बिहीबार, ११ असार, २०८३

हिमा गाउँपालिकाद्वारा ४२ करोड ७९ लाखको बजेट सार्वजनिक, कृषि, स्वास्थ्य र शिक्षालाई उच्च प्राथमिकता

जुम्लाको हिमा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४२ करोड ७९ लाख ६६ हजार रुपैयाँ बराबरको अनुमानित बजेट तथा नीति कार्यक्रम सार्वजनिक गरेको छ। गाउँसभाको २० औँ अधिवेशनमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा आगामी तीन आर्थिक वर्षको आय–व्यय प्रक्षेपणसमेत समावेश गरिएको छ।

गाउँपालिकाले सुशासन, प्रभावकारी सेवा प्रवाह, उत्पादन र उत्पादकत्व वृद्धि, नवप्रवर्द्धन, रोजगारी सिर्जना, सामाजिक न्याय, दिगो पूर्वाधार विकास, मानव विकास तथा वातावरण संरक्षणलाई प्राथमिकतामा राख्दै बजेट ल्याएको जनाएको छ।

प्रस्तुत बजेटअनुसार सङ्घीय सरकारको वित्तीय समानीकरण अनुदानबाट ८ करोड ८२ लाख रुपैयाँ, सशर्त अनुदानबाट १६ करोड ९१ लाख रुपैयाँ, राजस्व बाँडफाँडबाट ८ करोड ६ लाख ५१ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। यस्तै विशेष अनुदानतर्फ ९७ लाख रुपैयाँ र समपूरक अनुदानतर्फ १ करोड ३८ लाख रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ।

प्रदेश सरकारबाट वित्तीय समानीकरणतर्फ १ करोड १३ लाख ४२ हजार रुपैयाँ, सशर्त अनुदानतर्फ १ करोड ६६ लाख १३ हजार रुपैयाँ, राजस्व बाँडफाँडबाट १२ लाख ६० हजार रुपैयाँ, विशेष अनुदानबाट ७५ लाख रुपैयाँ तथा समपूरक अनुदानबाट १ करोड २० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। गाउँपालिकाले आन्तरिक राजस्वबाट २८ लाख रुपैयाँ र आन्तरिक स्रोतबाट १ करोड ५० लाख रुपैयाँ जुटाउने लक्ष्य लिएको छ।

नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिइएको छ। ‘म स्वास्थ्य, मेरो समुदाय स्वास्थ्य’ नारासहित प्राथमिक स्वास्थ्य केन्द्र कालिकाखेतुको स्तरोन्नति, प्रयोगशाला सेवा सुदृढीकरण तथा एम्बुलेन्स सेवाको व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ। सुत्केरी महिलाका लागि उपाध्यक्षसँग कोसेली कार्यक्रम र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनलाई निरन्तरता दिइने जनाइएको छ। साथै आगामी आर्थिक वर्षभित्र गाउँपालिकालाई पोषणमैत्री गाउँपालिका घोषणा गर्ने लक्ष्यसमेत तय गरिएको छ।

शिक्षा क्षेत्रमा हिमा आवासीय विद्यालयको स्तरोन्नति गरी गरिब, अनाथ तथा टुहुरा बालबालिकाको अध्ययन सुनिश्चित गरिने नीति लिइएको छ। विद्यालयमा विद्युतीय हाजिरी, कम्प्युटर, सूचना तथा सञ्चार प्रविधि (आईसिटी) र स्मार्ट बोर्डको प्रयोग विस्तार गरी प्रविधिमैत्री शिक्षण वातावरण निर्माण गरिनेछ। जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षाका लागि छात्रवृत्ति प्रदान गरिने तथा ‘विद्यार्थीसँग अध्यक्ष’ कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गरिएको छ।

कृषि क्षेत्रतर्फ ‘अर्गानिक बाली संरक्षण अभियान’ सञ्चालन गरी जैविक खेतीलाई प्रवर्द्धन गरिने भएको छ। स्थानीय कोदो, फापर, जुम्ली मार्सी धान र ढँटेलो खेती गर्ने कृषकलाई विशेष प्रोत्साहन उपलब्ध गराइने नीति लिइएको छ। वडा नम्बर १ लाई धान पकेट क्षेत्र, आचार्यलिहीलाई तरकारी पकेट क्षेत्र, ओदीलाई आलु तथा लसुन पकेट क्षेत्र र वडा नम्बर ६ लाई मौरी पकेट क्षेत्रका रूपमा विकास गर्ने योजना सार्वजनिक गरिएको छ। यसमार्फत युवालाई उत्पादनमुखी कार्यमा आकर्षित गर्ने लक्ष्य राखिएको छ।

सुशासन र पारदर्शितालाई सुदृढ बनाउन आगामी आर्थिक वर्षलाई ‘बेरुजु फर्छ्यौट वर्ष’ का रूपमा मनाइने गाउँपालिकाले जनाएको छ। कर सङ्कलनलाई व्यवस्थित गर्न सुत्र प्रणालीको प्रयोग गरिने तथा सेवा प्रवाहलाई क्रमशः डिजिटल प्रणालीमा रूपान्तरण गर्दै लगिने नीति लिइएको छ।

गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले ‘विकासका सम्पूर्ण पूर्वाधारहरूको मूल आधार, हिमा गाउँवासीको सुखी, खुसी र समृद्धिको सपना पार्नुछ साकार’ भन्ने मूल सङ्कल्पसहित नीति तथा कार्यक्रम ल्याइएको बताए। उनले रैथाने बाली संरक्षण, कृषि आधुनिकीकरण तथा स्वास्थ्य र शिक्षाको गुणस्तर सुधारलाई बजेटको मुख्य प्राथमिकतामा राखिएको उल्लेख गरे।

अध्यक्ष शाहीले युवालाई वैदेशिक रोजगारीबाट स्वदेशमै उत्पादनशील कार्यतर्फ आकर्षित गर्न विभिन्न वडालाई विशिष्ट पकेट क्षेत्रका रूपमा विकास गरिने जानकारी दिँदै सुशासन र पारदर्शितालाई पहिलो सर्तका रूपमा अघि बढाइने बताए।

सीमित स्रोत–साधनका बाबजुद हिमावासीको आवश्यकता र अपेक्षालाई सम्बोधन गर्ने प्रयास गरिएको भन्दै नीति, बजेट तथा कार्यक्रमको सफल कार्यान्वयनका लागि जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, सञ्चारकर्मी तथा सम्पूर्ण स्थानीयवासीको सहयोग आवश्यक रहेको उहाँले बताए।

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

सम्बन्धित समाचार

सम्बन्धित समाचार

ताजा समाचार