टुटेपछि रङ्ग, इन्द्रेणी मिथ्या हो
गुमेपछि विश्वास सम्बन्ध मिथ्या हो
मिथ्या बनिदिन्छ रङ्ग पनि
जब मेटिन्छ चित्रबाट
मधुरो भइदिन्छ सम्बन्ध पनि
जब ढलिदिन्छ विश्वासको दियो
पलपलमा कृतज्ञ हुनेहरू पनि छन्
यहाँ, श्राप ओकल्नेहरू पनि छन्
काँडामा फूल देख्ने, र
फूलमा काँडा भेट्नेहरु पनि छन्,
बगेको नदी हेरेर म
जीवनका सारा रहस्यहरु देख्छु
उठेको हिमाल देखेर म
रहस्यमय जीवन भेट्छु।
जरुरी छैन
मैले देखेजस्तै दुनियाँ
तिमीले पनि देख्नुपर्छ
जरुरी छैन
मेरो अनुभूतिमा
तिम्रो पनि सहमति रहनुपर्छ
म त तिमीले देखेको मिथ्यामा
सत्य खोज्न हिँडिरहेछु
म त तिमीले देख्ने सत्यमा
मिथ्या पहिल्याउन खोजिरहेछु।
मिथ्या हो तिम्रो विश्वास पनि
मिथ्या नै होला मेरो सत्य पनि
तथापि
मेरो भोगेको सत्य
मैले बोकेको विश्वास
म कदापि मिथ्या देख्ने छैन।















