्ज सुर्य बहादुर कार्की, इलाका प्रहरी कार्यालय कालेकाडाका प्रमुख राम सिंह फरालसहितका अधिकारीहरू सहभागी थिए।
अनुगमनपछि यो पुलको पुनर्निर्माण केही दिनभित्रै सुरु हुने संकेत प्राप्त भएको छ। हालसम्म पनि स्थानीय बासिन्दाहरू जोखिमपूर्ण अवस्थाको यो पुल प्रयोग गरेर आवतजावत गरिरहेका छन्।
पुल अत्यन्त जिर्ण भइसकेकाले यसलाई पूर्ण रूपमा बन्द गर्ने वा मर्मत गरेर पुनः सञ्चालनमा ल्याउने भन्ने निर्णयका लागि माथिल्लो तहसँग छलफल हुने इलाका प्रहरी कार्यालय राकम कर्णालीका इन्चार्ज कार्कीले बताए।
नयाँ सहर आयोजनाका प्रमुख लामिछानेले यो विषयमा पूर्वाधार विकास कार्यालय सुर्खेत र जिल्ला प्रशासन कार्यालय दैलेखसँग समन्वय भइरहेको र केही दिनभित्रै ठोस निर्णय हुने जानकारी दिए।
हाल यो पुलबाट दैलेखका करिब १०० विद्यार्थी अछामको पञ्चदेवल विनायक नगरपालिका–९ मा रहेको श्री चण्डिका माध्यमिक विद्यालयमा पढ्न आउजाउ गरिरहेका छन्। गत जेठ २७ गते बिहान अछामबाट दैलेखतर्फ १४ वटा खच्चर लैजाँदै गर्दा पुल भाँचिएको थियो, जसमा दुई खच्चरको ज्यान गएको थियो।
पुल पुनर्निर्माणका लागि स्थानीय अभियन्ता भरत साउदले केही रकम संकलन गरिसकेका छन्। आठ महिनासम्म पनि पुनर्निर्माण नहुँदा स्थानीयमा निराशा बढेको थियो। तर, अनुगमनपछि पुनर्निर्माणको आशा पलाएको अभियन्ता साउदले बताए।