गिडिदह यात्राको तेस्रो दिन हाम्रो टोलीका लागि विशेष, रोमाञ्चक र अविस्मरणीय बन्यो। पत्रकारहरू मानदत्त रावल, नौरते नेपाली, दीपक विक, आकाश सुनार, श्रीकृष्ण सुनार र म लगायतको टोलीले दोस्रो दिनको रात गिडिदहको किनारमै पाल टाँगेर विश्राम गरेका थियौँ। रातको शान्त वातावरणमा केही घण्टा आराम गरेपछि बिहान १:४५ बजे हामी फेरि यात्रामा निस्कियौँ।

गिडिदहस्थित धर्मशालाबाट केही तल झरेपछि बाटोमा रुवासाग भेटियो। रातिकै समयमा थोरै रुवासाग टिपेर साथमा लिएर हामी अगाडि बढ्यौँ। टर्चको उज्यालोमा गीत गाउँदै, रमाइलो गर्दै र एकअर्कालाई साथ दिँदै हाम्रो टोलीले यात्रा जारी राख्यो। करिब बिहान ५ बजे हामी फुलचौल्या पाटन पुग्न सफल भयौँ।


फुलचौल्या पाटनस्थित धर्मशालामा गिडिदह पुग्ने तथा फर्कने पर्यटकका लागि खाना तयारी भइरहेको थियो। त्यहाँ भान्सेहरू खाना पकाउँदै थिए भने केही मानिसहरू खसी काटेर मासु तयार पारिरहेका थिए। त्यही समयमा म, पत्रकार आकाश सुनार र श्रीकृष्ण सुनार केही माथिल्लो भागतिर याक्छे (चुके डक्ला) टिप्न गयौँ।

हामी फर्किएर आउँदासम्म पत्रकार मानदत्त रावल, नौरते नेपाली र दीपक विक भने यात्रा अगाडि बढाइसकेका थिए। त्यहाँ खाना खाएर मात्रै यात्रा गर्ने हाम्रो योजना भए पनि समयमै खाना उपलब्ध हुन नसकेपछि हामीले यात्रा निरन्तर अघि बढाउने निर्णय गर्यौँ।
फुलचौल्या पाटनको उच्च भागमा पुगेपछि केहीबेर विश्राम गर्ने अवसर मिल्यो। सबैसँग आ–आफ्नो झोलामा राखिएको जङफुट थियो। हामीले एकआपसमा बाँडेर खाजा खायौँ, तस्बिर खिच्यौँ र यात्राका रमाइला क्षणहरू स्मरणीय बनायौँ। पत्रकार नौरते नेपालीले “फुलचौल्या पाटन” उल्लेख गर्दै हाम्रो सामूहिक तस्बिर सामाजिक सञ्जालमा समेत पोस्ट गर्नुभयो।

त्यसपछि ओरालो यात्रा सुरु भयो। रमाइलो गर्दै, तस्बिर खिच्दै हामी गिडिखोला गाउँसम्म पुग्यौँ। त्यहाँ पुगेपछि टोलीका सदस्यहरू आ–आफ्नो गन्तव्यतर्फ लागे। म भने गिडिखोलास्थित आफ्नी दिदीको घरतर्फ गएँ। त्यहाँ खाना तयार भइसकेको थियो। अन्य साथीहरूलाई पनि सँगै जान आग्रह गरेँ, तर उहाँहरू जान मान्नुभएन।

दिदीको घरमा पुगेर आराम गर्ने अवसर मिल्यो। त्यहाँ ९२ वर्षीया बज्यैसँग गिडिदहको इतिहास र पुराना मान्यताबारे रोचक कुराकानी भयो। उहाँले विगतमा महिलाहरूलाई गिडिदह जान नदिइने चलन रहेको स्मरण गर्नुभयो।
“पहिला–पहिला गिडिदहमा भूतप्रेत बस्छन् भन्ने विश्वास थियो। त्यसैले महिलाहरूलाई त्यहाँ जान दिइँदैनथ्यो। अहिले त सबै जान्छन्, तर म भने वृद्ध भइसकेँ, अब फेरि गिडिदह पुग्न पाउँदिन कि भन्ने लाग्छ,” भन्दै उहाँ भावुक हुनुभयो।

फुलचौल्या पाटनदेखि गिडिखोलासम्मको झन्डै चार घण्टाको कठिन ओरालो यात्राले मलाई निकै थकित बनाएको थियो। त्यसैले दिदीको घरमा केही समय आराम गरेँ।
यसैबीच पत्रकार महेश नेपाली दाजु मलाई लिन मोटरसाइकल लिएर गिडिखोला पुग्नुभएको थियो। उहाँसँगै दिदीको घरमा खाना खायौँ र त्यसपछि जुम्ला बजारतर्फ प्रस्थान गर्यौँ।
बजार पुगेसँगै तीन दिन लामो गिडिदह यात्रा सफलतापूर्वक सम्पन्न भयो। प्राकृतिक सौन्दर्य, सहयात्रीहरूको साथ, स्थानीय संस्कृतिसँगको साक्षात्कार र यात्राका क्रममा भेटिएका अविस्मरणीय अनुभवहरूले यो यात्रा जीवनभर सम्झिरहने एउटा सुन्दर अध्याय बनेको छ।
















