बुधबार, ४ असार, २०८२

सकारी जागिर खानुपर्ने बाध्यता, एक खतरनाक भाइरस

मैले आफ्ना साथीहरूलाई देखेको छु, जो हजारौँ किताबसँग संघर्ष गरिरहेका छन्। उनीहरू लोकसेवा परीक्षा पास गर्ने सपना बोकेर दिनरात मेहनत गरिरहेका छन्।

समाजमा आजभोलि एउटा अनौठो भाइरस फैलिएको छ, जसको नाम हो, “सरकारी जागिर।”

कक्षा १२ पास गर्ने वित्तिकै प्रायः विद्यार्थी साथीहरूको कानमा सुनिने एउटा सामान्य तर गम्भीर प्रश्न हो, “के गर्छस् त अब?” गाउँघरमा कसैसँग भेट भए पनि यही प्रश्नको सामना गर्नु नै पर्छ।

“फलानोको छोराले सुब्बा पास गरेछ,” “हलानो आर्मीमा भर्ती भएछ” भन्ने कुराहरू गाउँभरि छिट्टै फैलिन्छन्। यस्तो वातावरणमा म जता गए पनि यस्तै चर्चाहरू मेरा कानमा परिरहन्थे।

बुबाको सपना थियो, म सानोतिनो भए पनि सरकारी जागिरे बनूँ र हाम्रो परिवारको नाम समाजमा छुट्टै होस्। यो चाहना केवल मेरो बुबाको मात्र होइन; हाम्रा समाजका हरेक अभिभावकको एउटै सपना हो। सरकारी जागिरलाई मात्र सफलता मान्ने परम्परागत सोच गहिरो रूपमा जरा गाडेर बसेको छ।

हाम्रो समाजमा सरकारी जागिर भनेको प्रतिष्ठा, स्थायित्व, मासिक तलब, पेन्सन र सुरक्षित भविष्यको प्रतीक मानिन्छ। कतिपयका लागि यो मात्र सफलता प्राप्त गर्ने बाटो हो।

गाउँमा कोही सरकारी जागिरे भएमा, उसको नाम जताततै सुनिन्छ। “फलानोको छोरा यस्तो पदमा पुग्यो” भन्ने कुरा सामाजिक प्रतिष्ठाको मापन बन्छ। यसरी, सरकारी जागिर समाजमा सफलता प्राप्त गर्ने प्रमुख मापदण्ड बनाइएको छ।

तर, मलाई सधैं एउटै प्रश्नले झक्झक्याउँथ्यो, “के म समाजको सोचअनुसार चल्ने कि आफ्नै रुचि पछ्याउने?”

कसैले मेरो रुचि, सपना, वा चाहना बुझ्न खोज्दैनन्। सधैं एउटै प्रश्न सुन्नुपर्छ, “अब के गर्ने?” सरकारी जागिरको तयारीमा लागेका कतिपय साथीहरू घण्टौँ किताबमा हराउँछन्। महिनौँ कोचिङ कक्षा लिँदै आफ्नो बहुमूल्य समय लगाउन्छन्।

सरकारी जागिर नपाउने डर र पारिवारिक अपेक्षाले कतिपय युवाहरूलाई चरम मानसिक तनावमा पार्छ। जसको उदाहरण हो, भक्तपुरको दर्दनाक घटना।

केही दिनअघि भक्तपुरको सूर्यविनायक नगरपालिका–२, बालकोटस्थित फिकाधारामा एउटा हृदयविदारक घटना घट्यो। खोटाङका स्थायी बासिन्दा ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रवीण आचार्य आफ्नै डेरामा मृत अवस्थामा फेला परे।

अनुसन्धानका क्रममा खुलेको छ कि जेठा छोरा मिलन आचार्यले आफ्नै बुबा र भाइको हत्या गरेका हुन्।

किन यस्तो भयो? प्रारम्भिक अनुसन्धान अनुसार, परिवारभित्र निरन्तर बढ्दै गएको मानसिक तनाव नै हत्याको प्रमुख कारण हो।

कतै सरकारी जागिर खोज्नुपर्ने दबाब, सामाजिक प्रतिष्ठा वा परिवारको उच्च अपेक्षाका कारण मानसिक सन्तुलन गुमेको त होइन?

हाम्रो समाजमा आमाबुबाले आफ्ना छोराछोरीबाट ठूलो अपेक्षा राख्छन्। उनीहरू सफलताको एउटा निश्चित परिभाषा बनाइदिन्छन्, “सरकारी जागिर वा ठूला उपलब्धिहरू।”

यदि कोही ती अपेक्षाहरू पूरा गर्न असमर्थ हुन्छ भने, उसलाई असफल मानिन्छ। यही असफलताको भयले कतिपयलाई मानसिक तनाव र चरम कदमहरूतर्फ धकेल्छ।

भक्तपुरको घटनाले समाजलाई गहिरो प्रश्न सोध्न बाध्य बनाएको छ, “के हामी आफ्ना सन्तानको खुशीभन्दा बढी, समाजको धारणा र प्रतिष्ठालाई प्राथमिकता दिइरहेका छौँ?”

हाम्रो समाजको तुलनात्मक सोच प्रमुख समस्या हो। “फलानोको छोरा यस्तो पदमा छ, तिमी के गर्दैछौ?” भन्ने प्रश्नले मानिसको रुचि, क्षमता र मेहनतलाई बेवास्ता गर्छ। यसले केवल परिणामको मूल्यांकन गर्छ, संघर्ष र यात्राको कहिल्यै कदर गर्दैन।

मैले आफ्ना साथीहरूलाई देखेको छु, जो हजारौँ किताबसँग संघर्ष गरिरहेका छन्। उनीहरू लोकसेवा परीक्षा पास गर्ने सपना बोकेर दिनरात मेहनत गरिरहेका छन्। तर, “किन?” भन्ने प्रश्न उनीहरूले कहिल्यै आफैँलाई सोध्दैनन्। “कतै निस्किन्छ कि!” भन्ने आशामा घण्टौँ समय बिताउँछन्।

यो सब देख्दा, मेरो मनमा गहिरो द्वन्द्व उत्पन्न हुन्छ, “के म समाजका लागि बाँच्ने कि आफ्नै सपना पछ्याउने?”

सरकारी जागिर बाहेकका अन्य विकल्पलाई सधै दोस्रो दर्जामा राख्ने परम्परागत सोचले मानिसलाई आफ्नै रुचिको बाटो रोज्न रोकथाम गरिरहेको हुन्छ। यस्तो दबाबले आत्मसम्मान र आत्मविश्वासलाई कमजोर बनाउँछ।

कुनै समय मैले पनि समाजको दबाब स्वीकारेर काठमाडौं जाने निर्णय गरेँ। सानो कोठामा बसेर, हजारौँ किताबसँग समय बिताएँ। बैंकिङ तयारीका लागि भए पनि १५ दिन कोचिङ लिएँ। तर, मेरो मन कहिल्यै सन्तुष्ट भएन।

त्यसपछि मैले आफैंलाई प्रश्न गरेँ, “के म त्यही काम गर्दैछु, जुन मलाई मन पर्दैन?”

मैले निर्णय गरें, “म आफ्नै रुचि र क्षमतालाई प्राथमिकता दिनेछु।” यो निर्णय लिन साहस चाहिन्थ्यो। सुरुवातमा सानो कदम मात्र थियो, तर मैले आफ्नो मार्ग तय गर्ने दृढता देखाएँ।

चार वर्षपछि, म आज एक निजी कम्पनीमा जिम्मेवार पदमा छु। मेरो कामले मलाई सन्तुष्टि दिन्छ। यदि म केवल समाजको दबाबमा सरकारी जागिरको तयारी गरिरहेको हुन्थेँ भने, सायद जागिरे बन्थेँ तर सन्तुष्टि पाउँछु भन्ने पक्का छैन।

हाम्रो समाजले “सरकारी जागिर नै सफलता हो” भन्ने सोच परिवर्तन गर्न जरुरी छ। मानिसहरूका रुचि, क्षमता र सपना फरक हुन्छन्।

यदि मानिसले आफ्नो रुचिको क्षेत्रमा काम गर्न पाएन भने, साँचो सन्तुष्टि प्राप्त गर्न सक्दैन। सरकारी जागिरका साथै, निजी क्षेत्र, उद्यमशीलता, प्रविधि वा सिर्जनात्मक क्षेत्रमा काम गरेर पनि ठूलो परिवर्तन ल्याउन सकिन्छ।

सपना भनेको अरूसँग तुलना गर्नु होइन, बरु आफूले चाहेको मार्गमा चल्नु हो। मैले बुझेँ कि आफ्नो रुचिलाई सम्मान गर्नु नै जीवनको वास्तविक सफलता हो।

हाम्रो समाजले संघर्ष, रुचि, र व्यक्तित्वको महत्त्व बुझ्न जरुरी छ। सबैका लागि एउटै बाटो उपयुक्त हुँदैन। “फलानोको छोरा यस्तो पदमा छ, तिमी के गर्दैछौ?” भन्ने प्रश्नले मानिसलाई भ्रमित तुल्याउँछ। यो सोचले हामीलाई केवल दबाबमा राख्छ।

सफलता भनेको केवल सरकारी जागिर पाउनु होइन। सफलता भनेको आफ्नो रुचि अनुसार काम गर्नु, आफ्नो सपना पछ्याउने साहस गर्नु र त्यसमा सन्तुष्टि पाउनु हो।

यदि हाम्रो समाजले समयमै सोच परिवर्तन गरेन भने, भविष्यमा भक्तपुर घटनाजस्तै त्रासदी दोहोरिन सक्छन्।

तसर्थ, हामीले युवाहरूलाई आफ्नै बाटो रोज्न प्रोत्साहित गर्नुपर्छ, उनीहरूलाई उनीहरूकै सपना पछ्याउने स्वतन्त्रता दिनुपर्छ।

कसैले सरकारी जागिर रोजे राम्रो हो, तर त्यो बाध्यता हुनुहुँदैन। “फैलिएको भाइरस”लाई समयमै पत्ता लगाएर निचाेड निकालेर समाधान गर्न र समाजलाई यस्ताे साेच र विचारबाट मुक्ति दिन जरुरी छ।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार