नेपालको इतिहास, भाषा र सभ्यताको महत्वपूर्ण केन्द्रका रूपमा परिचित सिंजा फेरि एकपटक विकास, समृद्धि र सांस्कृतिक पुनर्जागरणको नयाँ यात्रामा अघि बढ्ने तयारीमा देखिएको छ। खस सभ्यताको उद्गमस्थल मानिने जुम्लाको सिंजा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सार्वजनिक गरेको नीति, कार्यक्रम तथा बजेटले स्थानीय आर्थिक विकास, सांस्कृतिक संरक्षण, सामाजिक रूपान्तरण र सुशासनलाई एकैसाथ प्राथमिकतामा राखेको छ।
गाउँपालिकाको १८ औं गाउँसभामा अध्यक्ष पूर्णप्रसाद धितालले नीति तथा कार्यक्रम र उपाध्यक्ष सितली रोकायाले बजेट प्रस्तुत गर्दै विगतका उपलब्धिहरूलाई संस्थागत गर्दै नयाँ सम्भावनाको ढोका खोल्ने प्रतिबद्धता व्यक्त गरेका छन्। दोस्रो कार्यकालको पहिलो वर्षमा झण्डै ८० प्रतिशत लक्ष्य हासिल गरेको दाबी गर्दै गाउँपालिकाले आगामी वर्षलाई परिणाममुखी कार्यान्वयनको वर्षका रूपमा अघि बढाउने संकेत दिएको छ।
सिंजाको विकासको आधार कृषि नै भएकाले गाउँपालिकाले कृषिलाई रोजगारी र आत्मनिर्भरतासँग जोड्ने रणनीति अघि सारेको छ। बाँझो जमिनको उपयोगलाई प्राथमिकता दिँदै “बाँझो जग्गा रहित पालिका” घोषणा गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरिएको छ। यसका लागि कृषकलाई आवश्यक औजार, मल, अनुदान तथा प्राविधिक सहयोग उपलब्ध गराइनेछ। स्थानीय उत्पादनलाई प्रतिस्पर्धी बनाउने लक्ष्यसहित जुम्ली मार्सी धान, फापर, चिनो, कागुनो र सिमी जस्ता रैथाने बालीको संरक्षण तथा प्रवर्द्धनमा जोड दिइएको छ।
कृषि उत्पादनलाई बजारसम्म पुर्याउन कृषि एम्बुलेन्स सञ्चालन गर्ने र व्यवस्थित हाटबजार स्थापना गर्ने योजनाले किसानको उत्पादन र बजारबीचको दूरी घटाउने अपेक्षा गरिएको छ। कृषि मात्र होइन, स्थानीय स्रोत र सीपलाई आर्थिक अवसरमा रूपान्तरण गर्न लघु तथा घरेलु उद्योग विकासमा समेत विशेष जोड दिइएको छ। युवाहरूलाई उद्यमशीलतामा आकर्षित गर्न स्टार्टअप कर्जा सहजीकरण र कृषि कर्जामा ब्याज अनुदानको व्यवस्था गरिएको छ। यसले रोजगारी सिर्जना गर्दै वैदेशिक रोजगारको विकल्प खोज्न सहयोग पुग्ने विश्वास गरिएको छ।
पूर्वाधार विकासतर्फ गाउँपालिकाले सबै वडा केन्द्रलाई बाह्रै महिना सञ्चालन हुने सडक सञ्जालसँग जोड्ने लक्ष्य लिएको छ। विशेषगरी नराकोट, धिताललिही, गोरा भाडगाउँ हुँदै छकालेपानीसम्म सडक विस्तार गरी जुम्ला सदरमुकाम पुग्ने दूरी करिब ३० किलोमिटर छोट्याउने योजना स्थानीयका लागि निकै महत्वपूर्ण मानिएको छ। यसले यातायात, व्यापार र सेवा प्रवाहलाई सहज बनाउने अपेक्षा गरिएको छ।
सिंजाको पहिचान केवल भूगोल वा प्रशासनिक सीमामा सीमित छैन। यो नेपाली भाषाको ऐतिहासिक उद्गमस्थल र खस सभ्यताको जीवित संग्रहालय हो। यही पहिचानलाई संरक्षण र प्रवर्द्धन गर्न गाउँपालिकाले ‘खस सिंजा सभ्यता संग्रहालय’ सञ्चालनमा ल्याउने घोषणा गरेको छ। राइके डाँडामा नेपालको नक्सा र राष्ट्रिय झण्डा निर्माण गर्ने योजना तथा नराकोट बजारमा नियमित रूपमा खस संस्कृति झल्कने कला–संस्कृति प्रदर्शन र कृषि हाटबजार सञ्चालन गर्ने कार्यक्रमले सांस्कृतिक पर्यटनलाई नयाँ उचाइ दिने अपेक्षा गरिएको छ।
साउन १ गते खस नयाँ वर्ष, भदौ १० गते स्याउ दिवस र चैत १२ गते मार्सी धान दिवस जस्ता स्थानीय पर्वहरूको प्रचारप्रसारमार्फत सिंजाको मौलिक पहिचानलाई राष्ट्रिय स्तरमा स्थापित गर्ने प्रयास पनि नीतिमा समेटिएको छ। यसले पर्यटन प्रवर्द्धनसँगै स्थानीय संस्कृति र परम्पराको संरक्षणमा योगदान पुर्याउने विश्वास गरिएको छ।
सामाजिक विकासका क्षेत्रमा गाउँपालिकाले स्वास्थ्य, शिक्षा र सामाजिक रूपान्तरणलाई विशेष प्राथमिकता दिएको छ। प्रादेशिक अस्पताल निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापन तथा पहल गरिने भएको छ भने गाउँपालिकामै डाक्टरको सेवासहित टेलिमेडिसिन तथा विशेषज्ञ स्वास्थ्य परामर्श सेवा सञ्चालन गर्ने योजना सार्वजनिक गरिएको छ। दुर्गम क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा पुर्याउने यो प्रयासले स्थानीय नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।
बालविवाह न्यूनीकरणमा उल्लेखनीय प्रगति हासिल गरेको गाउँपालिकाले अब वडा नं. १ र ५ लाई समेत मापदण्ड पूरा गराएर सम्पूर्ण पालिकालाई बालविवाह मुक्त गाउँपालिका घोषणा गर्ने लक्ष्य राखेको छ। शिक्षा क्षेत्रमा कक्षा १ देखि ५ सम्म स्थानीय खस भाषामा पाठ्यपुस्तक निर्माण गरी लागू गर्ने कार्यक्रमले भाषा संरक्षण र स्थानीय पहिचानलाई संस्थागत गर्ने प्रयासलाई थप बल प्रदान गर्नेछ।
विकासका योजनाहरू सफल बनाउन आर्थिक अनुशासन र सुशासन अपरिहार्य हुने भएकाले गाउँपालिकाले प्रशासनिक सुधारलाई समेत प्राथमिकतामा राखेको छ। प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर शाहीले बजेटको प्रभावकारी कार्यान्वयन, आर्थिक अनुशासन र पारदर्शितालाई मुख्य प्राथमिकता बनाइएको बताएका छन्। बेरुजु न्यूनीकरण अभियानलाई थप प्रभावकारी बनाउने, योजना छनोट प्रक्रियालाई वैज्ञानिक र व्यवस्थित बनाउने तथा चौमासिक रूपमा आय–व्यय विवरण सार्वजनिक गर्ने व्यवस्था नीतिमा समावेश गरिएको छ।
प्रशासनिक तथा अनुत्पादक खर्चमा कटौती गर्दै विकासमुखी कार्यक्रमहरूमा बजेट केन्द्रित गर्ने नीति लिइएको छ। साथै, साउन महिनादेखि नै आन्तरिक राजस्व कार्यालयबाट प्रवाह हुने करदाता सेवा गाउँपालिकामै उपलब्ध गराउने तयारीले स्थानीय नागरिकलाई सहज सेवा प्राप्त हुने अपेक्षा गरिएको छ।
आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि गाउँपालिकाले सार्वजनिक तथा गैरसरकारी क्षेत्रसमेत गरी ४५ करोड ४८ लाख १८ हजार ५ सय ५७ रुपैयाँको बजेट विनियोजन गरेको छ। बजेटको आकार मात्र होइन, त्यसको प्राथमिकता र उद्देश्यले पनि सिंजाको आगामी यात्राको स्पष्ट दिशा देखाएको छ।
खस सभ्यताको ऐतिहासिक गौरव बोकेको सिंजा अब केवल अतीतको स्मृतिमा सीमित रहन चाहँदैन। कृषि, पर्यटन, उद्यमशीलता, शिक्षा, स्वास्थ्य र सुशासनलाई एकै सूत्रमा बाँधेर भविष्यको समृद्ध सिंजा निर्माण गर्ने अभियानमा गाउँपालिका अघि बढेको देखिन्छ। चुनौतीहरू अझै बाँकी छन्, तर नीति, कार्यक्रम र बजेटले संकेत गरेको मार्गले सिंजालाई इतिहासको केन्द्रबाट समृद्धिको केन्द्रतर्फ रूपान्तरण गर्ने आशा जगाएको छ।
















