जुम्लाको गुठिचौर गाउँपालिका–१ गडिगाउँमा शनिबार राति भएको आगलागीबाट एकल तथा अपाङ्गता भएकी महिलाको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। आगलागीबाट घरधनी ठिसिनी एडिको करिब २२ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
शनिबार राति करिब ११ बजेतिर ठिसिनीको साढे दुई तले काठले बनेको घरमा अचानक आगलागी भएको हो। घरमै सञ्चालन गर्दै आएको पसलमा रहेका करिब ५ लाख रुपैयाँ बराबरका सामानसमेत आगलागीमा जलेर नष्ट भएका छन्।
आगलागीबाट घरमा राखिएका जौ, गहुँ, कोदो, फापर, मकै, चामललगायत अन्नपात, घरायसी सामग्री, दुई तोला सुन र एउटा बाख्रा जलेर नष्ट भएको ठिसिनीले बताइन्।

आगलागीको रात सम्झिँदा ठिसिनी अझै त्रसित हुन्छिन्। उनका अनुसार आगो लागेको समयमा उनी घरमै सुतिरहेकी थिइन्।
‘राति करिब ११ बजेको थियो। म सुतिरहेकी थिएँ। अचानक मुखमा तातो महसुस भयो। उठेर हेर्दा घरमा आगो लागिसकेको रहेछ,’ उनले भनिन्, ‘पहिला पैसाको बाकस खोजेँ, तर भेटिनँ। त्यसपछि नानीलाई समातेर तल प्रेमलाई बोलाउन गएँ। उसको कोठामा पुग्दा ऊ त्यहाँ थिएन।’
आगो तीव्र गतिमा फैलिँदै गएपछि आफूले नानीलाई लिएर घरबाहिर निस्किएको र छिमेकीसँग सहयोग मागेको उनले बताइन्।
‘आगो झन् बढ्दै गयो। आफूले बचाउन सक्ने केही पनि बचाउन सकिनँ। नानीलाई लिएर बाहिर निस्किएँ र गाउँलेहरूलाई गुहार गरेँ,’ ठिसिनीले भनिन्, ‘गाउँलेहरू रातभर आएर आगो निभाउन खटिनुभयो। उहाँहरू नआउनुभएको भए अरू घर पनि जोगाउन गाह्रो हुने थियो।’
उनका अनुसार घरमा रहेको खाद्यान्न, लत्ताकपडा, पसलका सामान, सुनलगायत सबैजसो सम्पत्ति आगलागीमा नष्ट भएको छ।
‘घर पनि गयो, पसल पनि गयो। खाने अन्नसमेत बाँकी रहेन,’ उनले भनिन्, ‘अब कहाँ बस्ने र कसरी फेरि जीवन सुरु गर्ने भन्ने चिन्ता छ।’
आगलागीको केही समयअघि पातारासी गाउँपालिका–७ घर भएका प्रेम खड्का ‘लाटो’ घरमै रहेको ठिसिनीले बताइन्। उनी लामो समयदेखि गडिगाउँमा ज्यालादारी काम गर्दै आएका थिए र ठिसिनीको घरमा बस्दै आएका थिए।
ठिसिनीका अनुसार आगलागी भएको रात खाना खाइसकेपछि प्रेमले उनलाई पटक–पटक चाँडै सुत्न आग्रह गरेका थिए।
‘खाना खाइसकेपछि प्रेमले आज छिटो सुत्नुपर्छ भाउजू भनेर मलाई पटक–पटक चाँडै सुत्न भन्नुभएको थियो,’ उनले भनिन्, ‘म भने केही समय ढिलो गरी सुतेँ।’
प्रेम घरको तल्लो तलाको बायाँतर्फको कोठामा सुतेका थिए। तर आगलागी भएपछि उनलाई खोज्दा कोठामा नभेटिएको ठिसिनीले बताइन्।
आगलागीपछि गाउँलेहरूको सहयोगमा रातभर प्रयास गरेर आगो नियन्त्रणमा लिइएको स्थानीयले बताएका छन्।
आगलागीबाट ठिसिनीकी देउरानी विष्णकली एडिको घरमा समेत क्षति पुगेको छ। ढुंगा, माटो र काठले बनेको उनको घरको आधा भाग जलेर नष्ट भएको स्थानीयले बताएका छन्।
स्थानीयवासीका अनुसार आगो समयमै नियन्त्रणमा लिन नसकेको भए गडिगाउँका अन्य घरमा समेत फैलिन सक्ने जोखिम थियो। बाक्लो बस्ती भएकाले एउटा घरबाट अर्को घरमा आगो सल्किने अवस्था रहेको उनीहरूको भनाइ छ।
स्थानीयवासी रातभर आगो नियन्त्रणमा जुटेपछि ठूलो क्षति हुनबाट गाउँ जोगिएको बताइएको छ।
आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। घटनाबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेको जनाइएको छ।
एकल तथा अपाङ्गता भएकी ठिसिनीको घर, पसल र घरमा सञ्चित खाद्यान्नसमेत जलेर नष्ट भएपछि उनको परिवार तत्कालै आर्थिक र आवासीय संकटमा परेको छ। आगलागीबाट भएको क्षतिको यकिन विवरण संकलन गर्ने कामसमेत भइरहेको जनाइएको छ।
पीडित ठिसिनीले आफूले वर्षौं लगाएर जोडेको सम्पत्ति एकै रातमा खरानी भएको भन्दै पुनः घर र जीविकोपार्जनको व्यवस्था मिलाइदिन स्थानीय सरकार, प्रशासन तथा सहयोगी निकायसँग आग्रह गरेकी छन्।

















