अक्षर वार्ता With Madan जहाँ अक्षर बोल्छन्, भावना पोखिन्छन्।
गजल, कविता र मुक्तकसँग गन्थन गर्ने यो साझा चौतारीमा हामी सर्जकका रचनामात्र होइन, ती रचना भित्र लुकेका अनुभूति, विचार, सङ्घर्ष , सपना र सिर्जना यात्रासँग पनि संवाद गर्नेछौँ।
यो यात्रामा सर्जकसँग १७ प्रश्न हुनेछन्। कुनै प्रश्नको उत्तर दिन असहज लागेमा एउटा प्रश्न Skip गर्न सकिनेछ। यो मुक्तक विशेष शृङ्खला रहने छ । मुक्तकको मर्म, सौन्दर्य, शिल्प, अनुभूति र समय सँगको सम्बन्धबारे गन्थन गर्नेछौँ।
हामी सर्जकलाई प्रश्नभित्र बाँध्न चाहँदैनौँ, बरु प्रश्नको बाटो हुँदै सर्जकको मनसम्म पुग्न चाहन्छौँ। यहाँ अक्षरसँग अक्षरको भेट हुनेछ, सर्जकसँग सर्जकको संवाद हुनेछ।
सायद केही कुरा प्रश्नले खोल्नेछन्, केही कुरा उत्तरले अक्षर वार्ता With Madan मा हाम्रा पाठक, स्रोताहरूलाई हृदयको गहिराइबाट स्वागत छ। म मदन शाही।
डेढ दशकदेखि मुक्तकको खेती गरिरहनु भएका , मुक्तकलाई पनि सरकारी मान्यता दिलाउँछु भनेर लागिरहनु भएका मुक्तककार आदरणीय सुनिल अधिकारीसँग मुक्तक गन्थन गर्नेछौँ । अक्षर वार्ता With Madan मा यहाँलाई हार्दिक स्वागत छ। सुरुवातमै तपाईंलाई मन परेका तपाईका ३ मुक्तक ।
हार्दिक धन्यवाद !
मुक्तकहरू
१
नयाँ पालुवा हाल्छ बसन्तले, पुराना पात झर्दै जाओस्
ढकमक्क फुलोस् सयपत्री, बनमारा ओझेल पर्दै जाओस्
के सिक्ने भोलिका सन्ततिले चौतारीको बरपीपलबाट
मानवीय धर्म तथा संस्कार, पिँढी-दर-पिँढी सर्दै जाओस् l
२
कलियुगमा दुर्जनबाट सज्जनहरू शासित छन्
गीताका उपदेश पनि कौरवबाट अनुवादित छन्
विद्वानहरूको सभामा मूर्खले प्रवचन दिँदै थियो
वेद पुराण आदि सब, बाइबलबाट प्रभावित छन् l
३
अगाडि ठिक्क पार्छन्, पछाडि रिसराग लाउँछन्
सम्बन्ध जोड्न अघि गुणन घटाउ भाग लाउँछन्
नाफा र नोक्सान तौलन्छन् प्रेमका व्यापारीहरू
मायामा पनि दिल हैन, बनियाँ दिमाग लाउँछन् l
१. मुक्तक के हो, र के होइन? मुक्तक छोटो छ, तर यसको आयतन चार हरफ भन्दा धेरै ठूलो हुन्छ भनिन्छ। तपाईंका लागि मुक्तक चार हरफको रचना हो कि चार हरफ भित्र जीवनको एउटा पूरा अनुभूति अटाउने सिर्जना ? छोटो हुनु र सङ्क्षिप्त हुनु एउटै कुरा हो?
– मुक्तक, वाह्य संरचनाको कुरा गर्दा ४ हरफको रचना हो l आन्तरिक गुणको कुरा गर्दा ४ हरफ भित्रै जीवनको एउटा पूरा अनुभूति अटाउने सिर्जना हो । हरफ छोटो होला, तर यसले बोकेको सार भने एउटा कविताले बोक्ने भार जत्तिकै छ l त्यसैले यसलाई बिन्दुमा सिन्धु अटाउने विधा भनिएको हो l
२. दुई चार चोटिला वाक्य लेखेर त्यसलाई मुक्तक भन्ने अभ्यास पनि बढेको छ। तपाईंको दृष्टिमा कविता, उखान, गजलको शेर र मुक्तक बीचको त्यो अदृश्य सीमारेखा कहाँ छ? चार हरफ पूरा हुँदैमा मुक्तक जन्मिन्छ कि मुक्तक बन्न अझ केही चाहिन्छ?
– अरू विधामा जस्तो विचार प्रकटीकरणको निमित्त फराकिलो सुविधा मुक्तकमा छैन l अरू विधा भन्दा पनि झट्ट हेर्दा गजलका दुई शेरसँग मिल्दोजुल्दो देखिए तापनि गजलमा जस्तो फरकफरक विषयमा लेख्न मिल्ने सुविधा पनि यसमा छैन l फेरि, चार हरफ पूरा हुँदैमा मात्रै पनि मुक्तक बन्दैन l यसकाहरेक हरफहरूबीच अन्तरसम्बन्ध रही स्वयममापूर्ण, सघन भाव सहितको तीव्रता, विषय निरपेक्ष तथा प्रभावोत्पादक हुनुपर्दछl
३. सिर्जना जति स्वतन्त्र भयो, त्यति नै अनुशासनको आवश्यकता पर्छ भन्ने तर्क पनि छ। मुक्तक कति मुक्त हुन सक्छ? लय, अन्त्यानुप्रास, संरचना र कथ्यका कुनै सीमा छन् कि मुक्तकलाई पूर्णतः खुला छोडिदिनुपर्छ?
– जतिसुकै स्वतन्त्र भए पनि हरेक विधाका आआफ्नै विधान छन्, हुनु पनि पर्छ l यही विधानको परिधिभित्र पर्छ संरचना, लय, अनुप्रास आदि l यो सीमारेखा नहुने होभने गजल, मुक्तक भनेर नाम दिनै पर्दैन थियो l
४. लामो कविता लेख्दा कविले विस्तार पाउँछ; मुक्तकमा चार हरफमै कुरा टुङ्ग्याउनुपर्छ। त्यसो भए मुक्तक छोटो विधा हो कि सबैभन्दा कठोर सम्पादन माग्ने विधा? एउटा राम्रो मुक्तक लेख्नु अघि कति नराम्रा हरफहरू मार्नुपर्छ?– नियम भन्नु अनुशासन हो l अनुशासन भनेपछि त्यो लचिलो त अवश्य हुँदैन l परिष्कृत हुने प्रक्रियामा पटकपटक सम्पादन हुनु, परिमार्जन हुनु स्वाभाविकै हो l
५. मुक्तकको अन्तिम हरफले अघिल्ला तीन हरफलाई नयाँ अर्थ दिने क्षमता राख्छ भन्ने मानिन्छ। मुक्तकको सौन्दर्य उसको अन्त्यमा हुन्छ कि सम्पूर्ण यात्रामा? अन्तिम हरफमा ‘ट्विस्ट’ ल्याउने लोभले कतिपय मुक्तक कृत्रिम र चुट्किला जस्ता भएका त छैनन्?
– यात्रा सुरु नै नभईकन अन्त्य हुने त कुरै भएन l यात्राको सुरुआतसँगै उत्तरोत्तर भावोत्कर्ष हुँदै चरमोत्कर्षमा पुर्याएर विषयको पटाक्षेप चमत्कारी ढङ्गबाट हुनुपर्छ l यहाँ कुनै पनि हरफ अर्कोभन्दा कमजोर हुनुहुँदैन l तर, थोरै मेहनतले छिटै चर्चित हुने लोभमा अघिल्लो दुई हरफमा जबर्जस्ती अनुप्रास मिलाएर, तेस्रो हरफ पनि केवल खाली ठाउँ भर्नलाई जोडेर, अन्तिम हरफमा चाहिँ भुईंचालो नै ल्याउने प्रयास गरिएका पनि छन् l अनि मुक्तक, चुट्किला जस्तो नबनोस् कसरी l
६. सामाजिक सञ्जालमा तुरुन्त ताली पाउने मुक्तक प्रायः चोटिला हुन्छन्। तर चोटिलो वाक्य सधैँ गहिरो साहित्य हुन्छ? पाठकलाई तत्काल वाह! भन्न लगाउनु ठूलो उपलब्धि हो कि पढिसकेपछि लामो समयसम्म मौन बनाइदिनु?
– यो अलिकति पेचिलो प्रश्न हो l पाठकले तत्काल वाह ! भन्दैमा उसले बुझेछ भन्न सकिन्न l सामाजिक सञ्जालमा जे लेखे पनि वाह भन्ने चलन छ, चाहे त्यो नमिलेकै किन नहोस् l त्यस्तै, ‘मौन बनाइदिनु’को अर्थ मुक्तक नबुझेर पनि हुनसक्छ वा स्तब्ध भएर पनि हुनसक्छ l यी त पाठकमा पनि भरपर्ने कुरा हुन् l मुख्य कुरा भनेको मुक्तकको आयु लामो हुनुपर्छ l
मैले सजिलोसँग बुझ्नलाई मुक्तकलाई दुई किसिममा वर्गीकरण गरेको थिएँ, एउटा ‘क्लास’ मुक्तक, अर्को ‘मास’ मुक्तक l तत्काल वाह आउने मास मुक्तक हुन् भने स्तब्ध बनाइदिने क्लास मुक्तक हुन् l र यी दुवै किसिमका पारखी पाठक/श्रोताहरू प्रशस्तै छन् l
७. मुक्तकमा प्रेम, धोका, वियोग र सम्बन्ध अत्यन्त लोकप्रिय छन्। के मुक्तककार पनि प्रेम र विरहको सुरक्षित घेराबाट बाहिर निस्कन डराइरहेका छन्? भोक, श्रम, राजनीति, विस्थापन, वर्ग, लैङ्गिकता, युद्ध, परदेश र समयका कठोर प्रश्नहरूलाई चार हरफमा बोक्न सकिँदैन कि हामीले प्रयास गरेनौँ?
– सुरुआतमा भनौँ, सिकारु हुँदा लेख्न सजिलो लाग्ने विषय नै यिनै हुन् l कोही पछिसम्म पनि यिनै विषयमा रुमल्लीरहन्छन् भने अघि बढ्न चाहनेहरू विषयमा विविधता खोज्छन् l विविध विषयहरूमा लेखिएका पनि छन् l
८. छोटो रचना भनेर मुक्तकलाई हल्का साहित्य ठान्ने प्रवृत्ति पनि छ। चार हरफले समाजलाई प्रश्न गर्न सक्छ? सत्ता हल्लाउन सक्छ? कुनै मानिसको सोच बदल्न सक्छ? वा मुक्तकको काम केवल मनोरञ्जन र भावुकता पैदा गर्नु हो?
– भन्न त हामी भन्छौं ‘तरवारभन्दा कलम शक्तिशाली हुन्छ’ l दुनियामा एकाध त्यस्ता क्रान्तिहरू नभएका पनि होइनन्, जुन बन्दूकको नालबाट होइन, कलमको मसीबाट सफल भएका थिए l हाम्रै देशको सन्दर्भमा पनि ३६ साल तथा ४६ सालका विद्रोहहरूमा सडक कविताले क्रान्तिकारी भूमिका निर्वाह गरेको थियो l त्यसैले साहित्य केवल मनोरञ्जन वा भावुकताको लागि मात्रै हो भन्नचाहिँ मिल्दैन l

९. मुक्तकमा शब्द थोरै हुन्छन्, त्यसैले प्रत्येक शब्दको वजन ठूलो हुन्छ। मुक्तककारका लागि भाषा अलङ्कार हो कि हतियार? स्थानीय भाषा, बोली, लोक मुहावरा र आफ्नै भूगोलको शब्द प्रयोग गर्दा मुक्तकको सौन्दर्य बढ्छ कि पाठकको दायरा घट्छ?
– भाषा अलङ्कार माध्यम हो, जसलाई विकृति, विसङ्गतिहरूको विरुद्ध हतियारको रूपमा प्रयोग पनि गर्न सकिन्छ l हाम्रो भाषा आफैँमा यति समृद्ध छ कि हामीलाई विदेशी भाषाको प्रयोग गरीरहनै पर्दैन l स्थानीय झर्रा शब्दहरूको प्रयोगले कथनमा सौन्दर्य पनि थप्छ र मिठास पनि ल्याउँछ l
१०. तपाईँको मुक्तक सङ्ग्रह प्रकाशित छ? छ भने कुन कुन सङ्ग्रह बजारमा उपलब्ध छन्? सङ्ग्रह प्रकाशित गर्दाका कथा सुनाउनु हुन्छ ? अर्को मुक्तक सङ्ग्रह प्रकाशनको तयारी गरिरहनु भएको त छैन ? र केही मुक्तक ।।
– मेरो एकल सङ्ग्रह आजको दिनसम्म प्रकाशन गरेको छैन l सायद अर्को बर्षतिर हुन्छ होला l तर मेरो संयोजनमा ‘फोटोमा मुक्तक प्रतियोगिता’ का विजयी मुक्तकहरू समेटेर “विजयोपहार – २०८०” तथा “दोस्रो विजयोपहार – २०८२” प्रकाशन भैसकेका छन् l सङ्ग्रह प्रकाशनभन्दा पनि तिनका बजार व्यवस्थापनका चुनौतीहरूका लामै कथा छन्, तिनलाई कुनै अर्कै बैठकमा सुनाउँला l तीबाहेक मेरो सम्पादनमा लगभग २५ वटा सङ्ग्रहहरू प्रकाशन भैसकेका छन् l
केही मुक्तकहरू
१
सुषुप्त घाउ शब्दहरूसँगै अनायासै बल्केको पीर छ
तिम्रो गुनासोमा अल्झिएर जीवन सल्केको पीर छ
म प्रतिको अवज्ञा, धृष्टतालाई तिमी शान सम्झनू
मलाई ‘बुढी मरी भन्दा पनि काल पल्केको’ पीर छ l
२
उमेरले नेटो काट्दैमा कसैमा अझै बुद्धि आ’को हुँदैन
अनुभवले खारिनु पर्छ, उमेर खाँदैमा बुढो भा’को हुँदैन
सुकृत्य सुगन्ध हो फैलिन्छ, कुकृत्यले चरित्र मैलिन्छ
तालु खुईलिँदैमा र कपाल पाक्दैमा कोही पाको हुँदैन l
३
जति भजन गाऊ बेकार छ, तिम्रै भगवानसम्म नपुगे
मुर्दाको पनि कहाँ सद्गति हुन्छ, चिहानसम्म नपुगे
पहिला मेरो ‘चासो’को लायक बन्नू, अनि कुरा काट्नू
नत्र व्यर्थ होलान् काटेका कुरा, मेरै कानसम्म नपुगे l
११. मुक्तक धेरै पढिन्छ, सुनिन्छ, सेयर हुन्छ। तर त्यसबाट मुक्तककारको जीवन कति चल्छ? हामी साहित्यलाई माया गर्छौँ कि साहित्यकारको श्रम निःशुल्क उपभोग गर्छौँ? मुक्तकको आर्थिक भविष्य देख्नुहुन्छ? तपाईंले लेख्न चाहेर पनि नलेखेको कुनै विषय छ? त्यो नलेख्नुको कारण डर हो, समय हो, समाज हो कि शब्द नै नपुग्नु?
– सही भन्नु भो l सबैभन्दा बढी लेखिने, पढिने र सङ्ग्रह छापिने विधा मुक्तक नै हो l तर मुक्तक लेखेर जीवनयापन होला भनेर सोच्नु चाहिँ बेकार छ l मुक्तक मात्रै होइन, गजल, कथा, कविताका पनि उही हाल छन् l हामी साहित्यलाई माया त गर्छौँ तर साहित्यका किताब किनेर पढ्नुपर्छ भन्ने चेतचाहिँ कमैमा मात्र छ l यसको दोषी पनि हामी नै हौँ l एउटा सङ्ग्रह प्रकाशन गर्दा आर्थिकको साथै मानसिक, शारीरिक लागत पनि लागेको हुन्छ l तर प्रकाशन गरिसकेपछि त्यसलाई विक्री गर्ने कोसिस गर्नुभन्दा हामी सित्तैँ उपहार दिन्छौँ l मैले आफ्नो १५ बर्षको मुक्तक यात्राको क्रममा मुक्तककारले झोलामा बोकेर अर्काको कार्यक्रममा गएर उपहार बाँडेको धेरैपटक देखेको छु l तर म आफूलाई त्यो ठाउँमा राखेर कल्पनै गर्न सक्दिनँ l दिनेले नै “कसले किन्छ र ?” भन्ने मानसिकता देखाउँछ भने लिनेले “किन किन्नु र ?” भन्नु स्वाभाविकै हो l यही कारणले गर्दा पनि मैले आफ्नो सङ्ग्रह अहिलेसम्म ननिकालेको हुँ l हरेक पेशामा लागेकाले आफ्नो श्रमबापतको पारिश्रमिक पाउँछ भने मुक्तककारले किन नलिने ? यही विसङ्गति चिर्नलाई पनि हामीले पोहर साल ‘मुक्तकालय नेपाल’ बाट २०० जना नारी मुक्तककारहरूलाई पारिश्रमिक दिएर उहाँहरूको संयुक्त मुक्तकसङ्ग्रह प्रकाशन गर्यौं l यसैबाट अनुमान लगाउनुस् मुक्तकको आर्थिक वर्तमान र भविष्य l
मैले लेख्न चाहेको हरेक विषयमा मैले मुक्तक लेखेको छु l विषय पुरानै भए पनि त्यसलाई अलि फरक रूपमा प्रस्तुत गर्ने कोसिस गरेको हुन्छु l
१२. मुक्तक प्रतियोगिता धेरै छन्। पुरस्कार छन्, प्रमाणपत्र छन्, सामाजिक सञ्जालको प्रशंसा छ। प्रतियोगिताले मुक्तकको गुणस्तर बढाइरहेको छ कि चार हरफमा ताली कसरी पाउने भन्ने मनोविज्ञान जन्माइरहेको छ? पुरस्कार नपाएको राम्रो मुक्तक र पुरस्कार पाएको कमजोर मुक्तक मध्ये इतिहासले कसलाई सम्झिन्छ?
– सञ्जालमा च्याउसरि उम्रिएका दर्जनौँ संस्थाहरूबाट प्रतियोगिता त हप्तैपिच्छे भैरहेकै छन् l किनकि यो गर्न सजिलो छ l न संस्था कतै दर्ता गर्न पर्छ, न कसैसँग अनुमति लिनुपर्छ, न अनुभव चाहियो, न त पुरस्कारको लागि खासै रकम खर्चिन पर्छ l अब यसको फाइदा भनुँभने मुक्तककारहरूको सङ्ख्याचाहिँ बढेको छ l तर मुक्तकको गुणस्तरभने त्यही अनुपातमा छैन l प्रतियोगिताको सँगसँगै मुक्तकको बारेमा बुझाउने, प्रशिक्षण दिने र अभ्यास गराउनेजस्ता कामहरू पनि भयोभने अझ राम्रो हुन्थ्यो l
पुरस्कार पाउनेजति सबै राम्रा नै हुन्छन् भन्ने छैन l त्यस्तै पुरस्कार नपाउँदैमा ती नराम्रा होलान् भन्ने पनि छैन l निरन्तर लेख्दै जाने हो, कमजोर रहेछभने समयको हावाहुरीले उडाउला, जरा बलियो रहेछभने टिकेर बसीहाल्छन् l
१३. कहिलेकाहीँ आरोप लाग्छ मुक्तककारहरू पढ्दैनन्, गहिरो सोच्दैनन्; केवल चोटिलो अन्त्य खोज्छन्। तपाईं यो आरोपमा कति सत्यता देख्नुहुन्छ? यदि सत्य छ भने गल्ती मुक्तककारको हो कि हामीले बनाएको तालीको बजारको?
– केही हदसम्म यो कुरा सत्य पनि हो lरचनामा गल्ती हुँदाहुँदै पनि तारिफ गर्नु भनेको कि त नबुझेको हुनुपर्यो, कि नपढेको l पढेर, गल्ती देखेर पनि नबोल्नुचाहिँ नरिसाओस् भनेर होला l यहाँ लेख्ने, देख्ने हामी सबैको गल्ती छ l लेख्नेलाई छिटो चर्चित हुने हतारो छभने देख्नेलाई “तोलाको जिब्रो फट्कार्नुभन्दा धार्नीको टाउको हल्लाउनु बेस” लाग्दोहोला l सबै त्यस्ता त होइनन्, तर यो रोग, कमोबेस नयाँ/पुराना धेरैमा छ l
१४. अब असहज प्रश्न: तपाईंलाई मुक्तककारहरू मध्ये चर्चित भएकाले होइन, साँच्चिकै राम्रो लेख्ने सर्जक अक्षर वार्ताका लागी सिफारिस गर्न पर्यो भने कसलाई सिफारिस गर्नु हुन्छ ?
– प्रश्न अलिकति असहज त पक्कै हो, तर यो अर्थमा कि राम्रो मुक्तक लेख्ने सर्जकहरू धेरै छन् l अब यस्तोमा, नाम नलिएकाहरूले चित्त दुखाउलान् भन्नुभन्दा पनिनाम छुट्ला कि भन्ने पो समस्या छ l
१५. तपाईंले लेखेको पहिलो मुक्तक सम्झनुहुन्छ? त्यो बेला तपाईंलाई म मुक्तक लेख्दैछु भन्ने चेत थियो कि एउटा अनुभूतिले चार हरफ खोजेको थियो? त्यो पहिलो मुक्तक अक्षर वार्ताका पाठकलाई सुनाउन सक्नु हुन्छ ?
– मेरो पहिलो मुक्तक, जसबाट म चिनिएँ, त्यो कहिल्यै बिर्सिन्नँ l झन्डै १५ वर्षअघि, त्यतिबेला मुक्तककै एउटा समुहमा आबद्ध भएर, त्यहाँ आएका धेरै प्रखर मुक्तककारहरूका मुक्तकहरू पढेर / बुझेर नै लेखेको थिएँ l त्यसैले पनि होला त्यो पहिलो मुक्तक लेख्न साह्रै गाह्रो लाग्यो l कसरी / कताबाट कुन विषयमा सुरु गर्ने र कहाँ / कसरी त्यसलाई टुङ्ग्याउने ? यही अन्योलमा थिएँ l आखिरमा यही अन्योलको भावलाई नै मुक्तकमा ढालेँ l जुन धेरै चर्चित भयो र त्यसपछि मैले कहिल्यै पछाडि फर्केर हेर्न परेन l
पहिलो मुक्तक
पहिले कोरेँ अनि केरेँ, फेरि कोरेँ, कोर्दै केरिरहेँ
माथिदेखि तलसम्म कोर्दै केर्दै धेरैपल्ट हेरिरहेँ
मथिङ्गलको ठेकीमा मदानी घुमि नै रह्यो,
एउटा मुक्तक लेख्न घरीघरी कागज फेरिरहेँ l
१६.अन्तिम प्रश्न; यसपटक मेरो होइन। आजसम्म अरूले तपाईंलाई प्रश्न सोधे। अब तपाईंले आफैँलाई एउटा असहज प्रश्न सोध्नुपर्यो भने के सोध्नुहुन्छ? र त्यो प्रश्नको उत्तर दिन तपाईं आफैँ तयार हुनुहुन्छ?
– म विगत् डेढ दशकदेखि मुक्तक यात्रामा छु l मुक्तकलाई अन्य विधासरह सरकारी मान्यता दिलाउने अभियानमा छु l जस्तै, प्रज्ञाप्रतिष्ठानबाट मुक्तक महोत्सव गर्ने, पाठ्यक्रममा मुक्तकलाई समावेश गराउने, पुरस्कारको स्थापना गराउने आदि l मुक्तककै लागि भनेर अहिलेसम्म जेजति गरेँ, निस्वार्थ रूपमा गरेँ l आज जहाँ छु, त्यहाँ म न कसैको काँध चढेर पुगेको हुँ, न कसैलाई टेकेर पुगेको हुँ l मलाई मुक्तकले नै चिनाएको हो l त्यसैले मैले पनि मुक्तकको लागि धेरैथोक गर्नुपर्छ भन्ने सोचेर आफूसक्दो गर्दैछु l आफूलाई आत्मसन्तुष्टि छ l कुनै असहजता छैन र सोध्नुपर्ने पनि कुनै प्रश्न छैन l
१७. मुक्तकका बारेमा कुरा गर्दै गर्दा हामीले मुक्तक मात्रै होइन, देश, परदेश, समाज, राजनीति, बजार आफूलाई समेत प्रश्न गर्यौँ।अन्तिममा अक्षर वार्तालाई सुझाव र तपाईका चर्चित मुक्तकहरु..?
– अग्रजहरूलाई सबैले सम्मान गरेका हुन्छन्, मञ्चमा स्थान दिएका हुन्छन्, पुरस्कृत गरेका हुन्छन् l मचाहिँ अग्रजलाई सम्मान गर्छु तर अनुजहरूलाई जेजसरी सकिन्छ, अगाडि बढाउने चेस्टा गर्छु l त्यसैले सकिन्छभने यो अक्षरवार्तामा पनि सकेसम्म अनुजहरूलाई नै धेरैभन्दा धेरै ठाउँ दिनुस् भन्ने सुझाव छ l
केही मुक्तकहरू
१
नमरे त सबै देउतै हो, म नि मर्न नपरे हुनी हो
छेउकै घाटले जिस्काउँछ, “तेरो अजम्बरी जुनी हो ?”
परिणाम सबको एउटै, जाने बाटो फरकफरक
कोही सुत्छन् चितामाथि, कोही जमीनमुनि हो ।
२
मूलजस्तो स्थिर होस् मन, जता ओरालो उतै बग्ने नहोस्
बदनाम जालन्धर सही, विष्णुझैँचरित्रबाट डग्ने नहोस्
भिरबाट गिर्दा नजरबाट फिर्दा, लडेर उठ्न सकिएला
तरउठ्नै नसक्नेगरी कवै आफ्नै आत्मालाई ठग्ने नहोस् ।
३
बद्लिने क्रममा सधैँ सुई मात्रै सर्ने समय के काम ?
आमूल परिवर्तन नभए विध्वंसको प्रलय के काम ?
हुन त हरेक पक्षको एउटा विपक्ष हुन्छ, ध्रुवसत्य हो
तर प्रेममा स्वार्थ, भक्तिमा सन्देह, युद्धमा भय के काम ?

सबै तस्बिरहरु एआईद्वारा सिर्जना गरिएका हुन।
















