शनिबार, २३ श्रावण, २०८३

अस्पतालको वाइफाई चलाएको विषयमा विवाद, स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने तीन जना पक्राउ

पलाँता गाउँपालिका–९ स्थित पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि हातपात तथा अस्पतालका सामान तोडफोड गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

शुक्रबार दिउँसो अस्पतालको वाइफाई प्रयोग गरी मोबाइलमा गेम खेलिरहेका दुई किशोरलाई चिकित्सकले अस्पतालको ओपीडी क्षेत्रबाट बाहिर गएर मोबाइल चलाउन भनेपछि विवाद सुरु भएको प्रहरीले जनाएको छ। १४ र १५ वर्षका ती दुई किशोर एकै घरका भाइ रहेको बताइएको छ।

चिकित्सकसँग विवाद भएपछि उनीहरूका परिवारका अन्य सदस्यसमेत अस्पतालमा पुगेका थिए। त्यस क्रममा चिकित्सक तथा नर्समाथि दुर्व्यवहार र हातपात भएको प्रहरीको भनाइ छ। घटनामा अस्पतालभित्र अनधिकृत रूपमा प्रवेश गरी केही सामानसमेत तोडफोड गरिएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी सुरेश खत्रीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। अस्पतालजस्तो संवेदनशील क्षेत्रमा स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहार र तोडफोडको घटनालाई प्रहरीले गम्भीर रूपमा लिएको जनाएको छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार