यो यस्तो राज्यसत्ता हो
क्रूरतामा होमिएको
अहंकारमा मात्तिएको
चेतना नै भत्किएको
यो सत्तालाई यस्तो रोग लागेको छ
जसको मानसपटलमा दुष्कर्मले
एकछत्र राज गरेको छ
सोचाइको आयतनमा किरा परेको छ
फोहोरको थुप्रोमाथि दिमाग राखेर
राज्य चलाइरहेछ यो राज्य सत्ता!
ओ सत्ता तँलाई चेतावनी !
नैतिकता हराएर मेरो जस्तो छातीमा
कैयौंका निर्दोष छातीहरूमा
तैंले चलाएको छस् गोली
अस्तित्वलाई नामेट गर्ने उदेश्यले
तेरा अहंकारीका बन्दुकहरु पड्किदैमा
मेरो पहिचान
मेरो अस्तित्व
सकिनेवाला छैन्
मासिनेवाला छैन्
म आदिबासी हुँ
मैले वर्षौंदेखि मैले गरेको
आस्था भत्किन्छ भने
मेरो पहिचान मास्ने क्रिया हुन्छ भने
मेरो अस्तित्वको नामेट पार्ने
खेल खेलिन्छ भने,
बरु रगतको खोला बगोस्
लासहरु सडकमा फ्याँकिऊन
चिच्याहटको गुञ्जायमान होस
ओ राज्यसत्ता किन चाहियो पहिचान?
भन्छस् भने मेरो उद्घोष सुनेर ध्यान दे !
मुक्कुमलुङमा केवलकार बनाउने भए
अब सगरमाथामा केवलकार बन्नुपर्छ
हिमाली भेगका पाटनहरुमा,
अब सहर विस्तार हुनुपर्छ
हिमालको हिउँ पग्लाएर,
हिमाल सकाउनुपर्छ
इतिहास कोरिएका पन्नाहरु जलाउनुपर्छ
सद्भावको समाजलाई कुभावमा धकेल्नुपर्छ
किन चाहियो पहिचान ?
सत्यको आवाज दबिन्छ भने
निर्दोषको घाँटी रेटिन्छ भने
अब सांस्कृतिक परम्परा भत्किनुपर्छ
मानवता हराउनुपर्छ
यो समाज विचलित दिशामा होमिनुपर्छ
कलाकारले अब छाडापनको गीत गाउनुपर्छ
शिक्षकले अब कुशासन सिकाउनुपर्छ
यो राज्यसत्तालाई पहिचान किन चाहियो ?
मेरो पहिचानको सम्मान हुँदैन भने
यहाँ कोही कसैको पहिचान रहँदैन
मेरो अस्तित्वको नामेट हुन्छ भने
नामेट हुनुपर्छ यो देशको पहिचान
यो क्रूर राज्यसत्तालाई
किन चाहियो पहिचान?
















