नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै ३५ वर्षमुनिका युवा महेश हमालले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्।
पार्टीमा नयाँ पुस्ताको सहभागिता, बलियो संगठन र समृद्ध नेपालको नारासहित उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।
‘नयाँ पुस्ता, बलियो संगठन, समृद्ध नेपाल’ भन्ने नारासहित सार्वजनिक गरिएको हमालको उम्मेदवारी प्रचार सामग्रीमा युवाको सहभागिता र नेतृत्व विकासलाई प्राथमिकतामा राखिएको छ।
हमालले पार्टी संगठनलाई सुदृढ बनाउने, कार्यकर्ताको सम्मान र संरक्षण गर्ने तथा संगठनभित्र पारदर्शिता र लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउने विषयलाई आफ्नो प्राथमिकताका रूपमा प्रस्तुत गरेका छन्।
उनले युवा सहभागिता र नेतृत्व विकास, संगठन निर्माण, कार्यकर्ताको सम्मान र संरक्षण, पारदर्शिता तथा लोकतान्त्रिक अभ्यासलाई जोड दिएका छन्।
‘गाउँ–टोलसम्म पार्टी संगठन विस्तार, स्थानीय तहमा पार्टीको भूमिका प्रभावकारी बनाउने र युवालाई रोजगारी तथा उद्यमशीलताका अवसरसँग जोड्ने विषय मेरो प्राथमिकतामा छन्,’ उनले भने।
उम्मेदवारले पार्टीभित्र नयाँ पुस्ताको अनुभव, विचार र ऊर्जालाई संस्थागत गर्दै संगठनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी अघि सारेको प्रचार सामग्रीमा उल्लेख छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका सार्वजनिक भएको छ। महाधिवेशनअन्तर्गत पार्टीका विभिन्न तहमा अधिवेशन तथा प्रतिनिधि चयन प्रक्रिया अघि बढिरहेको छ।
















