केही समयदेखि अवरुद्ध रहेको कर्णाली राजमार्ग पुनः सञ्चालनमा आएको छ। जिल्ला प्रशासन कार्यालय जुम्लामा प्रमुख जिल्ला अधिकारी दिपक पौडेलको अध्यक्षतामा बसेको बैठकले अवरोध हटाउने निर्णय गरेको हो।
सुर्खेतका यातायात व्यवसायी र जुम्लाको तिला कर्णाली यातायात प्रालिबीचको विवादका कारण राजमार्ग बन्द भएको थियो। बैठकमा उक्त विवाद समाधान गर्दै अबदेखि कुनै पनि किसिमको अवरोध नगर्ने सहमति भएको छ। समस्या देखिएमा आपसी समझदारीबाट समाधान गर्ने निर्णय गरिएको छ।
यातायात सेवा सुरक्षित र व्यवस्थित बनाउन नयाँ नियमहरू पनि लागू गरिने भएका छन्। अब जिल्लाभित्र सञ्चालन हुने सबै सार्वजनिक सवारी साधनमा सिसी क्यामरा वा ड्यासक्याम जडान गर्नुपर्नेछ। साथै, सवारीमा भाडादर सूची स्पष्ट देखिने गरी टाँस्नुपर्नेछ।


त्यसैगरी चालक र सहचालकले अनिवार्य रूपमा पोशाक र परिचयपत्र प्रयोग गर्नुपर्नेछ। सवारी साधनको अवस्थिति थाहा पाउन जीपीएस ट्र्याकिङ प्रणाली पनि जडान गर्नुपर्ने व्यवस्था गरिएको छ।
बैठकमा सुरक्षा निकाय, पत्रकार र यातायात व्यवसायीको सहभागिता रहेको थियो। निर्णय कार्यान्वयनसँगै यात्रुहरूलाई सहज र सुरक्षित यात्रा हुने अपेक्षा गरिएको छ।
















