सोमबार, २५ श्रावण, २०८३

आगलागी पीडित ठिसिनीलाई जिल्ला समन्वय समितिका उपप्रमुख थकालीको राहत र सान्त्वना

गुठीचौर गाउँपालिका–१ गडिगाउँमा आगलागीबाट घरसहित सम्पूर्ण जायजेथा गुमाएकी ठिसिनी ऐडीलाई जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख जनक थकालीले राहत तथा सान्त्वना प्रदान गरेका छन्।

शनिबार राति करिब ११ बजे ठिसिनीको साढे दुई तले काठले बनेको घरमा आगलागी भएको थियो। आगलागीबाट घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमानअनुसार आगलागीबाट करिब २२ लाख रुपैयाँ बराबरको क्षति भएको पीडित परिवारले जनाएको छ।

घरमै सञ्चालन गरिएको पसलका करिब पाँच लाख रुपैयाँ बराबरका सामानसमेत आगलागीमा जलेर नष्ट भएका छन्। अन्नपात, सुन, घरायसी सामग्री तथा एउटा बाख्रासमेत जलेर नष्ट भएको ठिसिनीले बताएकी छन्।

आगलागीपछि पीडित परिवारको अवस्था बुझ्न गडिगाउँ पुगेका उपप्रमुख थकालीले तत्काल राहत उपलब्ध गराउँदै ठिसिनीलाई धैर्य गर्न आग्रह गरे। उनले विपद्को कठिन अवस्थामा पीडित परिवारलाई एक्लो महसुस हुन नदिने प्रतिबद्धता व्यक्त गरे।

थकालीले व्यक्तिगत रूपमा तथा जिल्ला समन्वय समितिको तर्फबाट आवश्यक सहयोगका लागि पहल गर्ने बताएका छन्। तत्काल आवश्यक पर्ने राहतदेखि घर पुनर्निर्माण तथा दीर्घकालीन पुनःस्थापनाका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने उनको भनाइ छ।

एकल महिला तथा अपाङ्गता भएकी ठिसिनीको घर पूर्ण रूपमा जलेर नष्ट भएपछि परिवारको दैनिकीसमेत प्रभावित भएको छ। घरसँगै आयआर्जनको आधारका रूपमा रहेको पसल र घरमा सञ्चित खाद्यान्न तथा अन्य सामग्रीसमेत गुमेपछि अहिले उनलाई तत्काल बसोबास, खाद्यान्न र दैनिक आवश्यकताका सामग्रीको आवश्यकता परेको स्थानीयले बताएका छन्।

आगलागीमा ठिसिनीकी देउरानी विष्णकली एडिको घरमा समेत क्षति पुगेको छ। आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। घटनाबारे सम्बन्धित निकायले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ।

स्थानीयवासीका अनुसार आगलागी भएको थाहा पाएपछि गाउँलेहरू तत्काल आगो नियन्त्रणमा जुटेका थिए। स्थानीयको सक्रियताका कारण आगो आसपासका अन्य घरमा फैलिनबाट रोकिएको थियो।

एकैछिनमा घर, पसल र वर्षौं लगाएर जोडेको सम्पत्ति गुमाएकी ठिसिनीका लागि अहिले छिमेकी र स्थानीय समुदायको सहयोग नै ठूलो सहारा बनेको छ। स्थानीयवासीले पीडित परिवारको तत्काल राहतसँगै सुरक्षित बसोबास र पुनःस्थापनाका लागि स्थानीय सरकार, जिल्ला तथा प्रदेश सरकार र अन्य सहयोगी निकायलाई पहल गर्न आग्रह गरेका छन्।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार