जुम्ला पातारासी गाउँपालिका–२ पेरेगाउँकी धाविका राममाया बुढाले चीनमा आयोजित चेन्दु ट्रेल रेसमा उत्कृष्ट प्रदर्शन गर्दै महिला ६० किलोमिटर दौडतर्फ पहिलो स्थान हासिल गरेकी छन्। उनको यो उपलब्धिलाई नेपाली महिला खेलाडीको क्षमता र आत्मविश्वासको प्रतीकका रूपमा हेरिएको छ।
शनिबार सम्पन्न चेन्दु ट्रेल पावर्ड बाइ टिसाइगुअन्तर्गतको प्रतिस्पर्धामा राममायाले ६० किलोमिटर दूरी ६ घण्टा ६ मिनेट ५७ सेकेण्डमा पूरा गर्दै स्वर्णिम सफलता हात पारिन्। उक्त स्पर्धामा टेन ती दोस्रो तथा ली यिङ तेस्रो स्थानमा रहे।
दुर्गम हिमाली जिल्ला जुम्लाको गाउँबाट अन्तर्राष्ट्रिय खेलमञ्चसम्मको यात्रा तय गरेकी राममायाको यो जितले कर्णालीका खेलाडी र खेलप्रेमीहरूमा नयाँ उत्साह थपेको छ। उनले आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा पनि उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य रहेको बताएकी छन्।
“दौड केवल खेल मात्र होइन, देश चिनाउने माध्यम पनि रहेछ भन्ने अनुभूति भएको छ,” राममायाले प्रतिक्रिया दिँदै भनिन्।
नेपाल प्रहरी क्लबबाट आबद्ध राममाया पछिल्लो समय अल्ट्रा दौडमा केन्द्रित छिन्। राष्ट्रिय एथ्लेटिक्स प्रतियोगिता, क्रस कन्ट्री र रोड रेस हुँदै उनले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रमाणित गर्दै आएकी छन्। गत वर्ष हङकङमा सम्पन्न ५० किलोमिटर अल्ट्रा म्याराथनमा समेत उनले कीर्तिमानी सफलता हासिल गरेकी थिइन्।
विद्यालयस्तरको राष्ट्रपति रनिङ शिल्डबाट खेल जीवन सुरु गरेकी राममायाले जिल्ला र क्षेत्रीय प्रतियोगिताहरू हुँदै राष्ट्रिय टोलीसम्मको यात्रा तय गरेकी हुन्। उनको प्रतिभा पहिचान गरी विश्व कीर्तिमानी धावक हरिबहादुर रोकायाले लामो समय प्रशिक्षण दिएका थिए।
रोकायाका अनुसार राममायाको सफलता निरन्तर मिहिनेत, अनुशासन र खेलप्रतिको समर्पणको परिणाम हो। “राममायाले केवल एउटा रेस जितेकी होइनन्, उनले नेपाली महिलाको आत्मविश्वास र क्षमतालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गरेकी छन्,” रोकायाले बताए।
उनले जुम्लाका किशोरीहरूका लागि राममाया प्रेरणाको स्रोत बनेको उल्लेख गर्दै अहिले दर्जनौँ युवा खेलाडीहरू उनको सफलताबाट प्रभावित भएर एथ्लेटिक्स प्रशिक्षणमा आकर्षित भइरहेको बताए।
आठ दिदीबहिनीमध्येकी एक राममायाकी दिदी सुनमाया पनि एथ्लेटिक्स खेलसँग आबद्ध छिन्। परिवार, प्रशिक्षक र आफ्नो अथक मेहनतका बलमा अन्तर्राष्ट्रिय दौडमा सफलता हासिल गरेकी राममायाको जितले जुम्ला मात्र होइन, समग्र नेपाललाई गौरवान्वित बनाएको छ।
















