मंगलवार, ३ असार, २०८२

गाउँमा पुग्दासम्म

हामी कर्णालीका जनताको हालत, २००७ सालदेखि कर्णालीका नेताले गरेको राजनीति, कर्णालीका जनताले आफ्ना नेतामाथि गरेको आशा, भरोषा र विश्वास, उ बेलाका सरकारदेखि अहिलेका संघीय सरकार र प्रदेश सरकारले गरेको विकास सोच र सौतेनी व्यवहारलाई हेर्दा हामी दोस्रो दर्जाको नागरिक र ठाउँका मानिस जस्तै अनुभूति भैरह्यो।

नेपालगन्जबाट सुर्खेत, दैलेख र कालिकोट हुँदै जुम्लासम्म मैले गरेको यात्रा नयाँ भने होइन। आफू जन्मेको गाउँ ठाउँ जुम्लाको चन्दननाथ नगरपालिका स्थित तलिचौर गाँउमा दशैँमा आउन नसकेपनि तिहार मनाउन आउन पाउँदा खुसिले गदगद भएँ।

नेपालगन्ज देखि सुर्खेत पुग्दासम्म र सुर्खेत देखि दैलेख हुँदै दैलेखको तल्लो डुंगेश्वर पुग्दासम्म सडक राजमार्ग अलि सहज जस्तो देखिन्थ्यो। तर नेपागलन्ज देखि प्रदेश राजधानी सुर्खेत सम्मको रत्न राजमार्ग पनि जति गुणस्तरीय र सहज हुनुपर्ने त्यो भने पाईँदैन। ठाउँठाउँमा उप्केका र मर्मत गर्दै टालो टालेका जस्तै देखिने अनगिन्ती ठाउँ छन्।

यसैगरि सुर्खेतबाट दैलेख हुँदै तल्लो डुंगेश्वर र सुर्खेत स्थित बिरेन्द्रनगरबाट पश्चिम बढ्ढिचौर हुँदै डुंगेश्वर पुग्दा सम्म अलि राम्रो देखिएपनि जति राम्रो हुनुपर्ने हो त्यति छैन। तल्लो डुंगेश्वर देखि दैलेखको दही खोला अनि त्यहाँदेखि कालिकोटमा पर्ने जितेगढा र हुल्म बजार पार नगरुञ्जेल जिन्दगी कर्कलाको पातमाथि जस्तै भइरह्यो।

त्यसैगरी हुल्मदेखि कालीकोट र जुम्लाको सिमाना नाग्म घाटमा नपुगुञ्जेलसम्म जीवनको कमै भरोषा लाग्यो यो बाटो। कम चौडा साँघुरो सडक बाटोमा ढुङ्गा माटो उप्किएका खाल्डा, उवटखावट खाल्डा परेको बाटोले गाडी उफ्रेर सडकमुनि खस्छ कि कर्णाली नदीमा खसेर लास पनि नभेटिने होकि भन्ने पिरले बाटोमा ज्वरो भने आइरह्यो। तर पनि जुम्ला मुगु र कालिकोटका जनतालाई जन्म जन्मान्तर यो बाटो नहिँडेर सुख पनि छैन।

एकातिर २०६४ सालतिर सडक राजमार्ग जुम्ला सदरमुकाम खलंगासम्म पुग्यो भनेर हर्ष र खुसीले जुम्लाका जनताले पहिलो पटक सवारी साधन मोटर र गाडी अनि बसका चालकलाई फूल माला, खादा र अबिर लगाई बाजा बजाई अविरजात्रा र स्वागत गरेका ति दिन सम्झिन्छु। अर्कोतिर हत्केलामा जिन्दगी राखेर हिँड्नुपर्ने यो कर्णालीको सडक राजमार्ग देख्दा मन नराम्ररी अमिलो भएर आउँछ। मन चिसिएर आउने मात्रै होइन एकैसाथ भक्कानिएर आउँछ।

मिति २०७० साल भाद्र महिनामा परेको तिजको अघिल्लो दिन मान्म बजारबाट जुम्ला सदरमुकाम खलंगा तर्फ जाँदै गरेको एक रात्री बस मान्म बजारबाट पिली हुँदै अघि बढिरहेको थियो। त्यहीँ एउटा मोडमा राती उक्त रात्रीबस खसेपछि करिब ३२ जना होनाहार निर्दोष मानिसले ज्यान गुमाएका थिए। त्यो भेगका मानिसहरूले अहिलेसम्म बिर्सेका छैनन्। याद ताजै छ, पीडा खाटा बनेर बसिरहेको छ।

साँघुरो मोड, बार नलगाइएको बाटो किनाराबाट दक्षिणतर्फ करिब दुई सय मिटर तल गाढी खसेपछि त्यति धेरै मानिसले तिला नदीको किनारमा ज्यान गुमाएका थिए। ज्यान गुमाउने मध्ये एकजना मेरै भिनाजु गोबिकृष्ण उपाध्याय तिमिल्सिना पर्नु भयो। यसरी ज्यान गुमाएपछि मृतकका परिवारको हाल के भैरहेको होला? धेरैले चालकलाई दोष दिए पनि सडकको कमजोरीको जिम्मेवारी कसले लिनु पर्ने होला?

कठ्ठै : हामी कर्णालीका जनताको हालत, २००७ सालदेखि कर्णालीका नेताले गरेको राजनीति, कर्णालीका जनताले आफ्ना नेतामाथि गरेको आशा, भरोषा र विश्वास, उ बेलाका सरकारदेखि अहिलेका संघीय सरकार र प्रदेश सरकारले गरेको विकास सोच र सौतेनी व्यवहारलाई हेर्दा हामी दोस्रो दर्जाको नागरिक र ठाउँका मानिस जस्तै अनुभूति भैरह्यो।

मलाई साना साना घुम्ती र कहाली लाग्दा भिर चट्टान बीचको साँघुरो सडकमा मोटर ट्रक गुडेको देख्दा यो मन डरले चिसो चिसो भइरहेको महसुस हुन्थ्यो।

कोहलपुर स्थित नयाँ बसपार्कबाट गत २०८० सालको कार्तिक महिनाको अन्तिम हप्तातिर बिहान ७.३० बजे मोटरमा चढेको थिएँ। राती १०.४५ बजे तातोपानीमा पुर्‍यायो। करिब ३०२ मिटरको यो राजमार्ग बीच बीचमा पर्ने अनेकौँ नागबेली मोड र घुम्तिहरु अनि साँघुरो सडकले गाडीमा सवार सबै यात्रुहरू डराइरहेका देखिन्थे।

राती लिताकोटका हाम्रा आफन्त नातेदार मणीकृष्ण उपाध्याय न्यौपानेको घरमा त्यहिँ सम्मानसाथ खानपिन गरि सुतेँ। भोलि पल्ट बिहान भने त्यहीँ भिनाजु पर्ने देबिकृष्ण उपाध्याय न्यौपानेको घरमा जाने अवसर जुर्‍यो। उहाँ र उहाँको घर परिवारले असाध्य राम्रो साक्षात्कार र आथित्यता गर्नु भयो।

लिताकोटबाट देखिने शुन्दर सुर्योदयको दृश्यले मेरो अहिलेसम्म ध्यान आकर्षण गरिरहेको छ। लिताकोट गाउँ विशेषगरी हाल तातोपानी धारा रहेको ठाउँबाट ५/७ सय मिटर पश्चिम तिलानदीबाट उत्तरतर्फ माथि पाखोमा पर्दछ। न्यौपानेथरी बाहुन, क्षत्री रावल लगायत धेरै थरी जाती मिलेर बसेको देखेँ।
लिताकोटगाउँ तातोपानी क्षेत्रको अन्नको भण्डार पनि मानिन्छ। यही ठाउँमा पर्छ जुम्लामा धान खेती हुने मध्यको प्रशिद्व लाछु जिउला। यही लाछु जिउलाबाट जुम्लामा आठौँ शताब्दितिर चन्दननाथ बाबाले मार्सी धानको बिज उत्पादन गर्न लगाएका थिए।

यही लिताकोट गाउँ माथीबाट पूर्व दक्षिण तर्फको लाछु जिउला, जिउलाको दक्षिण तर्फ शान्त सौम्य किसिमले बगिरहेको तिला नदी बिहान पख निकै शुन्दर र मनमोहक देखिन्थ्यो।

लिताकोट गाउँ र तिलानदी पारी ज्यूलाको फाँट र पाखामा रहेको सुनारगाउँ डाँगीबाडा अझ मनमोहक देखिन्छ। यही सुनार गाउँमा तान्त्रिक शक्ति युक्त सुनारगाउँ मष्टो निकै महत्त्वपूर्ण मानिन्छ।

यो सुनारगाउँ र डाँगीबाडाको बस्ति खस सभ्यताको इतिहासभित्र जोडिन्छ।

मैले सोही दिन दिउँसो तातोपानी धारामा नुहाएँ। बास्तमा गन्धक मिश्रण जस्तो लाग्ने त्यो धाराको पानी अत्यन्त तातो र नुनिलो पनि लाग्छ। एकैपटक उक्त धारामा पसे चर्को पानीले खन्याय जस्तो लाग्छ। बिस्तारै बिस्तारै जति तातो भएपनि त्यो धारा छोड्न मन लाग्दैन। मलाई पनि लामो समयपछि नुहाउन अवसर जुरेकाले त्यो धारा छोड्न मन लागेको थिएन।

दिउँसो करिब १.०० बजेतिर आफ्नो गाउँतर्फ लागेँ। बाटोमा पर्ने धौलापानी पहिले भन्दा निकै फरक पाइयो। शुन्दर ती नयाँ नयाँ घरले बाटोको थप आकर्षण दिइरहेका थिए। तीँ बाटैमा पर्ने बाँझाराउल, ऐरेनी बजार, लाम्रा गाउँ, श्रीढुस्का, मिचा, महत गाउँका बस्ती बाख्लिदै गएको र बस्ति विकास र जन-जीवनमा विकास भइ निकै फड्को मारेको सजिलै देखिन्थ्यो।

पहाडका बस्ती बस्ती टोल टोल घरघरसम्म म विकास पुगेको देख्न र हेर्न चाहन्छु। विकास मात्र होइन आधुनिक समय सापेक्ष विकास देख्न चाहन्छु। उहिलेको हप्तौँ दिन लाग्ने थाप्लो माथि नाम्लो र पिठ्युँ माथि उचाली नसक्नु डोको थाप्लोमाथि गहिरो नाम्लोको डोव सहितको यात्रा भन्दा आजभोली एकै दिनमा बिहान हिँडेर राति सम्ममा आफ्नो घरमा पुग्न सकिने मोटर बाटोको विकासले बहुतै विकास भएको सम्झिन्छु। यो हामी कर्णालीका जनता र नेताको योगदान अनि सरकारको अथक प्रयासबाट मात्र सम्भव भएको हो भन्ने लाग्दछ।

दैलेख र कालिकोटको यात्रा गर्दै गर्दा विशाल रुपमा बगेको कर्णाली नदीले कहिले हुम्ला र हुम्लादेखि माथि अझै पर रहेको मानसरोवर, कैलास पर्वतको याद गराउँथ्यो। किनकी हाम्रो हुम्ला कर्णालीको मुहान नै मानसरोवर कैलास पर्वतबाट बगि आएको पानीलाई मानिन्छ।

अर्को तर्फ विशाल कर्णालीमा बगी आउने केही पानी आफ्नै घर अगाडि तलिचौर गाउँ, चन्दननाथ नगरपालिका तातोपानी र तिला गाउँपालिकाको किनारै किनार बगी आउने तिला र सिञ्जा क्षेत्रबाट बगी आउने हिमा नदीको संगमबाट बनेको तिला नदीको पानीले त्यो कर्णाली नदी प्रति अगाध माया र ममताले छोयो।

बाटोमा भेटिएका कतै सालघारी र कतै सल्लाघारीले कतिखेर हिमाल पहाड र तराईको संगमस्थल हाम्रो देश प्राकृतिक स्रोत साधन र शौन्दर्यताले धेरै धनी रहेछ भन्ने अनुभूति गर्दै आनन्द दिइरह्यो। अर्कोतिर चिसो हावा, कालिकोट र जुम्लाका हिउँद यामका नाङ्गा पाखाहरुले कष्टकर समयको शुरुवात भैरहेको र तातो ठाउँमा केही महिना झर्नुपर्ने देखिएको छनक गरायो।

तर एक्काइसौँ शताब्दीमा पुग्दा पनि कर्णाली राजमार्गमा यात्रा गर्दा कहाँनेर मरिने हो भन्ने पिर लिदै यात्राको सुनिश्चित नभएको मोटर बाटोको अवस्थाप्रति म मात्रै होइन म जस्ता आम कर्णालीबासी अझै खुसि र सन्तुष्टि हुन सकेका छैनन्।

ढुङ्गा र माटोले बनेका माटोकै छाना भएका गाउँका पुराना मोडेलका परम्परागत घरहरू उतिबेला निकै सुन्दर र आकर्षक लाग्दथे। किनकी त्यो बेलामा न साविक कर्णाली अञ्चल सडक सञ्जालसँग जोडिएर देशका अन्य शहरसँग जोडिएको थियो न त राजधानीसँग जोडिएको थियो।

टेलिफोन, बिजुली बत्ति र टेलिभिजन सदरमुकाम खलंगा र नजिकका गाउँसम्म बिस्तार भएपनि सबै गाउँठाउँमा बिस्तार भैसकेको थिएन। मोवाइल चलिसकेको थिएनन्। टेलिफोन लाइनसम्म जोडिएको थियो। कृषिमा खानलाउन सम्म निर्भर किसान न प्रतिष्पर्धाको व्यापार गर्न सक्थे न राम्रो आम्दानीका रोजगार नै पाउन सक्दथे। यसैले पैसाको पनि अभाव नै थियो।

सामान्य विकासले त नछोएको कर्णालीमा भौतिक एवं औद्योगिक विकास र आधुनिकीकरण त धेरै टाढाका कुरा रहे। स्वास्थ्य र शिक्षा पनि देशका अन्य शहरमा जस्तो पहुँचयोग्य पनि थिएन। सामन्यतया डेड दुईघन्टा हिँडेर पनि विद्यालय भेटाउन कठिनै हुन्थ्यो।

ढुङ्गा र माटोको पर्खाल, मोटो बलिया खम्वा र तारु/भरेनीमा दार भाटा कडी बिछ्याई त्यसैमा सोत्तर र उन्यू बिछ्याई त्यसैमा माटो राखी माटोका छत भएका, कहीँ खर र कहिँ ढुङ्गाका स्लेट छापी बनाइएका यहाँका घरहरु निकै परिवर्तन भएका देखिन्छन्।

कच्ची घरको ठाउँमा बिस्तारै टीनका जस्ता पाताले छाईएका अर्ध पक्की घर बन्ने क्रमसँगै आजभोली गाउँमा सिमेन्ट सरिया टायल र मार्वल आधुनिक एटेज बाथरुम धारापानी सोलार, बिजुली बत्तियुक्त पक्की घर बनेको देख्दा गाउँमा आर्थिक विकास भएको अनुभूति भयो।

आफ्नै गाउँको एक ठाउँबाट अर्को ठाउँ पुग्न दानसाँघुमा दुई दुईवटा नदि र सो माथि बनेका काठे पुल तर्नु पर्थ्यो। झुलुङ्गे पुल हुँदै आज सो ठाउँमा मोटरगाडी कुद्ने दुईवटा पक्की पुल, दोहोरो सवारी साधन चल्न सक्ने कालो पत्रे सडक, घरघरमा बिजुली बत्ति, घर घरमा सामाजिक सञ्जालसँग जोडिन सकिने वाईफाई पुगेको देख्दा तलिचौर धेरै विकसित भैसकेछ भन्ने लाग्यो।

हातहातमा स्क्रिन टचयुक्त महंगा मोबाइल, घरघरमा ल्यापटप, टेलिभिजन र मोटरसाइकल देख्दा प्रफुल्लित भएँ। यतिखेर गाउँ लाई छोडेर बाहिर बस्न हुँदैन भन्ने पनि अनुभूति भयो।

अर्कोतिर पढाईलेखाई र कमाईले अहंकार छाएपछि एउटै बाबु बाजेका छोरा नाति बीच पनि बोलचाल नहुनु, एउटा छिमेकी अर्को छिमेकीको घरमा आवतजावत नहुनु, जागिर र कमाईले मानिसहरु बीच स्तरीकरण हुनु, आम्दानी हुने र नहुनेबीच गहिरो खाडल देखिनु, एकअर्काको घर टोल र बारीमा जाने आउने पुर्ख्यौली देखिको बाटोमा अवरोध गर्नु, सार्वजनिक धाराको पानी कमजोरलाई उपभोग गर्न नदिनुले मन कटक्क खाएर आयो।

आफ्नो घर मोटरबाटोले छोएको छ भने छिमेकी र वल्लो पल्लो टोलकालाई मोटर बाटोको सडक लैजान अवरोध गर्नु बलियोको बाहुल्यता देखिनु र निर्बलियो र आयस्ता नहुने कमजोरै अवस्थामा बाँच्नु पर्ने अवस्थाले सामाजिक सम्बन्धमा दरार आएको अनुभुति भयो।

अर्कोतिर प्रत्येक घरघर र टोलटोलमा अनेक राजनीतिक बाद पसेर, उ यो पार्टीको, उ अर्को पार्टीको भन्ने जस्ता आभाषले आत्मियतामा ह्रास आएको देखेँ। सरसहयोगमा कमि पाएँ। उबेला सानो समस्या पर्दा पनि सहयोग गर्ने छिमेकीनै हुन्थ्यौँ। राजनीति हो वा आर्थिक स्तरियकरणले हो, सामाजिक सम्बन्ध थिलथिल भएको महसुस भयो।

सबै साथीभाई आफन्त र ईष्टमित्रहरूले जुम्लामानै जागीर खान आउन र मिलेर साहित्यिक कार्यक्रम गरौँ भन्ने सुझाव सल्लाह दिनुभयो।

निष्कर्षमा भन्नुपर्दा कर्णाली राजमार्गलाई दोहोरो रुपमा स्तरोन्नति गर्नुपर्ने देखिन्छ भने गाउँगाउँका युवाले यो वाद र उ वाद नभनी आपसमा मिलि क्लव र हित समूह बनाई गाउँ समाजमा आवश्यक पर्ने विकास र योजनाबारे छलफल गरी राजनीतिक दल र नेतृत्वलाई जानेको राम्रो सल्लाह र परामर्श दिने र गाउँमै बसी बौद्विक कार्यक्रम गर्नुपर्छ भन्ने लाग्यो।

(लेखक देवकोटा चन्दननाथ न.पा.-१ तलिचौर जुम्लाका बासिन्दा हुनुहुन्छ। पेशाले सरकारी वकिल उहाँ हाल खलंगा प्यूठानमा हुनुहुन्छ।)

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

प्रकाशित :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार