बुधबार, १० असार, २०८३

कविता : गाउँसभाको झोला

गाउँसभा तिर उक्लिँदै छ एउटा झोला,
काँधमा गाउँको नाम बोकेझैँ देखिन्छ।
भित्र हेर्दा, त्यो गाउँको होइन,
आफ्नै आसेपासेको नक्सा भरिएको छ।
उसका शब्दमा विकासका गीत छन्,

सुरहरू आफ्नै आँगनमा बजिरहेका छन्।
उसले सुनाउँछ समृद्धिका कथा ।
पात्रहरू सधैँ आफ्नै मान्छे हुन्छन्।
निमुखाको आँसु उसलाई देखिँदैन,
अशक्तका चर्किएका हातहरू पढिँदैनन्।

उसका आँखामा आसेपासेका
इच्छा मात्र उज्याला हुन्छन्
अरूका सपना भने अँध्यारो कुनामा
थन्किएका हुन्छन् ।

उसले नीति बनाउँछ,
नियम लेख्छ,
योजना बुन्छ,
तर,
कलमको मसीले सधैँ आफ्नै पक्षमा लेख्छ
गाउँमा भोक छ,
बेरोजगारी छ,
अभावका लामा कथाहरू छन्।
उसका कागजमा यी समस्या केवल आफ्ना मान्छेका मात्र समस्या बन्छन्।

झोला खुल्छ,
सुनौलो भविष्यका भाषण झर्छन्,
ताली बज्छ…
आशाका फूलहरू पनि फुल्छन्।
कार्यान्वयनको बाटोमा पुग्दा,
ती फूलहरू आफ्नै बारीमा मात्र रोपिएका भेटिन्छन्।

गाउँ अझै प्रतीक्षामा छ,
एउटा यस्तो झोलाको,
जसमा आफ्ना होइन,
सबैका सपना अटाएका होऊन्।
जसले भाषण मात्र होइन,
न्याय पनि बाँडोस्,
विकासको घाम हरेक आँगनमा,
समान रूपमा पुगोस् ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार